एनआरएनको नेतृत्व बेलायतलाई दिनुपर्छ

एनआरएनको नेतृत्व बेलायतलाई दिनुपर्छ

पुख्र्यौली थातथलो पश्चिम नेपालको पर्वतबाट दुई दशकअघि बेलायत पुगेका कुल आचार्य गैरआवासीय नेपाली संघ (एनआरएन) का उपाध्यक्ष हुन् । गैरआवासीय नेपाली आन्दोलनको सुरुवातदेखि नै सक्रिय भएका आचार्यले एनआरएनए (राष्ट्रिय समन्वय परिषद्) बेलायतको सदस्य, उपाध्यक्ष, अध्यक्ष, त्यसपछि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै उपाध्यक्षको भूमिकामा पुगेका हुन् आचार्य । उनले आगामी कार्यकालका लागि संस्थाको नेतृत्व लिन आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

काठमाडौंमा असोजको २८ देखि ३० गतेसम्म गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन तथा अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ । आगामी कार्यकालमा अध्यक्ष पदका दाबेदार रहेका आचार्यसँग अन्नपूर्ण पोस्ट्ले गरेको कुराकानी :

 गैरआवासीय नेपाली संघको नेतृत्वका लागि दाबी प्रस्तुत गर्दै गर्दा आफ्नो योगदानलाई कसरी समीक्षा गर्नुहुन्छ ?

बाह्र वर्षअघि गैरआवासीय नेपाली संघ बेलायतको सदस्यबाट गैरआवासीय नेपाली संघमा प्रत्यक्षरूपमा काम गर्न थालेको हुँ । राष्ट्रिय समन्वय परिषद्मा विभिन्न भूमिकामा काम गर्दै अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सदस्य, युरोप क्षेत्रीय संयोजक हुँदै उपाध्यक्ष भएर काम गरिसकेको छु ।

मैले संस्थामा रहेर खेलेको भूमिका गैरआवासीय नेपाली र यससँग चासो राख्ने सबैमाझ जगजाहेर छ । सबैलाई स्वतन्त्र भएर मेरो भूमिकाको समीक्षा गर्न अनुरोध छ ।

एनआरएनए (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को नेतृत्वमा यहाँलाई नै छान्नुपर्ने कारण के हुन् ?

गैरआवासीय नेपालीको सञ्जाल व्यापक भइसकेको छ । ८१ देशमा फैलिएको गैरआवासीय नेपालीको सञ्जाललाई सशक्त बनाउने र नेपालसँग गहिरो सम्बन्ध निर्माणका लागि काम गर्नेछु । विभिन्न देशमा छुट्टाछुट्टै मुद्दा छन् । अमेरिका, अस्ट्रेलिया, युरोपमा गैरआवासीय नेपाली नागरिकताको मुद्दा, सम्पत्तिको अधिकारका विषयमा चासो छ भने खाडी र मलेसियामा वैदेशिक रोजगारका मुद्दा छन् ।

गैरआवासीय नेपाली नागरिकताको प्रसंगमा छुटाउनै नहुने भनेको तिनलाई राहदानी दिने विषयमा हामी वकालत गरिरहेका छौं । खाडी र मलेसिया मात्र होइन, साइप्रस, पोर्चुगललगायतका देशमा वैदेशिक रोजगारका मुद्दा छन् । साइप्रसमा दोहोरो श्रम स्वीकृतिको मुद्दा छ । मध्यपूर्वको वैदेशिक रोजगारलाई व्यवस्थित गर्न अझै धेरै काम गर्नुपर्नेछ । उनीहरूको कल्याणका लागि स्थापना गरिएको कोषलाई विस्तार गरेर उनीहरूका हितमा लगाउनुपर्ने छ । राष्ट्रिय समन्वय परिषद्का सबै अधिवेशन सकिएपछि असोज २८ देखि ३० गतेसम्म काठमाडौंमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को नवौं विश्व सम्मेलन तथा अधिवेशन हुँदै छ ।

विभिन्न राष्ट्रिय समन्वय परिषद्का कार्यक्रममा सहभागी हुँदै गर्दा हरेक ठाउँमा संस्थाका एजेण्डालाई प्राथमिकता दिन आह्वान गरेको छु । हाम्रो संस्थामा संस्थागतभन्दा कहींकतै व्यक्तिका एजेन्डाले प्र श्रय पाएको, व्यक्तिगत स्वार्थमा संस्था उपयोग हुने हो कि भन्ने आशंका गैरआवासीय नेपाली साथीमाझ देखिन्छ । व्यक्तिको स्वार्थभन्दा माथि उठेर हामीले संस्थागत एजेन्डामा काम गर्नुपर्नेछ ।

गैरआवासीय नेपाली संघको अधिवेशनताका चुनावी एजेन्डाका रूपमा वैदेशिक रोजगारका मुद्दाले प्राथमिकता पाउने तर यथार्थमा सम्बोधन नभएको गुनासो छ नि ?

