गतिलो तयारी र उच्च मनोबल

गतिलो तयारी र उच्च मनोबल

काठमाडौं : नेपाललाई अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगितामा सफलता दिलाउने खेल हो, भारोत्तोलन। दक्षिण एसियाली खेलकुद (सगा) मा पनि भारोत्तोलन खेलमा नेपालले सम्मानजनक नतिजा निकाल्दै आएको छ। सागमा पुरुषतर्फ पहिलो संस्करणदेखि नै भारोत्तोलन खेल समावेश भएको थियो।

सागमा महिला भारोत्तोलनको स्पर्धा भने भारतको गुवाहाटीमा सन् २०१६ मा भएको १२औं सागबाट समावेश गरिएको थियो। नेपालमा आगामी डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने १३औं सागमा पनि भारोत्तोलन खेलको पुरुष र महिला दुवै स्पर्धा समावेश छ। घरेलु मैदानमा २० वर्षपछि आयोजना हुन लागेको सागमा उत्कृष्ट नतिजा ल्याउन नेपाली भारोत्तोलन टोली कस्सिएर लागि परेको छ।

नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता २१ जना खेलाडी अढाई महिनादेखि सागमा लागि तयारी गरिरहेका छन्। नेपाल भारोत्तोलन संघले साउनको दोस्रो सातादेखि आठौं खेलकुदमा रजत जितेका खेलाडीलाई समेत प्रशिक्षणमा समावेश गरेर तयारी सुचारु राखेको छ।

नेपाली खेलाडीलाई मुख्य प्रशिक्षक राम पौडेलको टोलीले प्रशिक्षण दिइरहेको छ। खेलाडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा रहेको भारोत्तोलन प्रशिक्षण केन्द्रमा दैनिक १ बजेदेखि दिउँसो ४ बजेसम्म तयारी गरिहरेका छन्। ‘आठौंमा दोस्रो भएका खेलाडीलाई पनि समावेश गरेर प्रशिक्षण क्याम्पमा राखेका छौं। राखेपको स्वीकृतिमा २१ बाट ४० खेलाडी बनाएर अभ्यास गराउन लागेका हौं। अन्तिममा पुरुष र महिलामा १०÷१० खेलाडीको छनोट हुनेछ,’ मुख्य प्रशिक्षक पौडेलले भने।

फाइनल सेलेक्सनका परेका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजाने या नेपालमै विदेशी प्रशिक्षण झिकाएर तयारी गर्ने भन्ने कुरा पछि तय हुने जानकारी पनि पौडेलले दिए। नेपाली टोलीलाई अहिले प्रशिक्षक पौडेलसहित विकास शाक्य, दिनेश भुजेल, सकिल हलुवाई र सञ्जय महर्जनले प्रशिक्षण दिएका छन्।

खेलाडीको तयारी विगतको तुलनामा राम्रो भएको पनि प्रशिक्षक पौडेलले बताए। ‘यसपटकको साग टोलीमा पुराना र युवा खेलाडीको मि श्रण छ। नयाँ खेलाडीले पनि राम्रो गरिरहेका छन्। भारोत्तोलन अन्य खेलभन्दा फरक रहेकोले प्रशिक्षणमा रहेका खेलाडीलाई राखेपबाट थप डाइटको व्यवस्था गर्ने प्रयास भइरहेको छ,’ प्रशिक्षक पौडेलले भने।

पौडेलका अनुसार सागमा भारोत्तोलनको मुख्य पावर हाउस भनेको भारत हो। पछिल्लो समय पाकिस्तान र श्रीलंकाले पनि राम्रो गरिरहेका छन्। नेपालले पनि सबै तौलमा स्वर्णको दाबी गर्न सक्छ। पावरसँगै टेक्निकको खेल भएकोले कहिलेकाहीँ तलमाथि हुनु स्वाभाविक हो। नेपालले सकभर सबै तौलमा स्वर्णकै लागि प्रयास गर्ने पनि पौडेलले बताए।

