रुखले किच्दा भारतमा दुई नेपालीको मृत्यु
नयाँ दिल्ली : भारतको हिमाञ्चल राज्यको शिमला जिल्लाको नारकन्दमा रुखले किचेर दुई नेपालीको मृत्यु भएको छ। पाँच नेपाली घाइते भएका छन्।
मृतकहरू नेपालको बाँके जिल्लाका हुन्। उनीहरू शिमलामा मजदुरी गर्दै आएका थिए।
विगत दुई दिनदेखि भएको भारी वर्षाका कारण रुख ढलेर घाइते भएका सात नेपालीमध्ये दुईको मृत्यु भएको अखिल नेपाल भारतीय एकता मञ्चका सचिव आरबी खडकाले जानकारी दिए। उनका अनुसार मृतक दुईजनाको पोस्टमार्टम गरी शव नेपाल लैजाने प्रकृया थालिएको छ।
मृत्यु हुनेमा बाँकेको विनुवा चिलहरिया गाउँका सन बहादुर पून मगर र अर्जुन बुढा मगर छन्।
खड्काले घटनाबारे दूतावासलाई जानकारी दिइएको र आवश्यक प्रकृया पुर्याएर शव नेपाल पठाइने उनले बताए।
पाँच घाइतेहरूमा बलबहादुर पुन मगर, रमन पुन मगर, सन पुन मगर,रणवीर घर्ती मगर र कृष्णा थारु रहेका छन्। घाइतेहरू इन्दिारा गान्धी मेडिकल कलेज, शिमलामा उपचार गराएर घर फर्किसकेका छन्। घाइतेहरू सबै राप्ती सोनारी गाउँपालिकाका बासिन्दा हुन्।
मृतक १८ वर्षीय अर्जुन बुढा मगर कामको खोजीमा पहिलो पटक भारत आएका थिए भने अर्का मृतक सन विगत चार पाँच वर्षदेखि आवत जावत गरिरहेका थिए।
८ जना नेपाली एउटै घरमा बस्दै आएका थिए। सोही घरमा रुख खसेका कारण सात जना घाइते भएका थिए। एक जनालाई कुनै चोटपटक लागेको छैन।
प्रतिक्रिया दिनुहोस !