सडक निर्माणले गति लिन सकेन

सडक निर्माणले गति लिन सकेन

गोदावरी नगरअन्तर्गत मूलडोल, छम्पी, चारघरे, विशंखुनारायण, डुकुछाप, नल्लुलगायत ठाउँमा पानीको लाइन विस्तार भएको छ। नगरभित्रका १४ वटै वडाका स्वास्थ्यचौकी जिल्ला अस्पताललाई गोदावरी नगरपालिकामा सारियो। शैक्षिक गुणस्तर वृद्धिका लागि एक करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ। तर, भएका सबै उपलब्धिलाई सातदोबाटो–चापागाउँ सडकखण्डले ओझेलमा पारिदियो।

यद्यपि, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकासलगायत आफ्नो उच्च प्राथमिकतामा परेको बताउँछन् गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन। यिनै विषयमा केन्द्रित रहेर नगर प्रमुख महर्जनसँग अन्नपूर्णकर्मी नितु घलेले गरेको कुराकानी :

तपाईले गर्नुभएको कामको महसुस जनताले किन गर्न सकेनन् ?       

 साढे दुई वर्षमा हामीले धेरै काम गरेका छां। यद्यपि, मेरा समग्र कामलाई सातदोबाटो–चापागाउँ सडकखण्डले ओझेलमा पारिदियो। यो बाटो हामी आउनुभन्दा पहिला सडक विस्तार आयोजनाले टेन्डर लगाइसकेको थियो। सरकारले क्षतिपूर्ति र मुआब्जा दिन नसकेपछि अलपत्र परेको हो। अबचाहिँ यो सडक बन्ने भएको छ।

खाली ठाउँमा १६ मिटर र अन्य ठाउँमा जस्ताको त्यस्तै अवस्थामा पिच गर्ने सहमति करिब १० दिनपहिले भएको थियो। पहिला २२ मिटर बनाउने कुरा थियो। तर, अहिले १६ मिटर मात्र बनाउने सहमति भएको छ। नगरपालिकाको कार्यपालिका बोर्डले ७ करोड रुपैयाँ छुट्ट्याएर आफैं बनाउँछु भन्दा पनि सडक विभागले अनुमति दिएन। दुई वर्षपहिले हामीले सर्भेसमेत गरेका थियौं। नीतिगत नियमले हामीलाई काम गर्न अप्ठ्यारो बनाएको हो। सबैभन्दा ठूलो पिर मलाई यही सडक नबनेकामा भएको छ।

उसोभए यस सडकमा सरर हिँड्न कहिलेसम्म पाइन्छ ? 

 ठेकेदारका अनुसार अबको दुई महिनाभित्र यो बाटो पिच भइसक्छ। उनीहरूले ग्राभेलिङ र ढल खोल्ने काम गरिरहेका छन्। जिम्मेवार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई नगरपालिकामा बोलाइसकेका छौं।

शैलुङले दसैंपछि काम गर्छु भनेको छ। तर, हामीले दसैंअगावै काम सक्न आग्रह गरेका छौं। उनीहरूले काम थालेको कम्तीमा २० दिनमा सम्पन्न गर्ने वचन दिएका छन्। यस विषयमा सांसद सहितको टोलीले मन्त्रालयमा छलफल गरिसकेको छ।

यस सडकको विषयमा जनताको आक्रोश धेरै छ ? अब कसरी समाधान हुन्छ ?

सर्वोच्च अदालतको आदेशअनुसार घरजग्गाको क्षतिपूर्ति दिनुपर्छ। जनता घर भत्काउन तयार छौं भनिरहेका छन्। तर, सरकारले मुआब्जा दिन सकेको छैन। यहाँका करिब पाँच सय घर सडकमा पर्छन्। घरको मात्र मुआब्जाका लागि सरकारसँग ५० करोड माग गरेका छौं। जग्गासहित एक अर्ब पुग्छ। सरकारले मुआब्जा दिन नसकेपछि जस्ताको त्यस्तै अवस्थामा पिच गर्ने भनिएको हो। नगरपालिकाको मूल सडकबाहेक सबै बाटो बनिरहेका छन्। कतै ढलान हुँदै छ, कतै बन्ने प्रयासमा छ।

यस क्षेत्रमा ढल बन्न सकेको छैन। यस विषयमा के गर्दै हुनुहुन्छ ?