सागमा भारोत्तोलनमा कुल २० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। जसमध्ये पुरुषतर्फ ५५, ६१, ६७, ७४, ८१, ८९, ९६, १०२, १०९ र १०९ केजी माथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। महिलामा ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७ र ८७ केजी माथि तौलमा प्रतिस्पर्धा हुनेछ।

उत्तारार्धमा कमल र तारा

नेपाली भारोत्तोलनमा सर्वाधिक सफल खेलाडी हुन्, कमलबहादुर अधिकारी र तारादेवी पुन। कमल उमेरका हिसाबले पाका भइसके। तर ४३ वर्षीय उनको जोस रत्तिाभर घटेको छैन। नेपाललाई सागमा पहिलो स्वर्णधारी कमल यस पटक घरमै आयोजना हुने सागमा स्वर्ण दोहोर्‍याउने लक्ष्यमा छन्।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्टार कमलको मुख्य हतियार मेहनतीपन हो। अभ्यासमा कमलले गरेको मेहनतले यसपटक पनि राम्रो नतिजा ल्याउने विश्वास गरिएको छ। उनले आफ्नो एउटै लक्ष्य स्वर्ण रहेकोले सोहीअनुसारको तयारी गरिरहेको बताए। ‘कमलको उमेर बढ्दो छ। तर पनि उनले विगतमा भन्दा राम्रो प्रदर्शन गरिरहेका छन्। कमलले अहिले स्न्याचमा एक सय २५ र क्लिन एन्ड जर्कमा एक सय ६३ केजी भार उचालिरहेका छन्। कमलले यसपटक पनि पक्नै राम्रो गर्नेछन्,’ प्रशिक्षक पौडेलले भने। खेल जीवनको उत्तरार्धमा आइपुगेका कमलले १०औं सागमा नेपाललाई स्वर्ण दिलाएका थिए।

उमेरकै हिसाबले तारादेवी पुनको पनि भारोत्तोलन खेलबाट बिदा लिने बेला भएको छ। तर उनको जोस दिनप्रतिदिन बढ्दो छ। चौथो राष्ट्रिय प्रतियोगितादेखि आठौं राष्ट्रिय प्रतियोगितासम्म लगातार स्वर्ण जित्दै आएकी ताराले अहिलेसम्म दोस्रो हुनु परेको छैन। १९ वर्षको उमेरदेखि भारोत्तोलन खेल्न थालेकी तारा नेपालमै हुन लागेको सागलाई यादगर बनाउन चाहन्छिन्।

जतिबेला ताराको उमेर र जोस थियो। त्यतिबेला सागमा महिला भारोत्तोलन समावेश थिएन। १२औं सागमा महिला स्पर्धा पनि समावेश गरिए पछि ताराको खुसी चुलिएको थियो। उनले पहिलो सहभागितामै कांस्य जितिन्। उमेरले ३८ वर्ष पुगेकी तारा अहिले पनि नेपालको ‘स्ट्रङेस्ट्र महिला खेलाडी’ हुन्। हालै सम्पन्न तेस्रो ओलम्पियन सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा उनी ‘स्ट्रङेस्ट्र खेलाडी’ भइन्।

नेपाल पुलिस क्लबकी ताराले क्लिन एन्ड जर्कमा राष्ट्रिय कीर्तिमान समेत बनाइन्। उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ नयाँ कीर्तिमान बनाएकी हुन्। सिनियर ७६ केजी तौलमा खेलेकी पुनले स्नाचमा ७२ र कुलमा एक ७० केजी भार उचाल्दै स्वर्ण जितिन्।

‘सागका लागि राम्रो तयारी गरेको छु। सहभागी सबैको लक्ष्य स्वर्ण नै हुन्छ। तर पनि नेपालमै हुन लागेको साग मेरा लागि निकै महत्वपूर्ण छ। मेडलमा परिवर्तन गर्ने सोच राखेको छु,’ ताराले भनिन्। खेल जीवनको उत्तरार्धमै आइपुगेकी ताराले सागलाई स्मरणीय बनाउँदै नयाँ खेलाडीलाई हौसला दिने सोच बनाएकी छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.