कुलतमा फसेको साथीलाई सुधार्नुपर्छ
![कुलतमा फसेको साथीलाई सुधार्नुपर्छ](https://annapurnapost.prixacdn.net/media/albums/usha-sherchea_20190806073927_dcNVdsyJ5k.jpg)
उषा शेरचन
मेरो जन्म पोखराको नालामुख, गणेशटोलमा भएको हो। उक्त ठाउँ त्यतिबेला पोखराको व्यापारिक केन्द्र थियो। त्यहाँ भक्तपुरबाट व्यापार गर्नका लागि बसाइँ सरेर गएका नेवार समुदायको बाहुल्य थियो। उनीहरूले मुख्य सडकमा अत्यन्तै कलात्मक घर बनाएका थिए। बजार भए पनि बाटाहरू भने उबडखाबड र ढुंगाले छापिएका थिए।
त्यहाँ केही क्षेत्री, ब्राह्मणका घर पनि थिए। नजिकै बडाहाकिम धनशमशेरको घर थियो। पछि उक्त घर भूपि शेरचनका बुुवाले किन्नुभयो। अर्कापट्टि राणाजीहरूको टोल थियो। अहिलेको हाउजिङ जस्तै थियो त्यो। त्यहाँ थकालीमा भने हाम्रो मात्रै घर थियो। हाम्रो घरमा पनि कपडा पसल थियो।
हाम्रा हजुरबुवाहरू मुस्ताङको खन्तीबाट बसाइँ सर्दै छयोबाट पोखरा आउनु भएको रहेछ। हाम्रो माइतीघर छयोबाट पोखरा आउने पहिलो थकाली परिवार हो। नेवार टोलमा हुर्किएकाले म सानैदेखि फरर नेवारी बोल्थेँ। नेवारहरूकोमा चाडबाड आउँदा हाम्रो घरमा आउँदैनथ्यो। हाम्रो घरमा आउँदा उता सुनसान हुन्थ्यो। यस्तो किन हुन्छ भन्ने मेरो मनमा लागिरहन्थ्यो। म तुलनात्मक हिसाबले सोचिरहन्थेँ। हामी फरक समुदायका हौं भन्ने मलाई पछि मात्र थाहा भयो।
मलाई आकाशमा तारा पुञ्ज हेरेर रमाउन, ताराहरू गन्न, चाँदनी रातमा चन्द्रमासँग रमाउन औधी मन पथ्र्यो। हिजोआज बिजुलीको उज्यालोले गर्दा त्यसबेला जस्तो मजाले ताराहरू देख्नि सकिँदैन। तर पनि म सधैं याद गरिरहन्छु। विदेशतिर जाँदा पनि ख्याल गर्छु। मान्छेसँग चन्द्रमा पनि हिँड्छ भन्ने भ्रम त्यतिबेला ममा पनि रहेछ।
हामी प्रकृतिसँगै खेल्थ्यौं। अहिले जस्तो प्रविधि कहाँ थियो र ! ढुंगा, माटो, झारपात नै खेलौना हुन्थे। हामी झुम्राका पुतली बनाएर खेल्थ्यौं। खेल वातावरण मैत्री हुन्थ्यो।
हामीले काठको पाटीमा रातो माटो छरेर लेख्न सुरु गरेका हौं। हजुरबुवा र बुवाहरूले गैह्रापाटनमा खोल्नुभएको नवीन स्कुलमा हामी गलैंचा र मकैको खोस्टाले बुनेको चकटी बोकेर जान्थ्यौं। पछि कन्या स्कुल पढ्न थालेँ। म साथीहरू भन्दा सोझी थिएँ। नयाँ जुत्ता, कलम र सामान हराइरहन्थेँ। पछि मल्टिपर्पोज नेसनल हाइस्कुलमा भर्ना भएँ। त्यहीँबाट एसएलसी दिएँ। स्कुलमा म ब्याडमिन्टन, भलिबल, फुटबल लङजम्पमा औधी रुचि राख्थेँ।
हाम्रो घरनजिकै कल्पना सिनेमा हल खुलेको थियो। त्यहाँ ग्रामो फोनमा गीत घन्कन्थ्यो। ‘चलो उडो जा रे पंक्षी’ लगायतका गीत मलाई अझै पनि कण्ठ छन्। एक जना काकाले मलाई पनि सिनेमा हेर्न लैजानु हुन्थ्यो। सिनेमा हेर्दा मलाई घटनाहरू साँच्चै आँखा अघि घटेजस्तो लाग्थ्यो। मरेको मान्छे देख्दा म ज्यादै डराउँथेँ। रडियो सुन्दा कसरी मानिस पसेर बोल्न सक्छन् भन्ने बालसुलभ जिज्ञासा मनमा परिरहन्थ्यो।