ढल व्यवस्थानका लागि बनाएको योजना बोर्डमा पेस गरिसकेका छौं। यो अर्बौंको योजना हो। सानो बजेटले ढल बन्न सक्दैन। यसका लागि केही समय पर्खनुपर्छ।

तपाईंले गर्नुभएका अन्य काम के–कस्ता छन् ?       

प्रत्येक वडामा एक÷एकवटा योजना अगाडि लगेको छु। वडा १ मा राष्ट्रिय तरकारी संकलन केन्द्र, २ मा टेक्निकल कलेज, ३ मा गोदावरी कुण्डदेखि अन्तर्राष्ट्रिय सम्मेलन भवन बन्दै छ भने ४ मा पहरी समुदायको जीवनस्तर उकास्ने काम भइरहेका छन्। वडा ५ मा १ करोड बजेटमा खानेपानीको भण्डारणकेन्द्र, चिस्यानकेन्द्र, ६ मा डेढ लाख लिटरको ट्यांकी बनेको छ भने खानी (उद्योग) व्यवस्थित गर्ने काम भइरहेको छ।

नगरपालिकाको कार्यपालिका बोर्डले ७ करोड रुपैयाँ छुट्ट्याएर आफैं बनाउँछु भन्दा पनि सडक विभागले अनुमति दिएन।

७ मा देवीचौरमा भ्युटावर र सडक पनि बनिसकेका छन्, ८ वडामा पनि बाटो र पानीको काम भएको छ। ९ मा पार्क निर्माण, नेपालकै ठूलो भैरवको मूर्ति, क्यान्सर अस्पताल बनिरहेको छ। १० मा रंगशाला निर्माण हुँदै छ। ११, १२, १३ र १४ वडालाई सांस्कृतिक केन्द्र बनाउने, यहाँका पुराना सम्पदा संरक्षण तथा प्रवद्र्धन गरेर आन्तरिक पर्यटन योजनाका काम भइरहेको छ।

तपाईंको नगरमा विभिन्न समुदायका मानिस बसोवास गर्छन् ? उनीहरूको जीवनस्तर उकास्न के गर्नुभएको छ ?       

यहाँ पहरी, दनुवारलगायत जनजातिको पनि बसोवास छ। पहरीको पेसा निगालोको डालोनाम्लो बुन्ने हो। उनीहरूको जीवनस्तर उकास्न वडाबाट ५ लाख रुपैयाँ उपलब्ध गराएका थियांै। दनुवार बस्ती ८ नम्बर वडामा छ। उनीहरूको परम्परागत संस्कृति बचाउनुपर्छ भनेर लागेका छौं। प्याङगाउँमा मल्लकालदेखि चलिआएको मानापाथी बनाउने चलन विलिन हुने अवस्था थियो। त्यसलाई बयुँताएका छौं। यतिबेला मानापाथी बनाएर भ्याएका छैनन्। बाँसका विभिन्न सरसामानको माग बढ्दै गएको छ। जसले उनीहरूको आयआर्जन वृद्धि भएको छ।

पर्यटकलाई आकर्षित गर्न के–कस्ता पहल भइरहेका छन् ?       

पर्यटनलाई ध्यानमा राखेर गोदावरीदेखि फुलचोकीसम्म पद मार्ग बनायौं। देवीचौरमा भ्युटावर बनाइसकेका छौं। १५ हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइरहेका छौं। प्रदेश र नगरपालिकाले दुई, दुई करोड दिएको छ। डेढ अर्बको डीपीआर बनिसकेको छ।

चुनाव जितेर आएपछि गरिएका काम के–के हुन् ?

