शिक्षा बिना समृद्धि असम्भव : प्रचण्ड
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्तरिय शिक्षा बिना समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताएका छन्। शिक्षालय मासिक पत्रिकाले राजधानीमा सोमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
राजयले दिने शिक्षा आम नागरिकको दैनिकीसँग जोडिएको हुनुपर्ने बताउँदै दाहालले भने,‘ शिक्षामा वैज्ञानिक सुधारको खाँचो छ। गुणात्मक शिक्षा आजको आवश्यकता हो।’
शिक्षाको गुणात्मक सुधारका लागि सबै एकजुट हुनुपर्ने उनले बताए। कार्यक्रममा शिक्षा पत्रकारितामा योगदान दिएका नेपाल टेलिभिजनका समाचार सम्पादक रविचन्द्र पराजुली र कारोवार दैनिकमा कार्यरत गोपाल सङग्रौलालाई शिक्षा पत्रकारिता पुरस्कार वितरण गरिएको थियो। शिक्षा क्षेत्रमा योगदान दिएका, व्यक्ति तथा संस्था समेत गरेर १६ जनालाई पुरस्कार प्रदान गरिएको थियो।