बेहुली बनाएर चीनमा मानवतस्करी
काठमाडौं : नेपाली युवतीलाई बिहे गरी चीनमा तस्करी गर्ने संगठित गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। चिनियाँ नागरिकसँग विवाह गर्न काठमाडौं जिल्ला अदालतले समेत स्वीकृति दिएको भेटिएको छ।
नेपाली र चिनियाँ दलालले ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका युवतीलाई पैसा दिएर विवाह गरी चीनमा तस्करी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एक युवती विवाह गरेबापत काठमाडौंमा रहेका चिनियाँ दलालले ८० हजार, युवतीका अभिभावकले ५० देखि ६० हजार रुपैयाँसम्म लिएको तथ्य फेला परेको ब्युरो प्रमुख एसएसपी ईश्वरबाबु कार्कीले बताए।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपाली युवती चीनमा तस्करी गर्न खोजेको आरोपमा ६ नेपाली र चार चिनियाँलाई पक्राउ गरेको छ। पक्राउ परेका नेपालीहरूमा सिन्धुपाल्चोक हेलम्बुकी रिना तामाङ भन्ने बिबिरानी तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेसीसहरकी अमृता तामाङ, सोही ठाउँका भरत तामाङ र उषा कुमारी घिमिरे छन्। त्यस्तै चिनियाँ नागरिकहरूमा चीन हुवईका जिङ झियाङ डोङ, ज्याङ डोङ हुई, क्वान झ्याङ पेङ र क्विन लियाङ छन्।
पक्राउ परेकाहरू भदौ महिनामा विभिन्न स्थानबाट पक्राउ परेका हुन्। उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको छ। घटनाको थप अनुसन्धान कार्य जारी रहेको छ।
'१० जना मिलेर पाँच नेपाली युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरेर चीनतर्फ तस्करी गर्न खोजेको देखिएको छ', शुक्रबार बबरमहलस्थित ब्युरो कार्यालयमा भएको पत्रकार सम्मेलनमा एसएसपी कार्कीले भने।
प्रहरीले सूचनाकै आधारमा चीनतर्फ लैजाने क्रममा लमजुङ सीमपानीकी सोनी गुरुङ, कविता गुरुङ, धादिङ निलकण्ठकी ललिता गुरुङ, कास्की लेखनाथकी शर्मिला परियार, सुनसरी ईनरुवाकी र विन्दा चौधरीलाई उद्धार गरेको छ।
प्रतिक्रिया दिनुहोस !