चुनावी घोषणापत्रमा आधारभूत सुविधाबाट कोही पनि वञ्चित हुन दिन्न भनेको थिएँ। मेरो क्षेत्रमा पानीको हाहाकार थियो। मूलडोल, छम्पी, चारघरे, विशंखुनारायण, डुकुछाप, नल्लुलगायत ठाउँमा पानीको लाइन विस्तार गरेँ। नगरभित्रका १४ वटै वडाका स्वास्थ्यचौकीमा सरकारले उपलब्ध गराउँदै आएको औषधि अनिवार्य उपलब्ध गराउने व्यवस्था गरेँ। औषधि अभाव हुन दिएको छैन। जिल्ला अस्पताल गोदावरी नगरपालिकामा ल्याएका छौं।

शैक्षिक गुणस्तर सुधार्न तथा संरचना निर्माणका लागि एक करोड रुपैयाँ छुट्ट्याएर विभिन्न कार्यक्रम गरेका छौं। निजी तथा सामुदायिक विद्यालयका एसईईमा जीपीएका आधारमा धेरै अंक ल्याउनेलाई प्रोत्साहनस्वरूप सम्मान गर्दै आएका छौं।

खानीका विषयमा विवादमा परिरहनुभएको छ ? वास्तविकता के हो ?

मलाई विवादमा ल्याउनुको कुनै अर्थ छैन। किनकि हामी आउनुभन्दा पहिलेदेखि नै खानी चलिरहेका थिए। ती खानी मापदण्डअनुसार चलेका थिएनन्। यसलाई व्यवस्थापन गर्न दुई वर्षभित्र स्थान्तरण गर्ने नगरपालिकाको कार्यपालिकाले निर्णय गरेको छ। खानीको रोयल्टी, निकासी करबाट नागरपालिकालाई १० करोड आम्दानी हुन्छ। अरूको दृष्टि यसैमा परेको छ। कुनै बदनियत गरेका छैनौं। भ्रष्टाचार गरेका छैनौं। यसलाई व्यवस्थित बनाउन एउटा समिति बनेको छ। हिजो अमुक व्यक्तिले चलखेल गरेको हुन सक्छ त्यसैले विवादमा तान्न खोजिएको हो।

हिजो जिल्ला विकास समितिमा ५ हजारमा नवीकरण हुन्थ्यो। तर, आज नवीकरणका लागि ७ लाख रुपैयाँ लिने व्यवस्था गरेका छौं। क्रसरले ३ हजार रुपैयाँ तिर्दै आएको थियो। अहिले ५ लाख बनाएका छौं। यहाँ ४ वटा खानी सञ्चालित छन्। २४ वटा क्रसरमध्ये २२ वटाजति सञ्चालनमा छन्। यसबाट हाम्रो आम्दानी बढेको छ।

कतिपय बलात्कारका घटना तपाईंकै नगरमा धेरै देखिएका छन्। शान्ति–सुरक्षालाई चुस्त बनाउन के गर्नुभएको छ ?       

शान्ति–सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रहरीसँग मिलेर काम गरिरहेका छौं। घटना लुकाउने गर्छन्। तर, सार्वजनिक भएका घटनाका दोषीलाई उम्कन दिँदैनौं। सम्भावित ठाउँलाई रक्सी निषेधित क्षेत्र घोषणा गरेका छौं। लागुऔषध, मादक पदार्थलाई निरुत्साहित गरेका छौं।

जनताका अपेक्षा पूरा गर्न के–कस्ता प्रयास गर्नुहुनेछ ?       

देखिने गरी काम थुपै्र भएका छन्। मूलसडक नबनेकाले अन्य काम ओझेलमा परेको हो। तर, जनताले विश्वास गरेर जिताएर माला लगाइदिएका छन्। अर्को चुनावमा पनि माला लगाउने वातावरण बनाउँछु। पाँच वर्षभित्र १४ वडामा नमुना काम गरेर देखाउँछु। अहिले १० वर्षमा नभएका काम गरेका छौं। जुन कुरा जनताले पनि मूल्यांकन गर्नुभएकै छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.