मध्यपूर्वमा पहिलेको तुलनामा ठगी र कानुनी सहायता नपाउने घटनामा कमी आएको छ । नेपालीले नेपालीलाई ठग्ने काम बन्द गर्नुपर्छ भनेर त हामीले अभियानै चलायौं । सरकारसँग समन्वय गरेर मध्यपूर्वका विभिन्न रोजगार गन्तव्यमा काम गर्दागर्दै कानुन नजानेर हिरासतमा रहेकालाई कानुनी उपचार दिनुपर्छ भनेर त्यो व्यवस्था कार्यान्वयनमा आएको छ ।

श्रम स्वीकृति र द्विपक्षीय श्रम सम्झौता अनिवार्य गरेर मात्र कामदार पठाउन सरकारलाई घच्घच्याइरहेका छौं । गैरआवासीय नेपाली संघ एउटा सामाजिक संस्था र हामी पहिलो पुस्ताका गैरआवासीय नेपाली भएका कारणले हाम्रा कतिपय सीमितता छन् । यद्यपि हामीले कार्यान्वयन तहमा बस्नेहरूसँग समन्वय गरेर उहाँहरूलाई सहयोग गरेर, दबाब दिएर हाम्रो सञ्जालका हितमा र देशका हितमा काम गरिरहेका छौं । हामीले सम्बन्धित श्रम गन्तव्यमा श्रम सहचारी र दूतावाससँग समन्वय गरेर काम गरिरहेका छौं ।

नेपालका कूटनीतिक नियोगहरूसँगको समन्वयमा कसरी काम गरिराख्नुभएको छ ।

समन्वय गरेर काम गर्ने सवालमा पहिला केही खाडल थियो । हामीले हात बढाउँदा पनि उहाँहरूबाट हाम्रो सञ्जाललाई उपयोग गरेर काम गर्न सकिन्छ भन्नेमा विश्वास थिएन होला । तर एउटा सत्य के हो भने वर्षौंदेखि त्यही ठाउँमा नागरिकस्तरमा काम गरिरहेका गैरआवासीय नेपालीले जति काम गर्न सक्छन्, चार वर्षका लागि नियुक्त भएर गएको राजदूतबाट हुन सक्दैन । त्यही कारणले पनि हुनसक्छ, पछिल्लो समय उहाँहरू सकारात्मक हुनुहुन्छ ।

अहिले आपसी समन्वयमा काम गर्दा कूटनीतिक नियोगहरू र गैरआवासीय नेपाली संघ दुवैलाई सहज भएको छ । केही समयअघि कतारमा हामीले गर्न लागेको कार्यक्रम अन्तिम समयमा सुरक्षाको कारण देखाउँदै हल लिन समस्या भयो । तर दूतावासले तत्काल हल उपलब्ध गराएकाले हामी कार्यक्रम तोकिएको समयमै गर्न सफल भयौं ।

गैरआवासीय नेपालीको सम्पत्ति अन्य नेपाली नागरिकले सरह उपभोगको अधिकार पाएमा नेपालबाट उनीहरूले सम्पत्ति बाहिर लैजाँदैनन् र यसले नेपालमा उनीहरूको लगानी, पुनर्लगानीमा वृद्धि हुन्छ ।

एकले अर्कासँग समन्वय गर्ने, सहयोग गर्ने चलन अहिले बाक्लै छ । यो सकारात्मक हो । गैरआवासीय नेपाली संघले कुनै पनि देशमा कार्यक्रम गर्दा दूतावासका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ भने हामीले पनि उहाँहरूको लगानी, व्यापार र पर्यटन प्रवद्र्धनका काममा सघाइरहेका छौं ।

 लगानी, व्यापार र पर्यटन प्रवद्र्धनकै कुरा गर्दा गैरआवासीय नेपाली ‘ट्र्याक टु डिप्लोमेसी’ मा त्यति सफल देखिँदैनन्, किन ?

