सुनको मूल्यमा कीर्तिमान, व्यापार ठप्प

सुनको मूल्यमा कीर्तिमान, व्यापार ठप्प

काठमाडौं : दुई दशक अघिसम्म ‘साउनमा सुन किन्नू’ भन्ने जन श्रुति प्रचलित थियो। तर, यो वर्ष साउन अन्तिममा सुनको मूल्यमा कीर्तिमानी कायम भयो। ३१ साउनमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएर प्रतितोला ७१ हजार पाँच सय पुग्यो। त्यसयता पाँच सय घटेको सुनको मूल्य फेरि बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन् भइ नेपालमा पनि त्यसको असर परेको हो।

पछिल्लो समय नेपाली बजारमा सुनको कारोबार बन्दप्रायः भएको नेपाल सुनचाँदी व्यवसायी महाँसंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन्। सामान्य अवस्थामा दैनिक ३० देखि ३५ किलो सुन बिक्थ्यो। अहिले तीजलगायत चाडबाडको मुखमा समेत सुनको बिक्री शून्यप्रायः भएको उनी बताउँछन्। ‘बेच्नेको मात्रै हुल छ, किन्ने मान्छे नै छैन’, उनी भन्छन्। यसरी सुनको भाउ महँगिनुमा २५ वर्षअघिजस्तो नेपाली बजारको माग र आपूर्तिले असर गर्दैन।

‘पहिले हाम्रो आन्तरिक बजारमा नै मूल्य तय हुन्थ्यो’, उनी भन्छन्, ‘मंसिरपछि अन्न बेचेर सुन किन्थे र भाउ बढ्थ्यो, साउनमा पैसा सकिएपछि सुन बेच्न थाल्थे र भाउ सस्तिन्थ्यो।’ तर अहिले विश्व बजारमा एक साथ सुनको भाउ घटबढ हुन्छ र त्यही अनुरुप हरेक मुलुकमा मूल्य तह हुन्छ।

चीन र अमेरिकाबीच व्यापार युद्ध तन्किँदै जाँदा जर्मनी र फ्रान्सलगायत युरोपेली अर्थतन्त्रसमेत मन्दीमा जाने प्रक्षेपण हुन थालेपछि विश्व बजारमा सुनको माग बढ्न थालेको छ। अमेरिका र चीनबचीको व्यापार द्वन्द्वले सन् २०२१ मा विश्व अर्थतन्त्रले पाँच खर्ब ८५ अर्ब डलर गुमाउने अमेरिकी पत्रिका ब्लुम्बर्गले उल्लेख गरेको छ। यसैकारण अर्को वर्ष चीनको कुल गार्हथ्य उत्पादन १ प्रतिशत कम हुने र अमेरिकी अर्थतन्त्र शून्य दशमलव ६ प्रतिशत खस्कने आकलन गरिएको छ। समाचार एजेन्सी रोयटर्सले यो वर्ष विश्वमा चार हजार चीन सय ७० टन सुन खपत हुने प्रक्षेपण गरेको छ।

यस वर्ष विश्वमा चार हजार चीन सय ७० टन सुन खपत हुने प्रक्षेपण गरिएको छ। यो सन् २०१५ यताकै उच्च हो।

यो सन् २०१५ यताकै उच्च हो। सन् २०१८ मा विश्वमा चार हजार तीन सय ६४ टन सुन खपत भएको रोयटर्सले लेखेको छ। विश्लेषकले प्रतिऔंश सुनको मूल्य १५ सय अमेरिकी डलरभन्दा तल आउन कठिनपर्ने भनिरहेका छन्। अहिले पनि सुनको मूल्य १५ सय डलरको हाराहारीमै छ। अर्कातिर भारतको राजनीतिक समस्याले अमेरिकी मुद्रासँगको भारतीय रुपयेको विनिमयदर खस्किरहँदा नेपाली बजारमा सुनको भाउ अझै माथिजाने देखिन्छ।

इरान र उत्तरकोरियासँग अमेरिकी सम्बन्धमा देखिएको समस्याले मात्र होइन, हङकङ, लिबिया र अरबी मुलुकमा बढ्दो राजनीतिक तनाव तथा भारतको जम्मुकाश्मिरको अनिश्चितताले समेत नेपाली बजारमा सुनको भाउ बढाउन योगदान गरेको छ। यसैकारण चार महिनाअघि प्रतितोला ५९ हजारमा पाइने सुन अहिले ७१ हजार नाघेको छ। यही अवधिमा अमेरिकी डलरको भाउसमेत चार रुपैयाँ महँगिएको छ। यसले सुन र पेट्रोलियम पदार्थको समेत मूल्य बढाउन योगदान गर्छ।

सुन महँगिँदा उपभोक्ता मात्र हैन सरकारलाई पनि यसले हानि पुग्छ। ‘हामीले आफ्नो विदेशी विनिमय सञ्चितिको तीन चौथाइ हिस्सा अमेरिकी ऋणपत्रमा लगानी गरेका छौं’, राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख एवम् कार्यकारी निर्देशक डा गुणाकर भट्ट भन्छन्, ‘सुनको भाउ महँगिँदा अमेरिकी ऋणपत्रको प्रतिफल घट्छ। यसका कारण हामीले पाउने प्रतिफल पनि घट्नेछ।’ अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले गत महिना नै शून्य दशमलव २५ प्रतिशत ब्याजदर घटाइसकेको छ। अझै पनि अमेरिकी ऋणपत्रको ब्याजदर घट्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन्।

यससँगै चीन, जर्मनीलगायत प्रमुख अर्थतन्त्रमा समेत केन्द्रीय बैंकले खुकुलो मौद्रिक नीति अंगिकार गर्न थालेका छन्। यसले अरु मुद्रामा गरेको लगानीको प्रतिफलसमेत घट्ने सम्भावना रहेको भट्ट बताउँछन्। पछिल्लो समय आएका केही आर्थिक प्रक्षेपणले विश्व अर्थतन्त्र सन् २०२१ पछि मन्दीमा जाने संकेत गरेका छन्। यसले कच्चा तेलको खपतमा कमी आउने र त्यसको असर वदेशी विनिमय सञ्चितिमा समेत भोग्नुपर्ने कार्यकारी निर्देशक भट्ट बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.