तीज नआउँदै युट्युबमा हिट १५ गीत

तीज नआउँदै युट्युबमा हिट १५ गीत

काठमाडौं : तीज आउन अझै तीन साता बाँकी छ। तर दुई महिनाअघिदेखि युट्युबमा कयौँ तीजका गीत बजिरहेका छन्। यो वर्ष तीजका कस्ताकस्ता भाका आएका छन् ? पढ्नुस्: बदलिएका तीजका भाका। तर त्यसअघि तपाईँले यसपटक युट्युब तताएका यी गीत हेर्नैपर्ने हुन्छ।


१. अस्ट्रेलिया कान्ड

अस्ट्रेलिया गएपछि उतैकी केटीसँग भुलेर गाउँकी मायालुलाई बिर्सिएको भन्दै रिसाएकी छिन् सम्झना घिमिरे। पशुपति शर्मालाई पनि प्रेमिकाले शंका गरेकोमा रिस उठेको छ। अस्ट्रेलिया गएको प्रेमी र गाउँकी प्रेमिकाबीचमा भएको छेडखानीले गीतलाई रमाइलो बनाएको छ। 'स्याङ्जा जाने बाटैमा तनहुँ, बिर्सी जाने मायालाई के भनौं' बोलको यो तीजे गीत युट्युबको ट्रेन्डिङ वानमा छ। गीतमा पशुपति शर्मा तथा कलाकार दिपासा बिसी र बिपिन ठकुरीको रमाइलो नृत्य गीतमा छ। गीतमा शब्द संगीत पशुपति शर्माको छ।


२. पशुपतिकै 'सुहायो चौपट्टै'

यो पनि पशुपतिकै गीत हो। पशुपति शर्मालाई उनकी श्रीमतीले डोरी बाटेको चौपट्टै मन पर्छ। श्रीमतीलाई पनि उनले कपाल काटेर चिटिक्क भएर बसेको मन पर्छ। अघिल्लो तीज जुगाडमै बित्यो। यसपटकको तीजमा उनीहरू दुवै चिटिक्क भएर बसेका छन्। पशुपतिको यो गीत चौपट्टै राम्रो भएको भन्दै कमेन्ट गर्नेको युट्युबमा ताँती छ। यो गीत आएपछि तीज आएझैं लागेको भन्ने पनि कम छैनन्। पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र सुस्मिताको स्वरमा रहेको रमाइलो गीत सुनेर तपाईं छमछम ननाची बस्नै सक्नुहुन्न। त्यसो त पशुपतिले यसपटक थुप्रै तीजे गीत निकालेका छन् र ती युट्युबमा चर्चित पनि भएका छन्। ती मध्ये एउटा हो- 'भाँचिदेउ कम्मर...'।


३. 'पानी मरुवा'

तीज चेली माइत आउने र दुख सुख पोख्ने पर्व हो। माइत जाँदा चेलीसँगै माइती पनि खुसी हुन्छन्। चार बहिनी छोरी हुँदा पनि तीजमा माइती शुन्य भएर साह्रै दुखी छन् पुर्खे बा र तिवारी आमा। छोरी आउलान् र मिठोमसिनो खुवाऔंला भनेर जोहो गरी राखेको खाना त्यसै भएको छ। घर व्यवहारमा भुलेर छोरी तीजमा पनि माइत नआउँदा बुढेसकाल लागेका बाआमालाई चर्को पीडा परेको छ। हुर्केका छोराछोरी सबै लाखापाखा लागेपछि गाउँघरमा चाडपर्वमा पनि वृद्धवृद्धा मात्र रहनु परेको यथार्थलाई मार्मिक तरिकाले गीतमा पोखेका छन् पुर्षोतम तिवारी र लक्ष्मी भन्डारीले।


४. 'यही रैछ जिन्दगी'

स्वर्गजस्तो माइतीमा हुर्केका छोरीहरू नर्कजस्तो घरमा भोगेको पीडा पोख्दै छन् बासँग। तीज दु:ख साटेर मन हल्का गर्ने पर्व हो। वर्षभरि घरमा सासु ससुरा र श्रीमानले गरेका नराम्रो व्यवहार साट्दै दु:खैमा पनि रमाएर नाँच्नु पर्ने कुरा गर्छन्। पुराना गायिकाहरू बिमाकुमारी दुरा, शर्मिला गुरुङ र देवी घर्तीसँगै पशुपति शर्माको पनि स्वर रहेको गीत आँसु खसाल्ने पीडा बोकेको छ।


५. 'फुलमती चनमती'