गैरआवासीय नेपालीले ‘ट्र्याक टु डिप्लोमेसी’ मा ठूलो भूमिका खेल्न नसकिरहेको म स्वीकार गर्छु । तर, सरकारले लगानी र व्यापार नीति आकर्षक बनाउनुपर्छ । लगानीकर्तालाई विश्वस्त बनाउन हामीले भूमिका खेल्ने विषय त आफ्नो ठाउँमा छँदै छ । तर, पहिले त देशमा लगानीको वातावरण सुधार हुनुपर्‍यो । व्यापार गर्न, निर्यात बढाउन बजारभन्दा पहिला हामीसँग उत्पादन हुनुपर्‍यो ।

पर्यटन प्रवद्र्धनका लागि प्रमुख पर्यटनका स्रोत भएका देशसँग हवाई सम्पर्क कायम हुनुपर्‍यो । केही समयअघि परराष्ट्र मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपालीले स्वदेशमा अचल सम्पत्ति बेचेर विदेश लगेका विषय पनि उठाएको थिएँ । लगानी सम्मेलनका क्रममा पनि परराष्ट्रमन्त्रीलाई अनुरोध गरेको थिएँ । यो क्रम त रोक्नुपर्‍यो तर कसरी रोक्ने भन्ने सरकारको आर्थिक नीतिमा निर्भर रहन्छ । केही समयअघि म युगान्डा गएको थिएँ । त्यहाँ विमानस्थलमा फर्म पनि भर्नु पर्दैन । पासपोर्ट दिनेबित्तिकै एकैछिनमा अनअराइभल भिसा पाएँ । कतार, मलेसियामा तुरुन्तै भीसा दिएर स्वागत गर्छन्, शुल्क पनि लाग्दैन ।

नेपालमा एउटा जहाजको टिकट लिनुपर्‍यो भने नेपाली र विदेशीलाई लाग्ने शुल्क फरक छ । नेपाल आउन हवाई भाडा महँगो छ । यी पक्षमा विचार गर्नुपर्छ । मानिस किन अचल सम्पत्ति बेचेर विकसित देशमा लगिरहेका छन् त ? जुनसुकै देशले पनि लगानीकर्तालाई स्वागत गर्छन् । उनीहरूलाई सहजीकरण गर्छन्, सम्मान दिन्छन् । हामीले पनि त्यो वातावरण बनाउनुपर्‍यो । नेपाली डायस्पोरालाई आर्थिक विकासमा कसरी उपयोग गर्ने भन्ने सवालमा सरकारको स्पष्ट नीति आवश्यक छ ।

सरकार र गैरआवासीय नेपालीबीचको ‘ब्लेम गेम’ हो कि सरकारसँग डायस्पोराको उपयोग गर्ने सोचको कमी हो ?

गैरआवासीय नेपाली नागरिकताको विषयलाई त संविधानले सम्बोधन गरिसक्यो । अब सम्पत्तिको अधिकारमा हामी किन अल्झनु पर्‍यो ? गैरआवासीय नेपालीले नेपालमा जोडेको चल, अचल सम्पत्ति बिक्री हुँदा त देशभित्रै किनबेच हुने हो । सम्पत्तिको अधिकार तीन पुस्तामा सीमित गर्नुको औचित्य के हो ? म बेलायतमा बस्छु । संसारभरका धनाढ्यले त्यहाँ घरजग्गा जोडेका छन् । नेपालबाटै कति ब्रिटिस गोर्खाले बेलायतमा जग्गाजमिन जोडेका छन् । के बेलायत सरकारलाई कहाँ–कहाँबाट उनीहरूको देशमा अचल सम्पत्ति खरिद गर्न पैसा भित्रिरहेको छ भन्ने थाहा नभएको होला र ? आत्मसात गर्नैपर्ने एउटा सत्य के हो भने हामीले लगानीकर्तालाई स्वागत गर्ने नीति ल्याउन सकेका छैनौं ।

लगानी ल्याउनेदेखि कम्पनी खोल्ने, व्यवसाय सञ्चालन गर्ने सबै ठाउँमा ढिलाइ, प्रक्रियागत उल्झन, द्विअर्थी कानुनमा अहिले कुनै पनि लगानीकर्ता अल्झिराख्न चाहँदैनन् । किनकि, लगानीकर्ताका लागि विश्वभर धेरै विकल्प खुला छन् । मैले मेरै बेलायती साझेदारलाई नेपालमा लगानी गरौं भन्दा उसलाई लगानीको सुरक्षा, प्रतिफल र सरकारी निकायबाट प्राप्त हुने सेवाको चुस्तताबारे विश्वासमा लिनैपर्छ । नत्र उसले अन्यत्रका विकल्प हेर्छ । सोही कुरा पर्यटनमा पनि लागू हुन्छ ।

विदेशी लगानीकर्ता खोज्ने मात्र होइन, गैरआवासीय नेपालीकै पनि ससाना बचतलाई सामूहिक रूपमा लगानी गर्ने अवधारणा कार्यान्वयनमा आएको पनि लामै समय बितिसक्यो । यो अवधारणामा किन काम हुन सकेन ?

