चार करोडको अदुवा बिक्री

चार करोडको अदुवा बिक्री

टीकाराम खनाल​ । रुकुम : रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका ६ का शिवराम पुनले यो वर्ष २७ क्विन्टल अदुवा उत्पादन गरे। विगतभन्दा यो वर्ष उनले तीन क्विन्टल बढी अदुवा उत्पादन गरेका छन्। त्यसमध्ये अहिलेसम्म १७ क्विन्टल बिक्री गरिसकेको पुनले जानकारी दिए।

१० क्विन्टल भने उनले घरमै राखेका छन्। अर्काे वर्ष बारीमा लगाउन बिउका लागि अदुवा राखेको उनको भनाइ छ। उनले यो वर्ष १७ क्विन्टल अदुवा बिक्री गरेर दुई लाख ४६ हजार पाँच सय रुपैयाँ आम्दानी गरेका छन्।

‘गत वर्ष ८० हजार मात्र आम्दानी भएको थियो तर यो वर्ष अदुवाको भाउ राम्रो गयो, त्यसैले आम्दानी पनि राम्रै भयो’, उनले भने, ‘यो वर्ष अहिलेसम्मकै बढी मूल्यमा अदुवा बिक्री गरेका छौं। गत वर्षभन्दा झण्डै तीन गुणा बढीमा बिक्री भयो।’ अदुवा बिक्रीबाट आएको रकम आफ्नो दैनिक खर्चका साथै छोराछोरीको पढाइमा लगानी गरेको उनले बताए।

सोही गाउँका अर्का किसान गोपाल ओली पनि अदुवाखेती गर्छन्। उनले पनि यो वर्ष आठ क्विन्टल अदुवा बिक्री गरेर एक लाख ३० हजार रुपैयाँ आम्दानी गरेका छन्। घरमै बसेर राम्रै आम्दानी भएको ओलीको भनाइ छ। अन्य व्यवसायभन्दा थोरै लगानीबाट पनि राम्रो आम्दानी हुने भएपछि आफू अदुवा उत्पादन गर्दै आएको उनले बताए। कतारमा दुई वर्ष काम गरेर फर्केका ओली पछिल्लो समय अदुवाबाटै बर्सेनि लाखौं आम्दानी गरिरहेका छन्। त्रिवेणी गाउँपालिकाका ओली र पुन मात्र होइन यहाँका प्रायः सबै किसानले हरेक वर्ष अदुवा उत्पादन गर्दै आएका छन्। जिल्लामा सबैभन्दा त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुन्छ।

त्रिवेणी गाउँपालिकाबाट मात्र यो वर्ष चार करोड १५ लाख ४२ हजार पाँच सय रुपैयाँको अदुवा बिक्री भएको स्थानीय व्यवसायीको भनाइ छ। गाउँपालिकाका विभिन्न ठाउँबाट संकलन गरिएको दुई हजार आठ सय ६५ क्विन्टल अदुवा अहिलेसम्म जिल्ला बाहिर बिक्री गरिएको व्यवसायी टेकबहादुर ओलीले जानकारी दिए। यस वर्ष किसानले उत्पादन गरेको अदुवा व्यवसायीले प्रतिक्विन्टल १४ हजार पाँच सय रुपैयाँका दरले खरिद गरेर बिक्री गरेको उनले बताए।

व्यवसायीले खरिद गर्दै आएको याम मूल्य गत वर्षभन्दा झण्डै तीन गुणा बढी हो। गत वर्ष तीन हजार पाँच सय रुपैयाँ प्रतिक्विन्टलमा बिक्री हुँदै आएको थियो। मूल्य बढी भएकाले किसानको आम्दानी पनि राम्रो भएको छ। उच्च मूल्यमा अदुवा बिक्री भएपछि किसान हर्षित भएका छन्। मसला बनाउन यहाँ उत्पादन भएको अदुवाको गुणस्तरता बढी भएपछि नेपाली बजारमा धेरै माग आएको व्यवसायी ओलीको भनाइ छ।

काठमाडौं, चितवन, विराटनगर, पोखरा, नेपालगञ्ज, दाङलगायत सहरबाट अदुवा अत्यधिक माग हुँदै आएको उनले बताए। व्यापारी अदुवा खरिद गर्न गाउँगाउँ पुग्ने गरेका छन्। यस वर्ष भने अदुवा बारीबाटै सहजरूपमा बिक्री भएपछि सहज भएको त्रिवेणी गाउँपालिका ६ का किसान अमर बुढाले बताए।

गत वर्ष उत्पादन भएको अदुवा समयमा नै बिक्री नहुँदा सुटो बनाउनुपर्ने बाध्यता थियो। ‘हाम्रो गाउँमा धेरै अदुवा उत्पादन हुन्छ। गत वर्ष उत्पादन राम्रो भए पनि समयमै बिक्री नहुँदा सुटो बनाएर बिक्री गर्नुपथ्र्याे’, बुढाले भने, ‘सुटो बनाएर बेचे पनि उचित मूल्य नपाउँदा फाइदा थिएन।’ प्रत्येक वर्ष यहाँका हरेक घरमा अदुवा उत्पादन हुने गरेको छ। त्रिवेणी गाउँपालिकाको प्रमुख आयस्रोत अदुवा छ।

अदुवाको उत्पादन बढाउन स्थानीय सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। त्रिवेणी गाउँपालिकाले किसानले उत्पादन गर्ने अदुवाका लागि मसला उद्योग सञ्चालन गर्ने तयारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रावलले जानकारी दिए। कर्णाली प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा मसला उद्योग स्थापनाको काम सुरु भएको छ।

‘हाम्रो गाउँपालिकाबाट वार्षिक चार÷पाँच करोड रुपैयाँको अदुवा निर्यात हुन्छ’, रावलले भने, ‘किसानले उत्पादन गरेको अदुवालाई सही सदुपयोग गरी आर्थिक जीवनस्तरमा सुधार गर्न उद्योग स्थापनाको काम सुरु भएको छ।’ यसका साथै गाउँपालिकाले कति अदुवा उत्पादन हुन्छ भनेर एकीन जानकारीका लागि तथ्यांकसमेत संकलनको काम सुरु गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.