सुशासन हाम्रो प्रतिबद्धता

सुशासन हाम्रो प्रतिबद्धता

नक्सा पास प्रक्रिया, भवन निर्माण मापदण्ड, योजना फर्स्योट, खरिद ऐन, भ्याट, प्यानलगायत विषयमा सर्वसाधारण जनताले सजिलै बुझ्न सक्ने गरी योजना ल्याउन जरुरी ठान्छन् बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेल। जनप्रतिनिधिसमेत यस्ता योजनामा अल्झिनुपरेको छ। उनले विकासका आधारभूत घोषित कार्यक्रम पूरा गरिछाड्ने प्रतिबद्धता जनाएका छन्। यसै सन्दर्भमा नगरप्रमुख खरेलसँग अन्नपूर्णकर्मी चिरञ्जीवी ढुंगानाले गरेको कुराकानी :

तपाईं मेयरमा निर्वाचित भएपछि के–कस्ता विकास निर्माण गर्नुभयो र त्यसप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

संविधानबमोजिम तीन तहका सरकारको निर्वाचन सम्पन्न भयो। बूढानीलकण्ठ नगरपालिकाका एक लाख सात हजार नौ सय १८ जनाको बढ्दो माग र आकांक्षा पूरा गराउने प्रतिबद्धतातर्फ अगाडि बढ्यौं। हामीलाई प्राप्त अधिकारअनुसार पाँचवटा कुरामा प्रतिबद्धता जाहेर गरेका थियौं। त्यसमा सुशासन, पूर्वाधार निर्माण, सामाजिक विकास, आर्थिक विकासका योजना र नगरको वातावरणीय एवं फोहोर मैला व्यवस्थापन परेका छन्। दुई वर्षको समयमा हामीले विभिन्न चुनौती सामना गर्नुपर्‍यो। प्राथमिकतासाथ बजेट विनियोजन गर्‍यौं। कमजोर कर्मचारी संयन्त्रको दक्षता र क्षमतालाई सुधार्दै अगाडि बढ्यौं।

यस वर्षदेखि घोषित योजनासाथ समृद्धिको यात्राको गियर अघि बढाउँदै छौं। यसबाटै पाँचबुँदे घोषणापत्रको उद्देश्यमा छिटोभन्दा छिटो पुग्न सकिन्छ। तीन वर्षभित्र हाम्रो स्रोत–साधन र क्षमतामा विकासका आधारभूत घोषित कार्यक्रम पूरा गर्न सक्छौं।

समृद्धिको आधार केलाई मान्नुहुन्छ, स्पष्ट पारिदिनुहुन्छ कि ?       

 संविधानबमोजिम सात सय ५३ वटा सरकारका सफल योजना र कार्यान्वयन नै नेपालको आर्थिक विकास हो। संविधानले तोकिएको अधिकार, निकाय, न्यायोचित र व्यवस्थित विकास एउटा पाटो हो भने आर्थिक विकासबाट प्राप्त खुसी नै समृद्धि हो। भूगोलको यथोचित विकासमा जनसहभागितासाथ घोषित पाँचबँुदे घोषणा कार्यान्वयन गर्दै जनतामा खुसी ल्याउने कार्य हामीसामु छ। जनतालाई दिनुपर्ने दैनिक सेवा प्रवाहको सुविधा र प्रशासनिक कार्यका साथै उजुरी र गुनासोलाई सम्बोधन हुनेगरी व्यवस्थित रूपमा न्याय सम्पादन अगाडि बढाएका छौं। समृद्धि र खुसीलाई एकसाथ लैजाने हाम्रो लक्ष्य छ।

विकास निर्माणमा कस्ता चुनौती सामना गर्नुपर्‍यो ?       