गैरआवासीय नेपाली संघका तत्कालीन अध्यक्ष जीवा लामिछानेको कार्यकालमा हामीले सामूहिक लगानीसम्बन्धी अवधारणाको पहिलो कार्यक्रम बेलायतमा भएको थियो । संस्थापक अध्यक्ष उपेन्द्र महतो र तत्कालीन अध्यक्ष जीवा लामिछाने लन्डन आउनुभएको थियो । म राष्ट्रिय समन्वय परिषद् बेलायको अध्यक्ष हुँदा १० लाख पाउन्ड अर्थात् करिब १४ करोड रुपैयाँ बेलायतबाटै आएको हो । त्यतिबेला एक हजार मानिसले उत्साहित भएर लगानी गरेका थिए । सामूहिक लगानी प्रोत्साहित गर्न हामीले समयमै लगानीकर्तालाई प्रतिफल दिनुपर्छ । यस्तो प्रतिफलले उनीहरूमा अझै उत्साह बढाउन सकिन्छ ।

गएको लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ र सरकारबीच ‘इन्भेस्टमेन्ट फन्ड’ मा भएको सम्झौतालाई अझै विश्वसनीय परियोजनामा लगाउनुपर्छ । यसअघिका हाम्रा परियोजना केही ढिला भएकाले पनि लगानीकर्तामा उत्साह जगाउन नसकिएको यथार्थलाई हामीले स्वीकार गर्नुपर्छ । अब हामीले परियोजना छनोटमै पर्याप्त गृहकार्य गरेर लगानीकर्तालाई छिटो प्रतिफल दिनेमा प्रतिबद्ध छौं ।

गैरआवासीय नेपालीले ठूलो आशा जगाए तर परिणाम दिनुपर्ने बेला उपलब्धि नदेखिएको विषयमा संघभित्र समीक्षा हुँदैन ?

गैरआवासीय नेपाली संघलाई बुझ्ने र बुझाउने क्रममा केही समस्या छन् । कतिपय अवस्थामा प्रतिबद्धता अलिबढी गर्ने तर काम नगर्ने पनि देखिएको छ । हामीले कार्यान्वयन गर्न सक्ने विषयमा मात्र प्रतिबद्धता गर्नुपर्छ भनेर हाम्रो सञ्जालमा पर्याप्त छलफल हुने गरेको छ । कतिपय अवस्थामा हामी मात्र यसका लागि भागीदार छैनौं । हामी सरकार र अन्य साझेदारसँग मिलेर काम गर्छौं । यस्तो अवस्थामा साझेदारका तर्फबाट प्रतिबद्धता पूरा नहुनेबित्तिकै हाम्रो काममा स्वतः असर परिहाल्छ ।

भूकम्पप्रभावित गोर्खाको लाप्राकमा हामीले घर पुनर्निर्माण गर्ने घोषणा त गर्‍यौं, तर अनुमति पाउनै ढिलाइ हुँदा काम पनि ढिला सुरु भयो । कतिपय गैरआवासीय नेपाली सरकारले दिएको प्रतिबद्धतामा उत्साही भएर केही गरौं भनेर नेपाल आउनुभएको छ । एकजना क्यानडाबाट आफ्नो जायजेथा बेचेर ओपन युनिभर्सिटीमा सरकारसँग मिलेर काम गर्न नेपाल आउनुभयो । पहिला उहाँलाई बोलाइयो, पछि बेवास्ता गरियो । यस्ता कयौं उदाहरण छन् । केही समयअघि कृषिमन्त्री चक्रपाणि खनालले एनआरएनका लागि जग्गा दिने कुरा गर्नुभयो । तत्कालै यस्तो प्रतिबद्धता नगर्नुस् भनेको थिएँ । हाम्रो बानी कामभन्दा पहिले प्रतिबद्धता गरिहाल्छौं ।

प्रतिबद्धता गरेपछि कार्यान्वयन गर्नुपर्छ भएन भने स्वतः अपेक्षाको खाडल देखिन्छ र समस्या सिर्जना हुन्छ । बोल्नुभन्दा काम गरेर देखाउनुपर्छ भन्ने सिद्धान्तमा विश्वास गर्नुपर्छ । गैरआवासीय नेपाली संघबाट हामीले देश बनाउने हामी नै हौं भनेर भन्दैनौं हामी साझेदारी, सहकार्य, सहयोगी, सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छौं ।

गैरआवासीय नेपाली संघको नागरिकता विधेयकप्रति ठूलो असन्तुष्टि देखियो । के विधेयकले संविधानको भावना समेट्न नसकेको हो ?

