कञ्चनपुर–कमला सडक : सात कम्पनीको आर्थिक प्रस्ताव खोलिने

कञ्चनपुर–कमला सडक : सात कम्पनीको आर्थिक प्रस्ताव खोलिने

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडक विस्तार गर्न सात कम्पनीको आर्थिक प्रस्ताव खोलिने भएको छ। दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्न प्राविधिकरूपमा सबल देखिएका सात कम्पनीको आर्थिक प्रस्ताव खोलिने भएको हो।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी) ले ८६.८२ किलोमिटरयो सडकखण्डलाई दुई प्याकेजमा विभाजन गरी ठेक्का आह्वान गरेको थियो। आयोजनाका उपनिर्देशक सुरेश पौडेलका अनुसार यो सडकका दुवै प्याकेजमा आठ÷आठ वटा कम्पनी प्राविधिक रूपमा सबल देखिएका थिए। ती सबै कम्पनी चिनियाँ हुन्। एक कम्पनीले बोलपत्रमा पेस गरेको रकमको समय थप गर्न सहमति नदिएकाले सातवटाको मात्र आर्थिक प्रस्ताव खोल्न लागिएको आयोजनाले जानकारी दिएको छ। आर्थिक प्रस्ताव खोलिने सात कम्पनीमध्ये ६ वटाको दुवै प्याकेजमा प्रस्ताव परेको छ।

‘आर्थिक प्रस्वात खोल्न एडीबीबाट स्वीकृति प्राप्त भइसकेको छ। दुई महिनाभित्रमा सबै कम्पनीको आर्थिक प्रस्ताव खोलिनेछ’, पौडेलले भने, ‘आर्थिक प्रस्तावको मूल्यांकन गरेर एडीबीलाई पठाउनेछौं। एडीबीको स्वीकृतिका आधारमा योग्य कम्पनीले सडक विस्तारको जिम्मा पाउनेछ।’ उनका अनुसार असोजभित्रमा सडक विस्तार गर्ने कम्पनी छनोट गरेर ठेक्का सम्झौता प्रक्रिया अघि बढाइनेछ। कञ्चनपुर–कमला सडकखण्ड एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा विस्तार गर्न लागिएको हो। यसका लागि २५ करोड ६० लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। घर, टहरा, जग्गाको मुआब्जा र बिजुली तथा खानेपानीको पाइप सार्ने रकम नेपाल सरकारले व्यहोर्नेछ। एडीबीले १८ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराएको छ। एडीबीले ३२ वर्षका लागि १.५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने सम्झौता भइसकेको छ। सडक विस्तारका लागि अपुग सात करोड १० लाख अमेरिकी डलर नेपाल सरकारको लगानी हुनेछ।

यो सडक विस्तारका दुई प्याकेज कञ्चनपुर–कुशाह खण्डको ४० किलोमिटर र कुशाह–कमला खण्ड ४७ किलोमिटरका लागि २०७५ भदौ २७ गते बोलपत्र आह्वान गरिएको थियो। दुवै प्याकेजमा १४÷१४ कम्पनीले प्रस्ताव पेस गरेका थिए। आयोजनाको मूल्यांकन समितिले ती कम्पनीको प्राविधिक पक्षको अध्ययन गरेको थियो। दुवै खण्डमा आठ÷आठ कम्पनी प्राविधिक रूपमा सबल देखिएका थिए। ती कम्पनीको आर्थिक प्रस्तावको मूल्यांकन प्रक्रिया अघि बढाउन दातृ निकाय एडीबीले स्वीकृति पनि प्रदान गरिसकेको छ। यो खण्ड विस्तार गर्न साढे तीन वर्ष लाग्ने निर्देशनालयको अनुमान छ। सडक निर्माण गर्ने कम्पनीले पाँच वर्षसम्म सडकको मर्मत पनि गर्नुपर्नेछ। ठेकेदार कम्पनीलाई नै मर्मतको जिम्मा दिँदा निर्माणको समयमा हुने त्रुटि न्यूनीकरण गर्न सहयोगी हुन्छ। यसले गर्दा ठेकेदार स्तरीय काम गर्न बाध्य हुन्छन्।

पूर्व–पश्चिम राजमार्ग नेपालको प्रमुख यातायात सडक हो। बढ्दो सवारीसँगै सडक आसपासका क्षेत्रमा सवारी दुर्घटना बढ्दो छ। २०१९ सालमा निर्माण गरिएको सडक मर्मतसम्भार नहुँदा जीर्ण हुँदै गएको छ। यसले सवारीको इन्धन र पाटपूर्जाको लागत बढाइरहेको विज्ञको भनाइ छ। राजमार्गलाई एसियाली राजमार्ग स्तरमा विस्तार गरिनेछ। नयाँ बन्ने सडक चार लेनको हुनेछ।

दायाँ र बायाँ भागलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन (सडकको बिचमा छाडिने खाली भाग) बनाइनेछ। विस्तारित सडक दुईतर्फ सात÷सात मिटरको हुनेछ। एउटा लेन साढे तीन मिटर चौडा हुनेछ।

निर्देशनालयका अनुसार घना बस्ती क्षेत्रमा सडक ५० मिटरसम्म फराकिलो हुनेछ। सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ निर्माण गरिनेछ। १९.१ किलोमिटर सडकमा सर्भिस लेन रहने र यो सडकको दायाँ र बायाँ साढे ६ मिटरको हुनेछ। बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की बाटो पनि निर्माण गरिनेछ। मुख्य सडकको दुईतर्फ चार÷चार मिटर ठाउँ हरियालीका लागि छुट्टयाइनेछ उक्त भागमा बिरुवा रोपेर सडकलाई हरियो बनाउने निर्देशनालयको योजना छ। साथै, सडकको दायाँ र बायाँ तीन÷तीन मिटरको फुटपाथ निर्माण गरिनेछ। स्थानीय पैदलयात्रीको सहजताका लागि फुटपाथ बनाइने भएको हो।

निर्देशनालयका अनुसार पातलो बस्ती भएका स्थानमा २४ मिटर चौडाइको सडक हुनेछ। उक्त खण्ड ६७.७ किलोमिटर लामो छ। सडक दायाँ र बायाँ दुई÷दुई लेन गरी चार लेनको हुनेछ। दायाँ र बायाँ भागलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन बनाइनेछ। बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की बाटो पनि निर्माण गरिनेछ। उक्त खण्डमा सर्भिस लेन निर्माण गरिने निर्देशनालयले जनाएको छ।

विस्तारित सडकमा विशेष ट्राफिक नियन्त्रण प्रणाली पनि प्रयोगमा ल्याइनेछ। त्यसका लागि निर्देशनालयले लहान, रुपनी, गोलबजार र मिर्चिया तोकेको छ। सडकमा आठ अन्डरपास, दुई ओभरपास, दुई पैदल यात्री पुल निर्माण गरिनेछ। अन्य स्थानको तुलनामा घना बस्ती भएकोे लहान र मिर्चिया ओभरपास बनाइनेछ। राजमार्गमा चल्ने गाडी ओभरपासबाट गुड्नेछन्। भने स्थानीय सवारी ओभरपासको तलबाट चल्नेछन्। यसरी ओभरपास निर्माण गर्दा स्थानीय सवारीले राजमार्गका सवारी आगमनलाई बाधा नपुग्ने निर्देशनालयको ठम्याइ छ। बस स्टप पनि मुख्य सडकबाट अलिक दूरीमा बनाइनेछ। यसरी बस स्टप निर्माण ट्राफिक जाम र सवारी जुध्ने जोखिम न्यूनीकरण हुने निर्देशनालयको अनुमान छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.