साख जोगाउने करातेको लक्ष्य

साख जोगाउने करातेको लक्ष्य

काठमाडौं : सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं दक्षिण एसियाली खेलकुद (साग) नेपालले आयोजना गरेको हालसम्मकै ठूलो खेलकुद प्रतियोगिता हो। साग खेलकुद आयोजनाका दृष्टिले मात्र होइन, पदक र देशको साख जोगाउने हिसाबले पनि विशेष छ। 

दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठूलो खेलमेला सागको १३औं संस्करण आगामी डिसेम्बर १ देखि १० सम्म नेपालमा हुँदैछ। नेपालले भौतिक संरचनाको निर्माणसँगै आयोजनालाई भव्य बनाउन आन्तरिक तयारी तीव्र बनाएको छ। आयोजनासँगै सागमा समावेश २७ खेलको बन्द प्रशिक्षण र तयारी सुरु भएको छ।

नेपाललाई सागमा सर्वाधिक सफलता दिलाउने खेल कराते हो। नेपालमै आयोजना भएको सागको आठौं संस्करणदेखि कराते खेल समावेश भएको थियो। त्यसपछि लगातार तीन संस्करण करातेले प्रवेश पायो। 

भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं संस्करणमा कराते खेल समावेश नहुँदा नेपाल पदक तालिकाका निकै तल परेको थियो। आयोजकको हिसाबले नोपलले यसपटक १३औं सागमा करातेलाई समावेश गरेको छ। करातेको समावेशले नेपाली कराते टोली उत्साहित पनि बनेको छ।

आठौं साफमा नेपालले ऐतिहासिक सफलताका साथ दोस्रो स्थान हासिल गर्दा करातेको भूमिका मुख्य थियो। नेपालले त्यो बेला जितेक कुल ३१ स्वर्णमध्ये १४ स्वर्ण करातेले मात्र जितेको थियो। 

तेक्वान्दोले १४, बक्सिङले दुई र पौडीले एक स्वर्ण पदक जित्दा नेपाल पदक तालिकाका समग्रमा दोस्रो भएको थियो। नेपालले त्यो बेला करातेमा कुल १६ स्पर्धामा १४ स्वर्ण तथा एक रजत र एक कांस्य पदक जितेको थियो। त्यति बेला मार्सल आर्ट्समध्ये करातेको पावर हाउसका रूपमा चिनिएको नेपाल विस्तारै खस्कँदै गयो।

सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको नवौं सागमा नेपालले करातेबाट एक स्वर्ण, दुई रजत र एक कांस्य जित्यो। सन् २००६ मा श्रीलंकामा सम्पन्न १०औं सागमा करातेले नेपाललाई दुई स्वर्ण, तीन रजत र चार कांस्य पदक दिलायो। कुनै पनि संस्करणमा खाली हात हुन नपरेको करातेले बंगलादेशमा २०१० मा सम्पन्न ११औं सागमा तीन स्वर्ण, दुई रजत र दुई कांस्य जितेर स्वेश फर्किएको थियो।

सागमा फेरि कराते खेल समावेश भएपछि देशभरका खेलाडी उत्साहित भएको नेपाली कराते टोलीका मुख्य प्रशिक्षक मदन उप्रेतीले बताए। ‘नेपालको करातेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका कारण धेरै कमजोरी भएको थियो। अहिले सबै पक्ष मिलेर अगाडि बढेको अवस्था छ। युवा खेलाडीको आमगन र केही गरौं भन्ने भावना सबैमा छ। आठौं सागमा जस्तै यसपटक करातेले राम्रो गर्नेमा हामी विश्वस्त छौं’, प्रशिक्षक उप्रेतीले भने।

सागलाई लक्षित गरी दुई सातादेखि करातेको बन्द प्रशिक्षण सुरु भएको छ। सुरुमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो। सुरुमा ८४ जनालाई बन्द प्रशिक्षणमा राखिएकोमा साउन १६ देखि टिम कुमुतेका २४ जना खेलाडीलाई पनि थप गरिएको छ। खेलाडीले दैनिक बिहान र बेलुका दुई पटक तयारी गरिरहेको जानकारी पनि प्रशिक्षक उप्रेतीले दिए।

