आलिताल पर्यटकीय हब बनाउँछौं

आलिताल पर्यटकीय हब बनाउँछौं

डडेल्धुराका जिल्लाको आलिताल क्षेत्र सम्भावना रहेको क्षेत्र हो। स्थानीय तहको निर्वाचन भइसकेपछि गाउँपालिकामा रुपान्तरण भएको छ। सिंहदरबारको अधिकार गाउँमा आएसँगै यहाँको पनि विकासको रुपरेखा फेरिने संकेत देखिएको छ। विकास निर्माणका कामले प्राथमिकता पाइरहेका छन्। जनचासोका सवाललाई महत्व दिएर काम भइरहेका छन्। निर्विवाद भएर जनताको काममा सक्रिय गाउँपालिकाका अध्यक्ष बलवहादुर गुरुङसँग अन्नपूर्णकर्मी बन्दना बमले गरेको कुराकानी :

विकास निर्माणको काम कसरी अगाडि बढिरहेको छ ?

विगतमा विकासले खासै गति लिन सकेको थिएन्। स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि विकास निर्माणको कामले प्राथमिकता पाएको छ। यहाँका ८ वटै वडा सडक सञ्जालमा जोडिएका छन्। अधिकांश वडामा विद्युत् सेवा पुगेको छ। हामी आउनु भन्दा अघि खानेपानीको धेरै समस्या थिए। अहिले सबै बस्तीमा खानेपानी पुगेको छ। निजी श्रोतबाट शिक्षकलाई तलब दिएर बिद्यालय सञ्चालनमा रहेका थिए। अहिले गाउँपालिकाबाटै तलब दिने व्यवस्था गरेका छौं। जसले गर्दा शिक्षाको गुणस्तरमासमेत बृद्धि भएको छ। सरसफाई, स्वास्थ्य लगायतका थुप्रै क्षेत्रमा बिकास अगाडि बढेको छ। गाउँपालिकाको समग्र बिकासका लागि पाँच वर्षे आवधिक योजना तयार पारेर अघि बढिरहेका छौं।

जनताले महसुस गर्ने के के काम भएका छन् ?

अधिकांश वडाबाट माग भएर आउने योजना सडकका छन्। हामीले सडकमा ठूलो लगानी गरिरहेका छौं। दुई वर्ष पहिले बस्तीमा जाँदा हिडेर जानुपर्ने अवस्था थियो। अहिले सबै ठाउँमा मोटर चढेर पुगिन्छ। कृषि, पशुपालनको क्षेत्रमासमेत ठूलो काम भएको छ। कृषि तथा पशुपालनलाई व्यवसायीक रुपमा अगाडि बढाएका छौं। ‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम लागू गरेका छौं। जुन गाउँमा जे उत्पादन राम्रो हुन्छ। ती विषयलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रलाई व्यावसायीक रुपमा अगाडि बढाइरहेका छौं। स्वास्थ्य क्षेत्र तथा शैक्षिक स्तर बृद्धि गर्ने काम भएको छ। आलिताल क्षेत्रलाई ‘पर्यटक हब’ को रुपमा बिकास गर्न काम अगाडि बढिरहेको छ। आलितालको संरक्षणका लागि पनि योजना अघि बढेका छन्।

आलिताल क्षेत्रको संरक्षणका लागि के भइरहेको छ?

आलितालकै नामबाट गाउँपालिकाको नाम रहेको हुनाले हामीले त्यसको संरक्षणमा लगानी गरेका छांै। आलितालको संरक्षण तथा प्रचारप्रसारका लागि गुरुयोजना निर्माण गरिसकेका छौं। तालमा डुंगा सञ्चालनमा आएको छ। सो क्षेत्रमा भ्यू टावर, पार्क निर्माणका लागि काम अगाडि बढिसकेको छ। ताल संरक्षणका लागि काम भइरहेको छ। सो क्षेत्रमा होमस्टे सञ्चालनका लागिसमेत काम अगाडि बढाएका छौं। प्रचारप्रसारको लागि पर्यटन बोर्ड तथा अन्य निजी क्षेत्रसँग सहकार्य सुरु भएको छ। पहिलेको र अहिलेको आलितालमा धेरै फरक पाउन सकिन्छ। अहिले आन्तरिक पर्यटककोसमेत चहल पहल बढेको छ।

सबै वडामा बजेट विनियोजन कसरी हुने गरेको छ ?

