इन्जिनियरिङमा कति छ सम्भावना?
नेपालमा अध्यापन हुने विभिन्न विधामध्ये सम्भावनाले भरिपूर्ण, विषय हो इन्जिनियरिङ। नेपाल विकास उन्मुख राष्ट्र भएकाले पनि इन्जिनियरको महत्व ज्यादै छ। मुलुकको समृद्धिको खाका इन्जिनियरले नै तयार गर्ने हो। योजना आयोगका सदस्य इ.सुशील भट्टका अनुसार मुलुक पुनर्निर्माण तथा पूर्वाधार विकासतर्फ अग्रसर भएकाले धेरैभन्दा धेरै इन्जिनियरको आवश्यक पर्छ।
‘अहिले ठ्याक्कै यति संख्यामा इन्जिनियर आवश्यक पर्छ भन्न सकिँदैन। पूर्वाधार विकासका लागि इन्जिनियरिङको विभिन्न विधा महत्वपूर्ण छ। यसका लागि दक्ष, अर्ध दक्ष र गैरदक्ष गरी इन्जिनियरको वर्गीकरण गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार यसका लागि आयोगले तयारी गरिरहेको छ। कान्तिपुर इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशीका अनुसार मुलुकमा राजनीतिक परिवर्तनसँगै इन्जिनियरको माग बढ्दो क्रममा छ।
इन्जिनियरिङका विभिन्न विधामध्येमा सिभिल र आर्किटेक्चर इन्जिनियरिङको माग उच्च छ। सडक, स्मार्ट सहर, जलविद्युत्, फुटबल तथा क्रिकेट स्टेडियम, सिँचाइलगायतका आयोजनामा मुलुकमा सञ्चालन हुने क्रममा छ। यी आयोजना सम्पन्न गर्नका लागि अधिकतम सिभिल र आर्किटेक्चर इन्जिनियरको आवश्यक छ।
मुलुक औद्योगिकीकरणको क्रममा छ। यसका लागि सरकार पनि सकारात्मक छ। विदेशी लगानी भित्र्याउनका लागि सरकारले २०७५ चैतमा लगानी सम्मेलन आयोजना गरेको छ। सरकार र निजी क्षेत्रले विदेशीलाई आकर्षित गर्नका लागि करिब ३४ खर्ब रुपैयाँ बराबरको आयोजनामा प्रस्ताव माग गरिएको थियो।
हिलसाइड इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक गोपीकृष्ण न्यौपानेका अनुसार विकासोन्मुख राष्ट्रमा इन्जिनियरको माग धेरै हुने बताउँछन्। ‘हामी विकासको चरणमा प्रवेश नै गरेका छैनौं। अहिलेको माग भनेको सडक र पूर्वाधार हो,’ न्यौपानेले भने, ‘यी विकासका प्रारम्भिक सूचक हुन्।’ इन्जिनियरिङका हेरक विधा सम्भावनाले भरिपूर्ण भएको उनको दाबी छ।
इन्जिनियरिङमा उद्यमशीलता र रोजगारीको प्रचुर सम्भावना भएको यातायात इन्जिनियर आशिष गजुरेल बताउँछन्। प्राविधिक शिक्षा भएकाले पनि यस क्षेत्रसम्बन्धी जनशक्तिको माग बढ्दो छ। इन्जिनियरिङ प्राचीन इतिहास विज्ञान हो। भवन, सहर, कुलो, जलविद्युत्, सूचना प्रविधि, ट्राफिक व्यवस्थापनका लागि इन्जिनियरिङको आवश्यकता पर्छ। उनी भन्छन्, ‘सरकारले कोटै तोकेर इन्जिनियर माग गरिरहेको छ। स्थानीय तहमा इन्जिनियर पुग्न सकेका छैनन्। इन्जिनियरले रोजगारी पनि सिर्जना गर्छ।’
लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलानका अनुसार सूचना प्रविधिको क्षेत्रको नेपालमा मात्र नभई विश्वमै सम्भावना भएको क्षेत्र हो। अमेरिकी सरकारले गरेको एक अध्ययनअनुसार सन् २०२० भित्रमा सूचना प्रविधिको क्षेत्रले रोजगारीको ७३ प्रतिशत हिस्सा ओगट्ने छ। ‘सूचना प्रविधि भनेको प्राविधिक विषय हो। शैक्षिक प्रमाणपत्रको भरमा मात्र मानिस सूचना प्रविधिको इन्जिनियर बन्न सक्दैन,’ जलानले भने, ‘प्रविधि हरेक मिनेटमा परिवर्तन भइरहेका हुन्छन्।
कटिबद्ध भए नयाँ विषयको अध्ययन गर्नुपर्छ।’ विद्यार्थीले कलेज छान्दा नयाँ तथा खोजमूलक अध्यापन गराउने क्याम्पस तथा विश्वविद्यालय रोज्नुपर्छ। सूचना प्रविधिमा अध्ययन गर्नेले रोजगारी नपाउने समस्या नहुने उनको दाबी छ। साथै स्वरोजगार पनि बन्न सकिन्छ। विश्वका शीर्ष धनी व्यक्ति सूचना प्रविधिका माध्यमबाट भएका हुन्।
सूचना प्रविधिको क्षेत्रमा काम गर्ने सिर्जनशील व्यक्ति एकै रातमा अर्बांैको मालिक पनि बन्न सक्छन्। अहिले धेरै काम कम्प्युटरको सहयोगबाट हुन्छन्। मानिसले एक क्लिकको भरमा विश्व बजारमा उत्पादन भएका वस्तु खरिद गर्नुका साथै ती वस्तुका बारेमा जानकारी हासिल गर्न सक्छन्। यी सबै सूचना प्रविधिले सम्भव बनाएको हो।
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनका इ. सागर भट्टराई मुलुकलाई विकासोन्मुख राष्ट्रबाट विकसिल राष्ट्रतर्फ अघि बढाउन इन्जिनियरिङको भूमिका महत्वपूर्ण हुने बताउँछन्। भेरी–बबई डाइभर्सनले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिन बाह्रै महिना सिँचाइ हुनुका साथै ४८ मेगावट विद्युत् उत्पादन हुन्छन्।
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ अध्ययन गरेका भट्टराई विगत चार वर्षदेखि सरकारी सेवामा छन्। यसअघि पोखरा सिँचाइ डिभिजनमा बसेका उनी एक वर्षदेखि भेरी–बबईमा आयोजनामा छन्। ‘मुलुक पूर्वाधार विकासको क्रममा छ।
पूर्वाधार विकासको क्षेत्रमा धेरै काम गर्न बाँकी छ। यसका लागि पर्याप्त मात्रमा इन्जिनियरिङ उत्पादन हुन सकेका छैन।’ रोजगारीको प्रचुर सम्भावनाका बाबजुद इन्जिनियरहरू विदेश पलायन हुने गरेका छन्। ती इन्जिनियरलाई रोकेर राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
इन्जिनियरिङका धेरै विधा छन्। सबै विधाको आफ्नो क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यस्तै मेकानिकल इन्जिनियरिङ औद्योगिकीकरणको मेरुदण्ड मानिन्छ। उद्योग, कलकारखानामा आवश्यक पर्ने ठूलाठूला मेसिनको निर्माणदेखि सवारीसाधनको निर्माणमा पनि यो इन्जिनियरिङ आवश्यक पर्छ।
अटोमोबाइल इन्जिनियरिङ नेपालमा नयाँ विषय हो। नेपालमा अटोमोबाइलको संख्या बढिरहेको तर यसमा काम गर्ने दक्ष जनशक्तिको अभाव छ। नेपालमा सवारीसाधन उत्पादन हुँदैन। चर्चित बजाज मोटरसाइकल एसेम्बलिङ सुरु भइसकेको छ। नेपालको लागि हुन्डाई मोर्टस्को आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गाडी उत्पादन गर्ने भन्दै कम्पनी दर्ता गरिरहेको छ।
दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले प्लान्ट खोल्नका लागि लगानी बोर्डमा प्रस्ताव पेस गरेको छ। यसले पनि यो क्षेत्र सम्भावनाले भरिपूर्ण भएको देखाउँछ। अहिले नेपालमा सवारी बिक्री सवारी गरिरहेका कम्पनीमा मागअनुसारको अटोमोबाइल इन्जिनियर प्राप्त गर्न सकेका छैनन्। यी कम्पनीले विदेशीबाट इन्जिनियर लिएर काम गरिरहेका छन्।
औषधि उपचारमा आवश्यक उपकरणको निर्माण तथा मर्मत एवं मेडिकल क्षेत्रमा आवश्यक अन्य सामग्रीको नेपालमा बायोमेडिकल इन्जिनियरिङको अध्ययन क्षेत्र हो। अस्पतालमा प्रयोग गरिने ईसीजी, एक्सरेजस्ता उपकरणहरूको निर्माण पनि यही इन्जिनियरिङले गर्छ। शरीरको एक भागको टिस्यु (तन्तु) विकास गरेर अर्को भागमा जोड्ने कामका लागि यही इन्जिनियरिङको आवश्यकता पर्छ। विषय अध्ययन गर्ने विद्यार्थी बेरोजगार बस्नुपर्ने छैन।
यीबाहेक सर्भे इन्जिनियरिङ र एग्री इन्जिनियरिङ पनि आकर्षणका विषय बन्दैछन्। सर्भे इन्जिनियरिङ भूमिको नापजाँचसँग सम्बन्धित छ भने एग्री इन्जिनियरिङले कृषि उपकरणको निर्माण र मर्मतबारे ज्ञान दिन्छ।
५३ हजार इन्जिनियर
नेपालमा ५३ हजारभन्दा धेरै इन्जिनियर विभिन्न विधामा नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता छन्। नेपालमा ५१ वटा कलेजले इन्जिनियरिङको अध्ययपन गर्ने गराइरहेका छन्। वार्षिक नौ हजारको हाराहारीमा इन्जिनियर उत्पादन भइरहेका छन्। इन्जिनियरिङ परिषद्मा दर्ता गरे इन्जिनियरिङ गर्न पाइने व्यवस्था छ।
मेडिकल काउन्सिल जस्तै प्रमाणपत्रका लागि परीक्षा लिने तयारी गरेको नेपाल इन्जिनियर परिषदका अध्यक्ष इ. डिल्लीरमण निरौला बताउँछन्। यसका लागि नेपाल इन्जिनियर परिषद् ऐन २०५५ पहिलो पटक संशोधन हुँदैन। नेपाल इन्जिनियरिङ (पहिलो संशोधन) विधेयक, २०७६ राष्ट्रिय सभामा पेस गरिएको छ। विधेयकमा नेपालमा इन्जिनियरिङसम्बन्धी कार्य गर्नका लागि परिषद्को परीक्षा अनिवार्य रूपमा पास गर्नुपर्ने व्यवस्था राखिएको छ।
हालको व्यवस्थाअनुसार शैक्षिण प्रमाणपत्रका आधारमा परिषद्मा दर्ता इन्जिनियङिसम्बन्धी गतिविधि सञ्चालन गर्न पाउने प्रावधान छ। संख्यात्मकभन्दा पनि गुणात्मक इन्जिनियर उत्पादन गर्न ऐन संशोधन गर्न लागिएको निरौलाले बताए।
नेपालबाट अध्ययन गर्नका लागि वार्षिक ६० हजारभन्दा धेरै विद्यार्थी विदेश जाने गरेका छन्। यसले राज्यको वार्षिक ४५ अर्ब रुपैयाँ बाहिरिरहेको छ। यसलाई रोक्नका लागि परिषद्ले विदेशमा इन्जिनियरिङ अध्ययन गर्न जाने विद्यार्थीलाई विश्वविद्यालयले लिने परीक्षा पनि अनिवार्य गर्न खोजिएको छ।
उक्त परीक्षा उत्तीर्ण हुने विद्यार्थीले मात्र शिक्षा मन्त्रालयबाट नो अब्जेसन लेटर प्राप्त गर्नेछन्। साथै यस वर्षको अध्ययन सत्रबाट एअरनोटिक र सुरुङ इन्जिनियरिङ पनि सुरु गर्न लागिएको छ। पछिल्लो समय नेपालमा सडक सुरुङ निर्माणको क्रममा छ।