खाल्डोमा डुबेर दुईको मृत्यु
![खाल्डोमा डुबेर दुईको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Schools-Child--Women-Death-Nkt_20190813034520_rBkPzSJs9P.jpg)
काठमाडौं : बालुवा उत्खनन् गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुई जनाको मृत्यु भएको छ। ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय ११ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको वडा नं १ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
साँझ ५ :३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन्। उनीहरुले क्षतिपूर्तिको मागसहित बालुवा उत्खनन् कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेका छन्।
ज्यान गुमाएकी बालिकासहित मजदुरको विषयमा छलफल सुरु भएको र एउटा निष्कर्ष निकालिने गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडाले बताइन्। सरकारले असारदेखि भदौसम्म तीन महिना नदिजन्य सामग्रीको उत्खननमा रोक लगाएको थियो । तर साउन ८ गते बुधबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सर्वपक्षिय बैठकले कानुन विपरित हाते औजार प्रयोग गरेर बालुवा निकाल्न अनुमति दिने निर्णयको समेत नुवाकोटवासीले विरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)