गाउँपालिकामा दुई तहमा विकासका योजना निर्माण गर्ने गरेका छौं। वडा स्तरको योजना र गाउँपालिका स्तरको योजना। सबै वडालाई समान किसिमले योजना बाँडफाँड तथा बजेट विनियोजन हुने गरेको छ। यसपालि प्रत्येक वडालाई ५०/५० लाखको हिसाबले रकम विनियोजन गरेका छौं।

गाउँपालिकाका प्राथमिकतामा परेका योजना के के हुन् ?

पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेका छौं। विकास निर्माणको ठूलो रकम सडकमा नै खर्च हुने भएकाले सडक निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छौं। साविकको आलिताल र गाङ्खेत गाविसलाई जोड्न ‘आलिताल गाङ्खेत सडक योजना’ सुरु भएको छ। त्यसैगरी आलिताल पर्यटकीय क्षेत्रलाईसमेत प्राथमिकतामा राखेर काम गरिरहेका छौं। त्यसका साथसाथै कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी लगायता सबै क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राखेका छौं।

निर्वाचनका बेला गरेका प्रतिबद्धता कति पुरा भए त ?

हामीले जनता सामु पुरा गर्नै नसक्ने बाचा गरेका थिएनौं। समग्र विकासका लागि गुरुयोजना निर्माण गरी सोही अनुसार विकासका काम अगाडि बढाउने काम भएको छ। सोही अनुसार गुरुयोजना निर्माण भइसकेको छ। हामीले गाउँपालिकामा बनाएको नीति कार्यक्रमसमेत विकासमैत्री छन्। सोही अनुसार काम भइरहेको छ। अधिकांश प्रतिबद्धता पुरा भएका छन्। केही बाँकी छन्। निरन्तर रुपमा विकास निर्माणका कामले गति लिइरहेको छ।

नयाँ संरचनामा गएर काम गर्न कतिको चुनौती छ ?

नेतृत्व तहमा बस्दा चुनौती भई नै हाल्छ। चुनौतीलाई सहज ढंगबाट पार गर्नु ठुलो कुरा हो। मैले चुनौतीलाई सहज रुपमा लिने गरेको छु। यस अघि पनि नेतृत्व तहमा बसिसकेको हुनाले सहज भइरहेको छ। सुशासन प्रबद्र्धन र सेवा प्रबाह गर्दा सबैलाई समेटेर अगाडि बढिरहेकाले खासै चुनौतीको सामना गर्नु परेको छैन। समन्वयको कमिले केही समस्या आउने गरेको छ। तर हामीले कुनै पनि काम अगाडि बढाउँदा समन्वयमा कमि हुन दिएका छैनौं। त्यसैले समस्याको सामना गर्नुपरेको छैन। काम गर्दा स–साना समस्या आउनु ठुलो कुरा होइन्।

राजनीतिक दवाव कतिको आउने गरेको छ ?

दुई वर्षसम्मको अनुभवमा त्यस्तो महसुस भएको छैन। सामान्य विवाद आए पनि समुदायमा नै छलफल गरेर समाधान गर्ने गरिएको छ। गाउँपालिकाले गरेका निर्णयमा खासै विवाद आउँदैन्। राजनीतिक दवाव पनि खेप्नु परेको छैन। आफू अल्पमतमा परेको भए पनि काम गर्दा सबैको पूर्ण सहयोग रह्यो।

आगामी योजना के–के छन ?

गाउँपालिकाको समग्र विकासका लागि पञ्चवर्षिय रणनीतिक योजना बनाइएको छ। सोही अनुसार काम अगाडि बढाइरहेका छौं। समुदायको आवश्यकता अनुसार विकासका काम अगाडि बढाइरहेका छौं। ४० वटा ऐन कानुन बनिसकेका छन्। गाउँपालिकामा यातायात गुरु योजनासमेत बनाएर अगाडि बढेका छौं। गाउँपालिका क्षेत्रमा पर्ने रङ्गुन खोलाबाट उत्पादन हुने गिटी, बालुवालाई व्यवस्थित रुपमा उत्खनन्को लागि योजना अगाडि बढाएका छौं।

हरावरा गाउँपालिका बनाउने उद्देश्यले प्रत्येक वडामा बेर्ना उत्पादन गर्ने नर्सरी बनाएका छौं। सबै वडाका कार्यालय नरहेकाले वडा कार्यालय व्यवस्थापनको कामसमेत अगाडि बढाइरहेको छौं। सम्भावना र चुनौतीकाबीच गाउँपालिकाको विकासका लागि समन्वयात्मक ढंगबाट अगाडि बढिरहेका छौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.