पहिलो खेलमा बार्सिलोना स्तब्ध
बार्सिलोना : साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै नमिठो हार खेपेको छ । लिगको उद्घाटन खेलमा शुक्रबार राति बार्सिलोना एथलेटिक बिल्बाओसँग १–० गोलले पराजित भयो । एथ्लेटिक बिल्बाओको जितमा अरिट्ज अडुरिजले निर्णायक गोल गरेका थिए । अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका अडुरिजले ८९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाएका थिए । उनले मैदान छिरेको दोस्रो मिनेटमै गोल गरेका हुन् । स्टार खेलाडीले भरिएको बार्सिलोनाले पहिलो हाफमा केही राम्रा गोल गर्ने अवसर बनाए पनि सफल हुन सकेन । बार्सिलोनाका कप्तान लियोनल मेसीले यस खेल खेलेका थिएनन् ।
पिँडौलाको मांसपेशीमा चोट बोकेका मेसी अहिले फिजियोथेरापी गरेर बसेका छन् । उनी बार्सिलोनाकै अभ्यासका क्रममा गत साता घाइते भएका थिए । मेसीको अभावसँगै लुइस स्वारेजले पनि चोटका कारण ३७औं मिनेटमा मैदान छाडेका थिए । बार्सिलोनामा यसै सिजन अनुबन्ध भएका एन्टोइन ग्रिजम्यान र फ्रान्की डे जोङले पनि आशातीत प्रदर्शन गर्न सकेनन् । जितसँगै एथ्लेटिक बिल्बाओले तीन अंक बनाएको छ । बार्सिलोनाले हारबाट सिजनको सुरुआत गरेको छ ।
यसैगरी शुक्रबार रातिबाटै सुरु भएको जर्मन बुन्डेस लिगाको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले हर्था बर्लिनसँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमै भएको पहिलो खेलमा बायर्न हर्था बर्लिनसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बायर्नका लागि रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेका थिए । हर्था बर्लिनका डोडी लुकेबाकियो र मार्काे ग्रुजिकले गोल गरे । बायर्नले खेलको २४औं मिनेटमा सुरुआती गोल गरेको थियो । बायर्नका लेवान्डोस्कीले पहिलो गोल गरे । त्यसपछि ३६औं मिनेटमा हर्था बर्लिनका डोडीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । तीन मिनेटलगत्तै मार्कोले गोल गर्दै हर्था बर्लिनलाई अग्रता दिलाए । हर्था बर्लिनको दोस्रो गोल पनि आक्रामक देखिएको थियो । बायर्नले ६०औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएको थियो । लेवान्डोस्कीले पेनाल्टीको सही सदुपयोग गरे । डिबक्सभित्र हर्था बर्लिनका मार्कोले लेवान्डोस्कीलाई लडाएपछि बायर्नले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन । बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् ।