नेपाल कराते महासंघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा प्रशिक्षणमा रहेका खेलाडीलाई काठमाडौं गौशालास्थित शिवम् होटलमा राखेर खानबस्नसहित तयारीको राम्रो व्यवस्था मिलाएको छ। खेलाडी यसपटक खुसी देखिन्छन्। खेलाडीको आत्मबल बलियो रहेकाले यसपटक नेपालले करातेमा साख फर्काउन सक्छ भन्ने सोचाइ राखेको पनि उप्रेतीले बताए। ‘भारतले लामो समयदेखि इरानबाट प्रशिक्षक झिकाएर तयारी गरिरहेको छ। हामी भर्खर खेलाडी छान्दै छौं। तयारीका हिसाबले हामी पछि परेका छौं। भारत अहिले करातेमा बलियो छ। बंगलादेश, पाकिस्तान र श्रीलंकाले पनि राम्रो तयारी गरेका छन्। करातेमा नेपालले कमजोर आँक्ने अहिले भुटान र माल्दिभ्स मात्र हो। तर पनि हाम्रो मुख्य हतियार भनेको आत्मबल नै हो’, उप्रेतीले भने।

उप्रेतीका अनुसार बन्द प्रशिक्षणमा रहेका कुल एक सय आठमध्येबाट भदौ १८ सम्म सागका लागि ३३ जना अन्तिम खेलाडीको छनोट गरिनेछ। साग करातेमा १९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ फाइटमा ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजीमुनि र ८४ केजीमाथि, व्यक्तिगत काता, टिमकता र टिम कुमुते स्पर्धा समावेश गरिएको छ। यसैगरी महिलामा फाइटतर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजीमुनि र ६८ केजीमाथि, व्यक्तिगत काता, टिम काता र टिम कुमुते स्पर्धा समावेश छ।

खेलाडीको अन्तिम छनोटपछि नेपालमै राम्रो विदेशी प्रशिक्षक झिकाएर तयारी गरिने सोच रहेको पनि उप्रेतीले बताए। ‘छोटो समयमा विदेश जाँदा खर्च धेरै हुने र तयारी पनि कमी हुन्छ। हामीले खेलाडी छनोटका लागि विदेशी रेफ्री र तयारीका लागि राम्रो विदेशी प्रशिक्षक झिकाउने सोच बनाएका छौं। सागअघि बंगलादेश र भारतका गएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा छौं’, उप्रेतीले भने।

प्रशिक्षकले जस्तै बन्द प्रशिक्षणमा रहेका खेलाडीले पनि सागमा सबैको लक्ष्य स्वर्ण रहेको बताए। ‘यसपटकको तयारी धेरै राम्रो छ। क्याम्पमा रहेका सबै साथी खुसी छन्। आफ्नो तौलमा सबैले स्वर्ण जित्ने लक्ष्य राखेका छौं। सागअघि वैदेशिक प्रशिक्षण र आफूभन्दा बलियासँग एक पटक खेल्न पाए अझ राम्रो हुन्थ्यो’, आठौं राष्ट्रिय खेलकुदमा ८४ केजीमुनि स्वर्ण जितेका दिवस श्रेष्ठले भने।

दिवसले जस्तै आठौं राष्ट्रिय खेलकुदमा महिला ६१ केजीमुनि तौलमा स्वर्ण जितेकी एस्टर राईले यसपटक स्वर्ण जितेर छाड्ने अठोट गरिन्। ‘सागको करातेमा भाग लिएपछि सबैको सोच पदक हुनु स्वाभाविक हो। मैले स्वर्ण जित्ने लक्ष्यका साथ मेहनत गरेको छु। विगतमा भन्दा यसपटकको तयारी र व्यवस्थापन धेरै राम्रो छ’, राईले भनिन्। करातेको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई अहिले कुशल श्रेष्ठ, राजेश श्रेष्ठ, राधिका देउला, वीरकृष्ण शाही, गंगाराम महर्जन, गोपीलाल बोम्जन, गोपाल महर्जन, प्रदीप राई र तारा गुरुङले प्रशिक्षण दिइरहेका छन्।


सागको विशेष प्रशिक्षणमा सहभागी कराते खेलाडी। तस्बिर : अन्नपूर्ण  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.