गच्छदारका कारण कांग्रेसमा आशंका

गच्छदारका कारण कांग्रेसमा आशंका

 काठमाडौं : कांग्रेसमा विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको समायोजनले आशंका उब्जाएको छ। गच्छदारले प्रस्ताव गरेका नेता तथा कार्यकर्तालाई क्रियाशील सदस्यता दिन सभापति शेरबहादुर देउवाले ‘खेलेको’ असन्तुष्ट पक्षको आरोप छ।

‘एकीकरण गर्दा ८ हजार क्रियाशील सदस्यताको कुरा आएको थियो। पछि १६ हजार हुँदै २० हजारसम्म पुग्यो’, केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘आधिकारिक रूपमा बैठकमा २६ हजार हाराहरीमा आएको देखियो।’ गच्छदारले बुझाएको नामावली छानबिन गर्न भनेको उनले सुनाए। छानबिन पारदर्शी नदेखिएको उनको भनाइ छ। देउवाइतर नेताका अनुसार छानबिनका नाममा जिल्लामा पत्राचार पनि सभापतिनिकट नेताकहाँ मात्र गरिएको छ। जिल्लामा त्यसबारे छलफलसमेत भएको छैन।

लोकतान्त्रिक फोरम २०७४ असोज ३० मा कांग्रेसमा विलय भएको थियो। कांग्रेसले गच्छदारलाई संघीय संसदीय दलका उपनेता र पार्टी उपसभापति बनाएको छ। केन्द्रदेखि स्थानीय तहसम्म पार्टी समायोजनका लागि सभापति देउवाले उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा सिफारिस समिति बनाएका थिए।

निधिले जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार समायोजनसम्बन्धी प्रतिवेदन पेस गरेका थिए। त्यसअगावै पनि नेताहरूले समायोजनबारे आशंका गरेका थिए। समितिले ५१ जिल्लामा गरी २५ हजार ४ सय ६८ जनालाई क्रियाशील सदस्यता दिनुपर्ने र केन्द्रीय कार्यसमितिमा १५ जनालाई समायोजन गर्नुपर्ने सिफारिस गरेको छ।

महाधिवेशन प्रतिनिधि छान्न क्रियाशील सदस्यको भूमिका रहन्छ। त्यसैले पार्टी बैठकमा शीर्ष नेताहरूले यसबारे चासो राख्दै सभापति देउवा पक्षले रणनीतिक रूपमा खेलेको आरोप लगाएका छन्। प्रकाशमान सिंह, महेश आचार्य, शेखर कोइरालालगायत नेताले यसबारे सभापतिको जवाफ मागेका छन्। नेता आचार्यले गच्छदारसँगको समायोजनबारे पार्टीमा आन्तरिक काम भइरहेको बताए। यसबारे बाहिर टिप्पणी गर्न नमिल्ने उनको भनाइ छ। ‘पार्टीभित्र यो विषयमा कुराकानी चलिरहेको छ’, उनले भने, ‘म यसबारे सार्वजनिक रूपमा केही बोल्दिनँ।’

आचार्य र कोइरालाकै गृहजिल्ला मोरङबाट गच्छदारले सबैभन्दा बढी ९ हजार ९ सय ५१ क्रियाशील सदस्य दाबी गरेका छन्। गच्छदारको गृहजिल्ला सुनसरीबाट भने ६ हजार १ सय २९ जनालाई क्रियाशील सदस्यता दिनुपर्ने कुरा उठेको छ।

तराई–मधेसका २० र पहाडीसमेत ३१ जिल्लाबाट समायोजनका लागि सदस्यताको सूची आएपछि सभापतिइतर पक्षका नेता सशंकित भएका छन्। गच्छदारले विगतमा तराई–मधेसमा आधार बनाएर राजनीति गर्ने गरेकाले पहाडका जिल्लाबाट क्रियाशील सदस्यताको दाबी ठूलो संख्यामा आएपछि शंका गर्ने ठाउँ देखिएको नेताहरूले बताएका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने गच्छदारसँगको एकीकरणबारे पार्टी बैठकमा प्रतिवेदन पेस भएको बताए। ‘अहिले यो वा त्यो केही छैन’, उनले अन्नपूर्णसँग भने, ‘समायोजनका लागि केन्द्रदेखि तलसम्म अध्ययन गरी प्रतिवेदन बनाउन समिति बनाएका थियौं। समितिले प्रतिवेदन केन्द्रीय कार्यसमितिमा पेस गरेको छ।’

बुधबारदेखि पुन : बस्ने बैठकमा यसबारे छलफल हुने जनाइएको छ। गच्छदारले दुई वर्ष बित्न लाग्दा पनि समायोजन नभएकामा असन्तुष्टि जनाउँदै आएका छन्। महासमिति बैठकमा सभापति देउवाले गच्छदारका तर्फबाट २ सय जनालाई प्रतिनिधि बनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.