अब तीज फगत घर व्यवहारको दु:खसुख पोख्ने पर्वमात्र रहेन। देश दिनदिनै दुर्गतितर्फ बढिरहेको पीर छ फूलमति र चनमतिलाई। देश र समाजमा बढ्दै गइरहेको बेथिति र राजनीतिज्ञको मनोमानीले तीजमा पनि नाँच्ने पटक्कै मन छैन फूलमतिलाई। चनमति समाजमा वर्ग, लिङ्ग, जातिजस्ता कुरमा धेरै बेथिति भए पनि आशावादी भएर नाच्न सल्लाह दिन्छिन्। गीतमा शान्तिश्री परियार, ज्ञानु परियार र खेम सेन्चुरी देशमा जति बेथिति भए पनि अब सुध्रिंदै जान्छ भन्ने आश जगाउन सफल भएका छन्।


६. 'नाचिन्न साइँली'

गाला चाउरी परेपछि र खाइलाग्दो ज्यान दाउरी परेपछि नाँच्न नसकिने भन्दै बैंसमा नै नाँच्न भन्दै छन् खुमन अधिकारी र चन्द्रा कार्की। बैंसको बेलामा नै खाना रुच्ने र ज्यानमा पनि बल हुने भन्दै उनीहरू गालाको छाला चाउरी नपर्दै तीजमा छमछम नाँच्दै छन्। मनमा रहेका अधुरा रहरलाई ज्यानमा बल छँदै पूरा गर्नुपर्छ भन्छन् उनीहरू। ज्यान शिथिल भएपछी मनका रहर पूरा गर्न कठीन भएकोले तपाईँ पनि बेलैमा नाच्न गाउन जुट्नुहोला। यसपालिको गीतमा रमाइलोसँग नाच्नलाई यो गीत सही छनोट हुन सक्छ।


७. ज्योतिको 'दंगै परुन दुनियाँ'

मिठो स्वर भए पनि पहिरन र द्वीअर्थी शब्द र हाउभाउका कारण सधैं विवादमा आउने ज्योतिलाई यो म्युजिक भिडियोमा देखेर उनका फ्यान साँच्चै दंग परेका छन्। ज्योति भनेपछि छोटा कपडा र शरीरका अंग सम्झिने दर्शकलाई उनले यो गीतमा साडी चोलोमा छमछम नाचेर छक्कमात्र पारेकी छैनन्, मुखभरीको जवाफ पनि दिएकी छन्।

प्रेमीलाई मुगाको मालामा सुनको पानपात राखी त्यसमा आफ्नो नाम लेखेर दिन भन्दै रमाइलो तरिकाले नाचेकी छन् उनी। बहुसंख्यक नेपाली नारीमा रहेको सुनको गहना मोह गीतमा झल्किन्छ। यो गीतमा शब्द संगीत एकनारायण भण्डारीको छ।


८. 'तीजै रमाइलो'

केकी तीजमा माइत जान पाएर साह्रै मख्ख छिन्। वर्षा कहिले कट्ला र तीज आउला भनेर बाटो हेरेर बसिरहेकी केकीलाई यसपालीको तीज साह्रै रमाइलो लाग्छ। उनी सोह्र शृङ्गार गरेर तीजमा छमछम नाँचिरहेकी छिन्। गोमा कार्कीको स्वरमा रहेको गीतमा रातो पहिरनमा सजिएर छमछम नाचेकी छिन नायिका केकी। यो केकीको नृत्य रहेको तीजगीतको पहिलो भिडियो हो।


९. दुर्गेशको 'हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा....'

'रकर' दुर्गेशको तीजगीत नसुन्ने कमै होलान्। तीज सधैं महिलामात्र नाच्ने गरे पनि यसपटक बीचबीचमा नाच्ने विचारमा छन् गायक दुर्गेश थापा एन्ड टिम। इतिहासमै केटाहरूका लागि निस्किएको पहिलो तीजको गीत भन्दै उनका फ्यानले कमेन्टमा निकै रमाइलो गरेका छन्। टिकटकमा 'हिट' भएको उनको यो गीत निकै रमाइलो छ। अब हेर्न बाँकी छ यसपालि दुर्गेशको गीतको असरले तीज कति समावेशी बन्छ।


१०. नक्कले भिनाजु ३ को 'लर्के भेना'

शुरवीर पण्डितलाई साली बिच्छट्टै राम्री लाग्छ। तीजमा केटाले नाच्न नपाउने भएपछि उनी सालीसँग नाच्नकै लागि महिलाको हुलिया बनाएर जान्छन्। छट्टु भिनाजु र सालीको छेडखानीले गीत कमेडी बनेको छ। तपाईं हाँसोठट्टा र घोचपेच मन पराउनुहुन्छ भने तपाईंको लागि कमेडी तीजगीत लिएर आएका छन् विशाल रायमाझी, हरिमाया रायमाझी र सर्मिला रायमाझी। यो भन्दा अघि पनि उनीहरूकै 'नक्कले भिनाजु' भाग १ र २ आएको थियो।


११. प्रहरी दिदीबहिनीको तीज

पछिल्लो पटक प्रकाश सपूतको गीत 'गलबन्दी' बाट चर्चामा आएकी अञ्जली अधिकारीले 'नाच दिदीबहिनी' मा प्रहरी दिदीबहिनीलाई कम्मर मर्काउन लगाएकी छन्। प्रहरीमा भर्ती भएका उनीहरू तिजमा ननाची बसिरहन सक्ने कुरै भएन। मेलिना राईको आवाजमा रहेको यो गीतमा प्रहरीको प्रसंसा गर्दै सोधिएको छ- प्रहरी नभई शान्त हुने सहर कुन छ ?'


