साँघुरो वडाको सिंहदरबार

साँघुरो वडाको सिंहदरबार

भक्तपुर :  वडा अध्यक्षको कोठा । वडा अध्यक्ष बस्ने घुम्ने मेचअगाडि टेबल । टेबलको सामुन्ने र दायाँबायाँ सोफासेट । वडा अध्यक्षको टेबल र सोफासेटको बीचमा मुस्किलले दुईजना उभिन मिल्ने ठाउँ । काम लिएर दुईजना वडा अध्यक्षको सामुन्ने उभिएपछि तेस्रो व्यक्तिलाई पाइला टेक्ने ठाउँ छैन । 

तेस्रो व्यक्तिलाई आफ्नो पालो बाहिर नबसी सुख छैन । बाहिर प्यासेजबाट पनि वडाकै अरु प्रशासनिक सेवा प्रवाह । करिब एक दर्जन वडावासीलाई सेवा लिन वडा कार्यालय गए भने बस्ने ठाउँ छैन । जसले गर्दा उभिएर सेवा लिनुपर्छ वडाबाट ।

ठाउँ नभएरै वडा सचिवले बैठक कक्षबाट सेवा दिँदै आएका छन् । बैठक कक्षका मेचहरुलाई एउटा कुनामा चाङ लगाइएको छ । बाँकी एउटा कोठामा तीनजना कर्मचारीले सेवा दिइरहेका छन् । सेवाग्राहीले बस्न त के उभिएर सेवा लिनसमेत उकुसमुकुस हुन्छ ।

यो दृश्य भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ वागेश्वरीको वडा कार्यालयको हो । मुलुक संघीयतामा गएसँगै घरघरमा सिंहदरबार पुगेको दाबी गरिएको छ । काम र अधिकारका दृष्टिले जनताका घरआँगनमै सिंहदरबार पुगेकै हो । तर वडाका सिंहदरबार यति साँघुरा भए कि जनताले सेवा पाउन उभिनुपर्छ । आफ्नो पालो पाउन घन्टौं कुर्नुपर्छ ।

बैठक कक्षबाट सेवा दिँदै वडा सचिव प्रेम तुलसी । तस्बिर : ईश्वरकाजी खाइजू
 

तत्कालीन वागेश्वरी गाउँ विकास समितिको भवनमै अहिले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ७ को कार्यालय सञ्चालनमा ल्याइएको हो । 

एकतले भवनमा बैठक कक्षसहित चार कोठा छन् । एउटामा वडा अध्यक्ष ज्ञानबहादुर केसीको कार्यकक्ष रहेको छ । एउटा स्टोर रहेको छ । अर्कोमा आर्थिक प्रशासन छ भने बैठक कक्षमा वडा सचिव प्रेम तुलसी र स्थानीय पञ्जीकरणको काम हुँदै आएको छ । बाँकी मालपोतलगायतका कर लिने कार्य भवनको प्यासेजबाटै हुँदै आएको छ ।

माओवादी द्वन्द्वकालमा गाविस भवनमा बम पड्काइएको थियो । त्यस्तै २०७२ सालको भूकम्पले पनि भवनमा क्षति पु¥याएको छ । त्यसैले उक्त भवनमा तला थप गर्नेबारे अन्योल रहेको वडा अध्यक्ष केसीले बताए ।

‘भवनमा तला थप गर्न सकिने नसकिनेबारे प्राविधिक जाँच गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई चिठी लेखेका छौं’, उनले भने, ‘तर प्राविधिक जाँच प्रक्रिया अघि बढ्न नसक्दा खुम्चिएरै सेवा दिन बाध्य भइरहेका छौं ।’

उनले प्राविधिक जाँच नभइकन वडा कार्यालयको विकल्प खोज्न नसकिनेसमेत सुनाए ।

‘प्राविधिक जाँचले यसमा तला थप गर्न सकिन्छ भन्ने देखायो भने यसमै तला थप गर्छौं’, उनले थपे, ‘मिल्दैन भन्यो भने अर्को विकल्पमा जानुको विकल्प छैन ।’
वडा सचिव तुलसीले वडा कार्यालय नजिकै सार्वजनिक जग्गा नहुँदा पनि वडा कार्यालय विस्तार गर्न नसकिएको बताए । कार्यालय साँघुरो भएकाले सेवा प्रवाह प्रभावित हुँदै आएको र वडावासीबाट धेरै गुनासो सुन्नुपरेको उनको भनाइ थियो ।


भक्तपुरको वागेश्वरीस्थित चाँगुनारायण नपा वडा नम्बर ७ को कार्यालय भवन । तस्बिर : ईश्वरकाजी खाइजू
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.