अहिले नागरिकताका विषयमा संसद्मा छलफल पनि भइरहेको छ । गैरआवासीय नेपालीको सम्पत्ति भोलि सुरक्षित हुन्छ कि हुँदैन भन्ने विषय उठेको छ । गैरआवासीय नेपालीको सम्पत्ति अन्य नेपाली नागरिकले सरह उपभोगको अधिकार पाएमा नेपालबाट उनीहरूले सम्पत्ति बाहिर लैजाँदैनन् र यसले नेपालमा उनीहरूको लगानी, पुनर्लगानीमा वृद्धि हुन्छ । गैरआवासीय नेपाली नागरिकता दिने विषयमा अहिले संसदीय समितिमा छलफल हुँदा तीन पुस्तालाई दिने भन्ने कुरा आएको छ । तीन पुस्ता भनेको त पहिलो पुस्ताका गैरआवासीय नेपालीको हकमा नाति पुस्तासम्मले मात्र उपभोग गर्न पाउने भयो ।

अर्को हामीले गृहमन्त्रालयबाट मात्र नभई कूटनीतिक नियोगहरूबाट पनि नागरिकतालाई आवेदन दिने र लिन सकिने व्यवस्था मिलाइदिन आग्रह गरेका छौं । भाषाका सम्बन्धमा नेपाली भाषा जानेकै हुनुपर्छ भन्ने प्रावधानलाई अनिवार्य बनाउनु हुँदैन । हाम्रो दोस्रो र तेस्रो पुस्ताले कमाएको पुँजी, ज्ञान र सीपलाई नेपालसँग जोडिराख्न यस्ता क्लिस्ट प्रावधान राखिनु हुँदैन । एकपटकको नेपाली सधैंको नेपाली भन्ने भावनाको साँच्चिकै प्रतिनिधित्व होस् । गैरआवासीय नेपालीलाई मतदानको अधिकार नेपाली राहदानी कायम राखेकालाई मात्र दिने हो ।

गैरआवासीय नेपाली संघले विद्वत् वर्ग, प्राज्ञ, विशिष्ट ज्ञान र सीप भएकालाई किन भूमिका दिन कञ्जुस्याईं गरेको हो ?

हामीले त्यस्तो कञ्जुस्याईं गरेका छैनौं । उहाँहरूको भूमिका सिर्जना गर्नकै लागि गत वर्ष काठमाडौंमा विज्ञ सम्मेलन आयोजना गरेका थियौं । गैरआवासीय नेपाली संघले हाम्रो सञ्जालमा रहेका विशिष्ट ज्ञान, सीप भएका तथा विद्वत् वर्गको सूचीकरण गरेका छौं । उहाँहरूको विद्वता उपयोग गैरआवासीय नेपाली संघ मात्र होइन, नेपाल सरकारको नीतिमै हुनुपर्छ भन्नेमा दृढतापूर्वक लागिरहेका छौं ।

बेलायत गैरआवासीय नेपाली संघको उद्गम ठाउँ पनि हो । तर, आसन्न अधिवेशनमा भने प्रमुख पदमा बेलायतबाटै धेरै उम्मेदवारी आएको छ नि ?यस विषयमा हामी सल्लाह गर्ने छौं । बेलायत गैरआवासीय नेपाली संघको उद्गम थलो भए पनि बेलायतले अहिलेसम्म नेतृत्व पाएको छैन । बेलायतलाई नेतृत्व दिने सबालमा हाम्रा पूर्वअध्यक्षहरू, संस्थापक, संरक्षकहरू सबै सकारात्मक हुनुहुन्छ । कुन पदमा उम्मेदवार उठाउने/नउठाउने भन्ने सम्बन्धमा एनआरएन–बेलायत र अग्रज तथा शुभेच्छुकसँग पनि हामी छलफल गर्ने छौं ।

बेलायतलाई एनआरएनएको आगामी नेतृत्व दिँदा न्यायोचित हुन्छ भन्ने अग्रज तथा शुभेच्छुक र बेलायतको राष्ट्रिय समन्य परिषद्सँगको छलफलबाटै म उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ । आगामी अधिवेशनमा नेतृत्वका लागि न्यायोचित निर्णय हुनेमा आशावादी छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.