१२. पशुपति शर्माकै 'लौरी हरायो'

तपाईंहरुले छाता र लौरी कतै भेट्नु भएको छ ? भेट्नु भएको भए पशुपति शर्मा, राजु ढकाल, देवी घर्ती र सुस्मिता घर्तीलाई दिनुस्। तीज लागेपछि माइत जाँदा टेक्ने लौरी र दिदी लिन जाँदा पानी ओत्ने छाता हराएर उनीहरू चिन्तित छन्। सामान हराएर के भयो ? उनीहरू तपाईंलाई हसाउँदै छमछम नाचिरहेका छन्। तीजमा तपाईं पनि उनीहरूसँगै यो गीतमा मज्जाले नाच्न सक्नुहुन्छ। पशुपतिले गाएको 'बैमानीले ढाँटयो' पनि यसपटक हिट नै छ। 


१३. बद्री पंगेनीको 'माइत जाम्'

भाइ तीजमा लिन आउँदा कुन दिदीलाई माइत जाने रहर नलाग्ला ? भाइ सरापे (यादव भट्टराई) लिन आएपछि मैया (सुनिता गौतम) खुसी भएकी छिन्। उनी घरको काम सबै सकेर भाइसँग भोलि माइत जाने चाँजोपाँजो मिलाएर बसेकी छिन्। बद्री पंगेनी र सीता श्रेष्ठको स्वरमा रहेको 'माइत जाम' गीत हास्यकलाकारको अभिनयले रमाइलो बनेको छ।


१४. सन्तोष केसीको 'सौता'

दुई सौता भएको घर कस्तो होला ? जिरेखुर्सानीमा दुई सौताको भूमिका निभाएका सविता गुरुङ, अंजु महर्जन घरको कामको लागि बाझाबाझ गर्छन्। दुई श्रीमतीको झगडाको बीचमा पेलिएका मुखमा हान्नुजस्तो 'शिवहरि पौडेल' लाई उनीबीच कुरा मिलाउने हैरान भएको छ। हैरानीले गर्दा दुईटा विवाह कसैले नगर्ने सुझव नै उनले दिएका छन्। गीतमा स्वर सन्तोष केसी, राधिका हमाल र रीता केसीको रहेको छ। सन्तोष केसीकै स्वरमा रहेको अर्को उत्कृष्ट तीज गीत 'सासु बुहारी' पनि बजारमा आएको छ। यो गीतको भीडियोमा पनि जिरे खुर्सानीका कलाकारकै अभिनय रहेको छ।


१५. पानपाते ठूली र सुपारे ठूलाको पुनर्मिलन

रविन लामिछाने र रिना केसीको ' के छ ओए पान पाते ठूली' पनि अहिले चर्चामा छ। पानपाते ठूलीको जीवनमा बज्रपात भएको छ। उसले बिहे भएको केही समयमा लोग्ने गुमाएकी छ। पीडामा भएकी उसलाई समाजले झन् 'पोई टोकेको आरोप' लगाउँदा पर्नुसम्म दुःख परेको छ। तीजमा माइत आएकी उसले बालसखा 'सुपारे ठूला' लाई भेट्छे। उनीहरूकै सम्वादमा आधारित छ यो गीत। गीतमा प्रकाश सपुत, जुना सुन्दास, निक्स शर्मा र जुना गुरुङले मोडलिङ गरेका छन्।

र, सिन्धु मल्लको 'चिटिक्कै भाछु रे...

केही वर्ष पहिला नै बजारमा आएको गीत 'चिटिक्कै भाछु रे' को रिमेक भर्सन बजारमा लिएर आएकी छन् सिन्धु मल्ल। पहिले नै हिट भएको यो गीत यसपालि पनि निकै रुचाइएको छ। यसमा नृत्य नायिका आँचल शर्माको रहेको छ। सिँगारिएर निकै राम्रो नृत्य गरेकी छिन् आँचलले। उनी साँच्चै नै गीतमा भनिएझै सोह्र शृंगारले चिटिक्कै भएकी छिन्।


अन्तिममा, तपाईँलाई मन परेका कुनै गीत यो लिस्टमा छुटे ? कमेन्टमा लेखेर सिफारिस गर्नुस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.