शरीरमा अझै आन्दोलनको गोली
जनकपुरधाम : धनुषा जनकपुरधाम उपमहानगरपालिका-१५ का सुनीलकुमार दास चार वर्षदेखि शरीरमा गोलीको पीडा सहेर बाँचिरहेका छन्। तेस्रो मधेस आन्दोलनका क्रममा २०७३ भदौ २५ गते प्रहरीले चलाएको गोली दासको शरीरमा लागेको थियो। गोली अझै निकाल्न नसक्दा पीडा भइरहेको उनी सुनाउँछन्।
तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको ‘चलूँ जनकपुर, भरुँ जनकपुर’ कार्यक्रममा उनी सहभागी भएका थिए। प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले तीन गोली चलाएको थियो। तीनै गोली उनका ढाड, जाँघ र पेटमा लागेको थियो। उनलाई उपचारका लागि काठमाडौंको वीर अस्पताल लगिएको थियो। शल्यक्रिया गरी दुइटा गोली निकालिएको थियो। एक गोली शरीरमै रहेको उनको भनाइ छ।
उनले काठमाडौंको केएमसी अस्पतालमा स्वास्थय जाँच गराउँदै आएका छन्। वीर र न्युरो अस्पतालका चिकित्सकका अनुसार गोली निकाल्न १० लाख रुपैयाँ खर्च लाग्छ। सो रकम जोहो गर्न नसक्दा गोली शरीरभित्रै राखेर जीवन चलाउनुपरिरहेको उनी बताउँछन्।
उनका अनुसार बायाँ ढाडमा रहेको गोलीले त्यताको अंगमा असर पुर्याउँदै गएको छ। ‘२४ सै घण्टा पीडा हुन्छ’, उनी भन्छन्, ‘ श्रीमती र छोराछोरीको मुख हेर्दै पीडा सहेरै भए पनि बाँचेको छु।’
उनको कमाइले घरपरिवारको गुजारा चल्दै आएको थियो। घाइते भएपछि बिहान-बेलुकाको छाक टार्न समस्या भएको छ। उनले प्लम्बरको काम गरी मासिक २०-३० हजार रुपैयाँसम्म कमाउने गरेका थिए। गोली लागेपछि उनी काम गर्न नसक्ने भएका छन्। श्रीमतीको स्नातकोत्तर पढ्ने चाहनामा पनि ठेस लागेको उनको दुखेसो छ।
उनका दुई छोरा क्रमशः यूकेजी र कक्षा २ मा पढ्दै छन्। उनीहरूको भविष्य अन्योलमा पर्ने चिन्ताले दासलाई सताइरहेको छ। ‘म त पढिनँ तर श्रीमती र छोराछोरीलाई पढाउने ठूलो धोको थियो’, उनी भन्छन्, ‘त्यो पनि अब मर्ने भो !’
आन्दोलनका सहिद र घाइतेका परिवारको अवस्था झनै जटिल बनेको उनको ठम्याइ छ। ‘सडकमा भएका नेताहरू हाम्रो कारण रातारात महलमा पुगेका छन्’, उनी भन्छन्, ‘यहाँ व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था उस्तै छ।’