रसुवागढी र सान्जेनको कारोबार आजदेखि
![रसुवागढी र सान्जेनको कारोबार आजदेखि](https://annapurnapost.prixacdn.net/media/albums/rasuwa-sanjen_20190806024338_gwYIV9gXRZ.jpg)
काठमाडौं : रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत्को सेयर आजदेखि कारोबार हुने भएको छ। नेपाल स्टक एक्सेन्ज र रसुवागढी र सान्जेनबीच सोमबार सेयर सूचीकृतसम्बन्धी सम्झौता भएको हो।
सम्झौता पत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र रसुवागढीका प्रमुख कार्यकारी अधिकृत विश्वमल्ल तथा सान्जेनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सेयर सूचीकरण भएसँगै यी दुई जलविद्युत् परियोजनाको मंगलबारदेखि कारोबार हुनेछ। रसुवागढीको आरएचपीएल र सान्जेनको एसजेसीएल सिम्बलबाट कारोबार हुनेछ।
पहिलो कारोबारका लागि रसुवागढीको सुरुवाती रेन्ज ९७.२९ देखि २९१.८७ रुपैयाँ र सान्जेनका लागि सुरुवाती रेन्ज ९६.३२ देखि २८८.९६ रुपैयाँ तोकिएको छ। नेप्सेले सुरुआती कारोबारका लागि कम्पनीको नेट वर्थको तीन गुणासम्मको मूल्य तोक्न पाउँछ। नेप्सेले तोकेको प्रि–ओपन सेसन अर्थात् ११ बजेभन्दा अघि नै खरिद बिक्री भएमा सेयरको नियमित कारोबार हुन्छ।
यदि यो समयमा कारोबार हुन नसकेको खण्डमा पुनः अर्को दिन कारोबार गर्नुपर्ने हुन्छ। सूचीकृत गर्दा तोकिएको रेन्जभित्रको मूल्यमा पहिलो दिनको कारोबार गर्नुपर्ने हुन्छ। यी दुवै कम्पनी नेपाल विद्युत् प्राधिकरणअन्तर्गत चिलिमे हाइड्रोपावरको सहायक कम्पनी हुन्। दुवैले एक साथ जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेका हुन्।
आयोजना प्रभावितलाई सेयर वितरण गर्न बाँकी छ। दुवै आयोजना चालु आवको अन्त्यसम्म सञ्चालनमा आउने जानकारी गराइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)