समृद्ध मेलम्ची, हाम्रो प्रतिबद्धता

समृद्ध मेलम्ची, हाम्रो प्रतिबद्धता

प्राकृतिक स्रोत साधनले समृद्ध मेलम्ची नगरपालिका विकासमा फड्को मार्दै छ। पर्यटकीय सम्भावना बोकेको यस नगरको भौगोलिक विकटता विकासको चुनौती बनेको छ। मेलम्ची खानेपानी आयोजना मुहानको प्रवेशविन्दु मात्र नभई हेलम्बु, लाङटाङ, पाँचपोखरीजस्ता पर्यटकीय स्थानको प्रवेशमार्ग पनि यही नगरपालिकामा पर्छ।

ग्रामीण क्षेत्रबाट सहरीकरणतर्फ हुँदै गरेको नगरको समृद्धिको प्रशस्त सम्भावना छ। मेलम्ची समृद्धिका लागि भएको पहल र चुनौतीका विषयमा मेलम्ची नगर प्रमुख डम्बरबहादुर अर्यालसँग अन्नपूर्णकर्मी युवराज पुरीले गरेको कुराकानी :
 

तपाईं मेलम्ची नगर प्रमुख भएपछि विकास निर्माणमा भएका मुख्य उपलब्धि के–के हुन् ?       

विकासको पहिलो खुड्किलो मानिने नगरका सबै वडा जोड्ने सडक चौडा बनाई ग्राभेल गरेका छौं। केही सडक कालोपत्रे पनि भएका छन्। एसियाली विकास बैंकको सहयोगमा यसै वर्ष १५ किलोमिटर सडक कालोपत्रे हुँदै छ। नगरपालिकाको भवन बन्दै छ। नगर समृद्धिको गुरुयोजना बनाएर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने प्रणाली सुरु गरेका छौं।

कृषि, पर्यटन, उद्योग र जलाधार क्षेत्रमा नगरको लगानी बढाएका छौं। नगरलाई सिस्टममा अघि बढाउने प्रयास गरेका छौं, जसले समृद्ध नगर र खुसी नगरबासी बनाउन सहयोग पुग्ने विश्वास छ।

मेलम्ची समृद्धिको आधार के–के हुन सक्छन् ?       

मेलम्ची नगरलाई समृद्ध बनाउन मुख्य भूमिका कृषिको रहन्छ। यस क्षेत्र कृषि उत्पादनको आधारमा निकै अगाडि छ। तर, कृषि क्षेत्र व्यावसायिक बन्न सकिरहेको छैन। कृषिलाई व्यावसायिक बनाउने योजना अगाडि बढाएका छौं। यस क्षेत्रमा पर्यटनको सम्भावना पनि उत्तिकै छ। यसलाई पनि प्याकेजकै रूपमा योजना ल्याएका छौं। नगरभित्र दुई वटा पदमार्ग पहिचान गरेका छौं। भोटेचौरदेखि मेलम्चीसम्म १०१ नम्बर र मेलम्चीदेखि गुफाडाँडासम्म २०१ नम्बरको पदमार्ग तय भएको छ।

यस क्षेत्रमा जीपीएस प्रणाली जडान गरेका छौं। मेलम्ची बजार आफंै पनि पर्यटकीय स्थानको हब भएकाले नदीको सदुपयोग गर्दै पर्यटक आकर्षण गर्ने संरचना निर्माण योजना अघि बढेको छ। नदीजन्य उत्पादनलाई व्यवस्थित बनाएर यसबाट थप आम्दानी गर्न लागिपरेका छौं। बसपार्क निर्माण, खेलकुद विकासका लागि सुविधासम्पन्न कभर्ड हल बनाउन थालिएको छ। पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा पनि सुधारका प्रयास भइरहेका छन्।

समृद्धिको मुख्य आधार कृषिलाई मान्नुभएको छ, यस क्षेत्रमा नगरको लगानी कस्तो छ ?      

 मेलम्ची नगरभित्र कृषिका विविध उत्पादन हुन्छन्। ठाउँअनुसार उत्पादनलाई प्रमोट गर्ने कार्यक्रम बनाएका छौं। चालु वर्ष हामीले कृषि क्षेत्रमा मात्र ४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छौं। कृषिलाई व्यवसायीकरण गर्न यो रकम खर्च हुनेछ। किबी खेतीलाई प्रोत्साहन गर्न शीत भण्डार निर्माणका लागि प्रदेश सरकारलाई प्रस्ताव गरेका छौं। सिभिल बैंकसँग सम्झौता गरेर व्यावसायिक रूपमा कृषि वा पशुपालन गर्ने किसानलाई निब्र्याजी ऋण उपलब्ध गराउने योजना अघि सारेका छौं।

बैंकले ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने र साँच्चै काम गर्ने किसान पहिचान गरेर उक्त ब्याज नगरपालिकाले तिर्ने योजना छ। अहिले पनि नगरभित्रबाट वार्षिक १५ करोड रुपैयाँ बाबरको कृषि उत्पादन बाहिर जान्छ। दुई वर्षभित्र यसलाई दोब्बर बनाउने गरी योजना अघि बढाएका छौं।

पर्यटन प्रवर्द्धनका कस्ता कार्यक्रम नगरले सञ्चालन गरिरहेको छ ?       