हाम्रो घरको पसलमा किनमेल गर्न फेवाताल पारिका मानिस आउँथे। उनीहरू दाउरा बेच्न ल्याउँथे। मनाङ, मुस्ताङका मानिसको सामान राख्ने बैंकजस्तै थियो हाम्रो घर। हाम्रो बाजे भीमबहादुर थकाली बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो। उहाँ सितार, तबला बजाउनु हुन्थ्यो। योग साधना गर्नुहुन्थ्यो। उहाँको वेदान्तमा पनि राम्रो दक्खल थियो। लेखनमा रुचि थियो। उहाँ छापाजस्ता अक्षर लेख्नुहुन्थ्यो। केटाकेटीको धेरै ख्याल गर्नुुहुन्थ्यो। उहाँको प्रभाव ममा पनि पर्दै गयो।
म बच्चैदेखि संवेदनशील थिएँ। ससाना कुराले ममा प्रभाव पारिहाल्थ्यो। शारदा, इन्दिरालगायतका साथीहरूले लुकाएर कविता उपन्यासका किताब दिन्थे। म लुकेर पढ्ने गर्थें। हाम्रो घरमा कोर्स बाहिरको पुस्तक पढ्न अनुमति थिएन। बीपी कोइराला, मोदनाथ प्र िश्रत, प्रकाश कोवित, युधीरशमशेर थापा, पारिजात, विजय मल्ल आदिका रचनाबाट प्रभावित थिएँ। विजय मल्लको ‘अनुराधा’ ज्यादै मन पथ्र्यो।
पढ्ने बानीले मलाई लेख्न हौस्यायो। म लेख्ने र राख्ने गर्न थालेँ। काठमाडौं आरआर क्याम्पसबाट आईए गरेँ। स्नातक पढ्न पोेखरा नै गएँ। पृथ्वीनारायण क्याम्पस जान थालेपछि साहित्यिक संगत सुरु भयो। विनोद गौचन, सरुभक्त, तीर्थ गुरुङ, प्रकट पंगेनीसँग भेट भयो। २०३५ सालमा विनोद गौचनले मेरो कपीबाट सारेर गोरखापत्रमा पठाइदिएको कविता छापिएछ। अनि मात्रै मेरो साहित्यिक रुचि बाहिर आयो। मेरा कथा, कविता, मुक्तकका संग्रह छापिएका छन्। गीति एल्बमहरू छन्। अब चाँडै नै उपन्यास ‘आधी’ प्रकाशित हुँदैछ।
भाइबहिनीले आफू भित्रको प्रतिभा र रुचि चिन्न सक्नुपर्छ। जुनसुकै विषयमा पनि राम्रो नतिजा ल्याउन सके भविष्य उज्ज्वल छ। अभिभावकको दबाबमा विषय छनोट गरियो भने राम्रो नतिजा नआउन सक्छ। आफ्नो विषयमा सिर्जनशील र पोख्त हुनु आवश्यक छ।
हामीले हाम्रा खराब बानी हटाउनुपर्छ। बुद्धि बढाउने काम मात्र गर्नुपर्छ। खराब संगत र कुलतबाट सधैं टाढा रहनुपर्छ। साथीको संगतले आफू पनि बिग्रिने सम्भावना रहन्छ। त्यसकारण असल साथीको मात्रै संगत गर्न आवश्यक छ। गलत साथी चिनेर सुधार गर्नुपर्छ। हरेक क्षेत्रमा लगाव भए मात्र अगाडि बढ्न सकिन्छ। हामीले आफ्ना समस्याहरू अभिभावकलाई सुनाउने बानी गर्नुपर्छ। आफ्ना समस्याबारे ढाँट्नु हुँदैन। हामीले मातृभाषादेखि अन्तर्राष्ट्रिय भाषासम्म सिक्न आवश्यक छ। यसबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय जगत्लाई चिन्न सजिलो हुन्छ।
(साहित्यकार शेरचनसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)