अहिले विश्वमै टेक्नोलोजीले विकास निर्माणमा प्रभाव पारेको छ। त्यसको असर हामीकहाँ पनि छ। नेपालीले विकास र प्रविधिलाई नियालिरहेका छन्। घरमै बसेर सबै जानकारी पाइरहेका मानिसले त्यसैअनुसार धारणा बनाउँछन्। त्यहीअनुसार अपेक्षा गर्नु स्वाभाविकै हो। हाम्रो देशको स्रोत–साधन, भौगोलिक अवस्था, चेतनास्तर र अपेक्षाबीच तालमेल गराउन गाह्रो छ। जनताको अपेक्षा धेरै र एकदमै नयाँ छन्। त्यसलाई स्रोत–साधन र क्षमताले भ्याएसम्म पूरा गर्छाैं। परिवर्तन रातारात सम्भव छैन, समय लाग्छ। पूर्वाधारसहितको आर्थिक विकास नै यहाँको महत्वपूर्ण चुनौती हो। हाम्रो क्षेत्रमा रहेका सार्वजनिक जग्गा संरक्षण, सहरी जीवनयापन, आधारभूत आवश्यकतालगायत व्यवस्थापन गर्ने चुनौती हामीसामु छ। सुशासन प्राप्ति मानिसको चेतना र व्यवहारमा भर पर्छ। सबैमा आचरण र नैतिकताको ख्याल भए मात्र सुख सम्भव छ।

निर्वाचनका बेला गरिएका प्रतिबद्धता कति कार्यान्वयन भए ?       

१२/१५ दिनको बीचमा जनताका घरदैलोमा जान नसके पनि हाम्रो संगठन गयो। संगठनले जनताबीच गरेका प्रतिबद्धता नै हाम्रो प्रतिबद्धता हो। यसलाई ध्यान दिँदै योजना कार्यान्वयन गर्दै छौं। प्रतिबद्धता नजनाई जनतासामु आफ्नो कुरा राख्न सकिँदैन। सबै प्रतिबद्धता दुई वर्षमै पूरा हुन सम्भव हुँदैन। आगामी तीन वर्षभित्र प्रतिबद्धता पूरा गरिसक्ने अठोट गरेका छौं।

तपाईंको यो दुईवर्षे कार्यकालमा सम्झनलायक के–कस्ता उपलब्धि भए ?

 पिउने पानी, सडक, पार्कलगायत पूर्वाधार विकास निर्माणमा सहयोगी भूमिका निभाउँदै छौं। नेपाल सरकारले लगाएका ठेक्का तीन वर्षभित्र सम्पन्न गरे पूरै सडक निर्माण गर्न सक्छौं। पक्की सडक बनाउने हाम्रो प्रतिबद्धता चाँडै पूरा हुँदै छन्। जनतासँगको सहकार्य र साझेदारीबाट विकास निर्माण सम्भव छ। सुशासन हाम्रो प्रतिबद्धता हो। नगरपालिकाको बजेटले मात्र विकास निर्माणका सबै काम पूरा गर्न नसकिने हुँदा केन्द्र र प्रदेश सरकारको मुख ताक्नुपरेको छ। नगरपालिकाको योजना त करिब डेढ दुई वर्षमा सम्पन्न गर्छौं तर हाम्रो वार्षिक बजेट केन्द्रको एउटै योजना बराबरको हुन्छ। दुई वर्षका लागि गरिएको ठेक्का चार वर्ष लाग्ने बेथिति अन्त्य गर्न सके विकास निर्माणले फड्को मार्छ।

विकासका क्रममा जनता र नगरपालिकाबीच देखापरेका समस्या के छन् ?       

नक्सा पासका प्रक्रिया, भवन निर्माणको मापदण्ड, योजना फस्र्याेट, खरिद ऐन, भ्याट, प्यानका कुरा जनताले सहज तरिकाले बुझ्न सकेका छैनन्। जनता र जनप्रतिनिधि यस्ता काममा अल्झिएका छन्। यस्तो समस्या समाधान गरी नगरपालिकाको पारदर्शिताबारे सन्देश दिनेछौं। जनप्रतिनिधि पनि सिक्ने क्रममा रहेकाले उनीहरू जनमैत्री हुन जरुरी छ। हामी संघ र प्रदेशले के गर्दै छ, जनता के चाहन्छन् भन्ने विषयमा गम्भीर भएर लागेका छौं।

असोजभित्र आफ्नै भवनमा सर्दै छौं। भवन २५ रोपनी क्षेत्रफलमा करिब १२ करोड रुपैयाँ लागतमा तयार भएको हो। यसलाई अझै १२ करोड खर्च गरी प्रविधिमैत्री बनाउनेछौं।

जनताको चाहनाअनुसार के–कस्ता योजना अगाडि बढाउँदै हुनुहुन्छ ?       