पर्यटन प्रवर्द्धनका लागि दुई वटा पदमार्ग पहिचान गरेर यसलाई व्यवस्थित बनाउन लागिरहेका छौं। पहिलो पदमार्गमा तत्कालै चार ठाउँमा होमस्टेको व्यवस्था हुँदै छ। गुफाडाँडामा होमस्टे र अन्य व्यवस्थापनका लागि अध्ययन हुँदै छ। मेलम्चीदेखि बाहुनेपाटीसम्म इन्द्रावती नदीलाई ड्याम बनाएर बगर पर्यटन विकासको अध्ययन भएको छ। ती क्षेत्रमा भएका क्रसर उद्योगलाई मेलम्चीको माथिल्लो क्षेत्रमा ल्याउने र त्यहाँ जल पर्यटनको विकास गर्ने अध्ययनअनुसार १३ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ।

पब्लिक प्राइभेट पार्टनरसिपमा उक्त परियोजना सम्पन्न गर्न अमेरिका बस्ने नेपाली र केही जापानिजसँग कुरा भइरहेको छ। साथै, मेलम्चीसँगै छिमेकी गाउँपालिका इन्द्रावती, पाँचपोखरी थाङ्पाल र हेलम्बुसँग सहकार्यमा पर्यटन प्रवर्द्धनको कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको छ।

विकास निर्माणमा के– कस्ता चुनौती सामना गर्नुपर्‍यो ?       

उपभोक्ता समिति ठेकेदारजस्ता भएका छन्। भएभन्दा बढी काम देखाउने प्रवृत्ति छ। काम हेर्दै नहेरी अनुमानको भरमा आलोचना गर्ने प्रवृत्तिले पनि विकासमा चुनौती थपिएको छ। राम्रो काम भए पनि सतही रूपमा नकारात्मक कुरा गर्नेहरू पनि छन्। आन्तरिक स्रोत वृद्धि गर्न उठाउनुपर्ने कर तिर्ने बानी विकास भएको छैन।

कर प्रणालीलाई व्यवस्थित र संस्थागत बनाउन चुनौती देखिएको छ। दक्ष कर्मचारी अभाव छ। जसले गर्दा जुन रफ्तारमा काम हुनुपर्ने हो त्यो हुन सकेको छैन। ब्युरोक्रेसी सरकारको हात हो, यसले प्रभावकारी काम नगर्दा जुन गतिमा काम हुनुपर्ने हो त्यो हुन सकेको छैन।

चुनावका बेला गरिएका प्रतिबद्धता के–कति पूरा भए ?       

मैले चुनावमा मत माग्ने बेला त्यति धेरै आश्वासन बाँडेको छैन। लिखित प्रतिबद्धता तयार पारेर मत माग्न गएका हौं। उक्त प्रतिबद्धताअनुसार काम गरिरहेका छौं। बर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलालाई ३ महिनासम्म पोषण भत्ता, सुत्केरी हुने महिला बर्थिङ सेन्टरसम्म जान लाग्ने यातायात खर्च केन्द्र सरकारले दिएकोमा थप गर्ने व्यवस्था गरेका छौं। यस्ता धेरै काम गरेका छौं जो हामीले चुनावका बेला बोलेका थियौं।

तपाईंको बाँकी कार्यकालमा नगर विकासका लागि कस्तो योजना अघि सार्नुभएको छ ?       

सडक चौडा भएको छ, अब यसमा नाली बनाउन थाल्नेछौं। कृषिलाई व्यावसायिक बनाउँदै जमिन बाँझो नराख्ने रणनीति अघि सारेका छौं। जुन ठाउँमा जस्तो उत्पादन हुन्छ त्यसलाई प्रवर्द्धन गर्दै जानेछौं। कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउनेछौं। शीतभण्डार निर्माण गर्नेछौं। पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार बनाउँदै जाने योजना छ।

शैक्षिक क्षेत्रमा गुणस्तर कायम गर्ने योजना अगाडि बढाइनेछ। सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन आवश्यक कदम चाल्नेछौं। आन्तरिक स्रोत वृद्धि गर्न आवश्यक काम अघि बढाउनेछौं। स्रोत संकलन र सही ढंगले यसको परिचालनको नीति ल्याउनेछौं। समग्रमा नगर विकासका लागि आवश्यक योजना सञ्चालन गर्नेछौं।

तपाईंको कार्यकाल सकिँदा मेलम्ची नगर कस्तो हुनेछ ?       

प्रत्येक वडामा बाह्रै महिना चल्ने सडक हुनेछन्, नगरपालिकाभित्र यातायातको साधनसहित गुणस्तरीय शिक्षा प्रदान गर्ने कम्तीमा १० विद्यालय हुनेछन्। वार्षिक ३० करोडभन्दा बढीको कृषि उत्पादन राजधानी निर्यात हुनेछ। विद्यालय उमेरका एक जना पनि बालबालिका विद्यालयबाहिर हुने छैनन्। २० वर्ष नपुगी विवाह गर्नेको संख्या शून्य हुनेछ। उपचार नपाएर सुत्केरी हुन नसकी ज्यान गुमाउनुपर्ने अवस्था रहन्न। कृषिमा व्यवसायीकरण हुनेछ।

पर्यटन व्यवसायले स्थानीयले आम्दानी गर्न थाल्नेछन्। स्थानीय उद्योग सञ्चालन हुनेछन्। यसै वर्ष पनि सिन्धुकोटमा छाला प्रशोधन उद्योग स्थापना भएको छ। जहाँ एक सय ५० भन्दा बढीले रोजगारी पाउनेछन्। डोजर प्रयोगले विपद निम्त्याउँदो रहेछ, यसको प्रयोगलाई निस्तेज पार्दै बेरोजगार जनशक्तिलाई काममा लगाउने वातावरण तयार हुनेछ। हाम्रो यो कार्यकाल सकिँदासम्म मेलम्ची समृद्धिको खाका तयार हुनेछ। हामी योजनाबद्ध रूपमा मेलम्चीलाई व्यवस्थित, विकसित र समृद्ध बनाउने अभियानमा छौं र यसलाई पूरा गरिछाड्ने प्रण गर्छौ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.