जेलजस्तो अस्पताल

जेलजस्तो अस्पताल

प्रसूति सेवा लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएकी अप्सरा गिरीलाई त्यहाँका चिकित्सक र स्वास्थ्यकर्मीले उपचारपछि पनि फर्किन दिएनन्। अनावश्यक र पेसागत मर्यादाविपरीतका बखेडा झिकेर बन्दी बनाइराखे। जुम्लाको तिला गाउँपालिकाकी २५ वर्षीया अप्सरालाई हेपाटाइटिस बी रोग थियो। त्यही अस्पतालमा केहीअघि त्यसको उपचार गरिएको थियो। अस्पताल उपचारको थलो हो। त्यहाँ जुनसुकै रोगका बिरामी पुग्छन्। सेवा लिन पाउँछन्। यो सामान्य हो। कर्णालीको दुर्गम गाउँकी निरक्षर अप्सरालाई हेपाटाइटिस बी सरुवा रोग हो भन्ने थाहा थिएन। खासमा आफूलाई लागेको रोगबारे नै उनी अनभिज्ञ थिइन्। चिकित्सकले प्रस्ट अवगत गराएका थिएनन्, ताकि उनले अरूलाई सर्न दिनबाट सावधानी अपनाउन सकून्।

प्रसूति सेवामा खटेका चिकित्सक र स्वास्थ्यकर्मीले उनको पुरानो रोगबारे जब थाहा पाए, आफूहरूलाई सर्न सक्ने भन्दै त्यसको निरोधक सुई लगाइदिन धम्की दिए। अपशब्द प्रयोग गरेर तथानाम गाली गरे। अझ भन्नुपर्दा श्रापसम्म दिए। अस्पताल प्रशासनले पनि उनीहरूलाई नै साथ दियो। प्रतिव्यक्ति १८ हजार रुपैयाँका दरले तीनजनालाई ५४ हजार रुपैयाँको सुई लगाइदिने व्यवस्था नमिलाएसम्म नछाड्ने अडान राखे।

‘डिस्चार्ज’ गर्ने अवस्थामा पनि चार दिन थुनेर राखे। बीचमा उपचारसम्म गरेनन्। यो अमानवीयताको पराकाष्ठा हो। अस्पताल बिरामीलाई निको पार्ने निकाय मात्र होइन, मनोबल बढाउने थलो पनि हो। एउटा सुईले रोकथाम गर्न सकिने रोगबारे भयावह प्रस्तुति गर्दा बिरामीको मानसिकतामा असर पर्छ। बिरामीको रोग सम्बन्धमा सार्वजनिक स्थलमा चर्चा गर्नु मेडिकल आचारसंहिताविपरीत मानिन्छ। त्यसविपरीत त्यहाँ जुन व्यवहार भयो, बिरामी विक्षिप्त भइन्। रोइन्। उनको मानसिकतामा कति नकारात्मक असर पर्‍यो होला ? त्यसको क्षतिपूर्तिचाहिँ कसले दिने ?

हेपाटाइटिस बी मानिसमा मात्र लाग्ने हेपड्ना समूहको डीएनए भाइरसबाट सर्ने रोग हो। पहिला–पहिला यो रोग सुन्नेबित्तिकै आत्तिने अवस्था थियो। तर, अहिले त्यस्तो छैन। बृहत् खोप कार्यक्रमले नयाँ बिरामीको संख्या घट्दै गएको छ। सन् १९८० को सुरुबाट प्रभावकारी खोप कार्यक्रम थालेपछि महामारीमा कमी आएको छ। प्रतिष्ठानकै मेडिकल डाइरेक्टरले भनेका छन्, ‘हेपाटाइटिस बी हल्ला गरेजस्तो भयंकर रोग होइन, भ्याक्सिन लगाउँदा निको हुन्छ। तर जानकारी नदिएको हुँदा उपचारमा संलग्न चिकित्सक रिसाएका हुन्।’

के अस्पतालमा एउटा रोग लागेको बिरामीले अर्को उपचार गराउन जान मिल्दैन ? बिरामीले आफैं इतिहास बताउने कि चिकित्सकले सोध्ने ? आफ्नो कमजोरीलाई लिएर बिरामीको मनोबल गिर्ने गरी, सार्वजनिक बेइज्जती हुने गरी र मेडिकल नैतिकता उल्लंघन हुने गरी गालीगलौज गर्नु शोभनीय काम होइन। यो दण्डनीय अपराध हो। चिकित्सक पढेर, शिक्षित भएर बन्ने पेसा हो। कर्णालीजस्तो विकट एवं शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित समुदाय भए ठाउँ जाने स्वास्थ्यकर्मीको थप दायित्व जनचेतना अभिवृद्धिसमेत हो। कुन रोगबाट कसरी जोगिने भनेर सिकाउने जिम्मेवारी उनीहरूकै हो। उनीहरूले अप्सराजस्ता बिरामीलाई थप सावधानीका उपाय सिकाएर पो पठाउनुपर्ने हो। उल्टो आफ्नो बौद्धिकताको आफैं उपहास गरे।

अफ्रिकामा कुनै बेला महामारी रूप लिएको इबोलाको समेत चिकित्सकले उपचार गरेका थिए। इबोला निकटताबाटै सर्ने प्राणघातक रोग हो। उपचारमा संलग्न धेरै स्वास्थ्यकर्मीको निधन भए पनि उनीहरूले पेसागत धर्म भुलेनन्। बरु सावधानीका उच्चतम उपाय अपनाए। कुन रोगको बिरामीलाई कसरी उपचार गर्ने, केकस्ता सुरक्षाका उपाय अपनाउनेजस्ता विषयका विज्ञ सम्बन्धित बिरामी होइनन्, स्वयं चिकित्सक हुन्।

अप्सराको घटनामा भएको दुर्व्यवहार निन्दनीय हो। त्यही अस्पतालमा उपचार गराएकी उनको स्वास्थ्य–पृष्ठभूमि पक्कै उनको कागजमा लेखिएको हुन्छ। नत्र अस्पतालले आफ्नो रेकर्डमा राखेको हुनुपर्छ÷राख्नुपर्छ। उपचारका क्रममा त्यो आवश्यक पर्छ। उनको रोगबारे आफैं अवगत भएर सावधानी र सम्मानसाथ उपचार गरी निको पार्नु चिकित्साकर्मीको दायित्य हो। आफ्नो कमजोरीमा बिरामीमाथि जाइलाग्नु,  दुर्व्यवहार गर्नु र बन्दीसम्म बनाउनु आपराधिक क्रियाकलाप हो। यसमा संलग्न चिकित्सक मोना दाहाल, उनको टिम र अस्पताल प्रशासनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। तब मात्र भविष्यमा यस्ता घटना दोहोरिने छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.