जनता भनेको अमूर्त कुरा रहेछ। बाटो नभएको ठाउँमा बाटो, बाटोपछि पानी चाहियो त्यसपछि पार्क। यी सबै कुरा भएपछि अत्याधुनिक प्रविधिसहितको सुविधा चाहियो। सुशासन जनताको सबैभन्दा ठूलो माग हो। यहाँ विविध जाति, भाषाभाषी, धर्म सम्प्रदायको बसोवास भएकाले सोहीअनुसार सेवा, सुविधा माग हुनु स्वाभाविकै हो। भूगोल, साधन र स्रोतले भ्याएसम्म जनताको चाहनाअनुसार पूर्वाधार निर्माणमा हाम्रो विशेष जोड छ।

बूढानीलकण्ठलाई धार्मिक र सांस्कृतिक तीर्थस्थलका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन भए/गरेका कार्य के छन् ?       

 बूढानीलकण्ठको विकासका लागि नेपाल सरकारको तर्फबाट नगन्य योजना मास्टर प्लानमा सीमित छन्। संस्कृति मन्त्रालयले बूढानीलकण्ठ क्षेत्र विकास गठन गरी त्यसैमार्फत काम गर्ने भन्दै आदेश जारी गर्‍यो। त्यसले २० वर्षसम्म कुनै ठोस योजना ल्याएन। ७/८ महिनायता त्यसलाई स्थानीय स्तरमा हस्तान्तरण गरिएको छ भन्दै दुई लाइनको पत्र पठायो। हलेसी महादेव, मनकामना माईलाई केन्द्रीय सरकारले जसरी चासो दिएको छ त्यसरी नै बूढानीलकण्ठलाई समावेश गरिनुपर्छ।

११ रोपनी जमिनमा रहेको यो तीर्थस्थल कुनै हुने खानेको घर कम्पाउन्डभन्दा ठूलो छैन। यसलाई दिगो विकासका रूपमा लैजान विस्तृत आयोजनासाथ अघि बढाउने उद्देश्यमा नगरपालिका छ। यसको बृहत्तर विकासका लागि नगरपालिकाले ५० लाख र प्रदेशले ५० लाख विनियोजन गरेको छ। विस्तृत योजनासाथ बूढानीलकण्ठ विकास आयोजना अगाडि बढे नगरपालिकाले पर्याप्त बजेट जुटाउनेछ।

उपत्यकाका १८ स्थानीय निकायबीचको समन्वय र सहकार्य कसरी अघि बढ्दै छ ?       

 १८ वटै नगरपालिकाले उपत्यका नगरपालिका फोरम गठन गरिसकेका छन्। उपत्यकाको पर्यटकीय क्षेत्रको विकास, खानेपानी, ट्राफिक व्यवस्थापन, आउट अफ रिङरोड, फोहोर मैला व्यवस्थापन र प्रदूषण नियन्त्रणमा संयुक्त काम गर्ने भन्दै घोषणापत्र जारी गरिसकिएको छ। यसका लागि १८ वटै नगरले संयुक्त रूपमा काम गर्नुपर्छ। यसबाट उपत्यका संसारकै सुन्दर एवं रमणीय मेट्रो सिटी बन्न सक्छ।

यहाँको कार्यकालमा प्रतिपक्षीको कस्तो सहयोग अपेक्षा गर्नुभएको छ ?       

 बूढानीलकण्ठ नगपरपालिकामा सत्ता र प्रतिपक्षी नभएर सहयोगी पक्ष मात्र छन्। म स्वयं र मेरो नेतृत्वमा रहेका अधिकांश साथीको विधि र व्यवहार पनि प्रतिपक्ष जन्माउने खालको छैन। मेरो नेतृत्वमा रहेको नगरपालिकामा प्रतिपक्षी दल, नागरिक समाज, पेसागत संघसंस्थालगायत आमजनताको सहयोग र समर्थन एकसाथ पाएको छु। उहाँहरूको एउटै माग र नारा बूढानीलकण्ठको अभूतपूर्व विकास र निर्माण हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.