एक महिना नबित्दै मन्त्रालयले माग्न थाले गैरबजेटरी रकम
![एक महिना नबित्दै मन्त्रालयले माग्न थाले गैरबजेटरी रकम](https://annapurnapost.prixacdn.net/media/albums/budget-bajet-kharcha_20190730034928_JnVhUWU2qq.jpg)
काठमाडौं : चालु आर्थिक वर्षको बजेट अनुमोदन भएको एक महिना नबित्दै मन्त्रालयले गैरबजेटरी रकम माग गर्न थालेका छन्। अर्थसचिव राजन खनालले साउनमै गैरबजेटरी रकम मागेको जानकारी दिएका छन्।
बजेट योजना तर्जुमा नगर्ने र संसद्बाट अनुमोदन भएपछि गैरबजेटरी माग गर्ने प्रवृत्तिले सार्वजनिक खर्च प्रभावित हुने गरेको उनले बताए। कृषि विकास मन्त्रालयबाट विषादी परीक्षणका लागि गैरबजेटरी माग गरिएको प्रसंग ल्याउँदै सचिव खनालले भने, ‘यस्तो विषय त बजेट तर्जुमा गर्दा नै राख्न सकिन्छ नि। के नाकामा विषादी परीक्षण हुनुपर्छ भन्ने कुरा पहिले नै सोच्न सकिँदैन ?’
कृषि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार विषादी परीक्षणका नाममा अर्थसँग झन्डै तीन करोड रुपैयाँ माग गरिएको छ।
सम्बन्धित मन्त्रालयलाई आफ्नै बजेटभित्र रहेर रकमान्तर गर्ने छुट हुने अर्थसचिव खनालले बताए। उनले भने, ‘बजेट भाषणपछि त साच्चै भन्नुपर्दा हामी त रित्तो भएर बसेका हुन्छौं। मन्त्रालयले आफूलाई उपयुक्त लागेमा आफ्नै बजेटबाट रकमान्तर गरी पूर्ति गर्न सक्छ। आफू खर्च नगर्ने अर्थबाट बजेट माग्ने प्रचलन छ। यसरी गैरबजेटरी माग सम्बोधन गर्दै जाने हो भने १५ खर्ब ३२ अर्बको बजेट कहाँ पुग्छ भन्न सकिँदैन।’
बजेट विनियोजन भएका कार्यक्रम कार्यान्वयनमा जान नसकिरहेको अवस्थामा नयाँ योजनाका लागि अर्बौं रकम माग्दै अर्थमा फाइल पेस गर्ने प्रचलन बढी छ। सचिव खनालले भने, ‘पहिले आफ्नो मन्त्रालयमा आएको बजेट खर्च गर्नुपर्छ, त्यसपछि मात्रै थप बजेट माग्दा जायज हुन्छ।’
कर्मचारीको तलबभत्ता, सेवा, सुविधापछि मात्रै टुंगो लागेकाले केही रकम बजेट बाहिरै गएर माग आउनु स्वाभाविक भएको अर्थ मन्त्रालयका बजेट महाशाखाका प्रमुख हरिशरण पुडासैनीले बताए। बजेट निर्माण पूर्वानुमान गरिएका कार्यक्रम समयमै सम्पन्न नहुँदा समेत थप रकम माग गर्नुपरेको उनले बताए।
‘विषादी परीक्षणकै लागि आउने गैरबजेटरी रकमको मागलाई सम्बोधन नगर्ने कुरा त हुँदैन। तर त्यस्ता रकम पूर्वानुमान गर्न सकिने कार्यक्रम हो’, उनले भने, ‘त्यस्ता कार्यक्रमलाई बेलैमा सोच्न नसक्दा गैरबजेटरी रकम निकासा दिन हामी पनि बाध्य हुन्छौं।’ योजना तर्जुमामा ध्यान नदिँदा त्यस्तो गैरबजेटरी रकम माग हुने गरेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)