परी कथा र मोबाइल गेम
![परी कथा र मोबाइल गेम](https://annapurnapost.prixacdn.net/media/albums/pari-katha-and-mobile-game_20190916071451_Q80LkQ9cmu.jpg)
ज्ञानुले साथीहरूलाई सधैं कुनै न कुनै परी कथा सुनाउँछिन्। हजुरआमाले उनलाई सुत्ने बेलामा प्रायः राम्राराम्रा परी कथाहरू सुनाउनुहुन्छ। तिनै सुनेका कथाहरू उनले साथीलाई सुनाएकी हुन्।
‘हजुरआमाले भनेका परी कथाहरू कति राम्रा हुन्छन्। म त त्यो कथा सुनुन्जेल अफू पनि त्यही कथाको परी जस्तै राम्री अनि बहादुर हुँ जस्तो लाग्छ’ ज्ञानु साथीहरूसँग यस्तै भन्छिन्। सबै साथीहरू एकदम चाख मानेर सुन्छन्। तर जुनूलाई भने मन परेन रे। ‘आ को कथा सुन्छ ? मोबाइलमा कति राम्रा गेमहरू हुन्छन् त्यही खेल्छु म त’ उनी प्रायः मोबाइलकै कुरा गरिरहेकी हुन्छिन्। ज्ञानुलाई भने मोबाइलमा त्यति धेरै रहर छैन। उनले जानुका मिसले भनेका कुरा राम्ररी बुझेकी छिन्।
‘मोबाइल नचलाउने होइन। चलाउनुपर्छ। तर त्यसलाई पनि चाहिनेभन्दा धेरै चलायो भने आँखामा खराबी हुने त छँदै छ। पढाइमा असर पर्नेदेखि सिर्जनाशीलतामा समेत कमी आउने गर्छ। बरु फुर्सदको समयमा खेल्ने र बाहिर घुम्न निस्कने गर्नुपर्छ’ जानुका मिसको यो कुरालाई ज्ञानुले अझै भुलेकी छैनन्। उनी विद्यालयबाट दिएको गृहकार्य सकाएर घर नजिकै खेल्न निस्किन्छिन्।
बालबालिकाका लागि प्रकाशित भएका पत्रिकाहरू पनि उनी नियमित रूपमा पढ्छिन् र लेख्ने कोसिस पनि गर्छिन्। उनलाई बालकविता धेरै मन पर्छ। एकदिन स्कुलमा बालकविता प्रतियोगिता हुने भयो। ज्ञानु, जुनूलगायत कक्षाका सबैले प्रतियागितामा भाग लिने भए। ज्ञानुले बालपत्रिकाहरूमा प्रकाशित कविताहरू जम्मा गरेर राखेकी थिइन्। ती निकालेर फेरि पनि धेरै पढिन्। हेरिन्। उता जुनू भने मोबाइलमै गेम खेलेर आफ्नो फुर्सदको पनि खेर फालिरहेकी थिइन्।
आमाले कति सम्झाउँदा पनि ‘एकैछिन न आमा’ भनेर मोबाइलमा नै व्यस्त भइरहिन्। ‘यो केटीलाई कसरी सुधार्ने होला। साह्रै नराम्रो लत बस्यो’ बेलुका आमाले बाबासगँ यस्तै गुनासो गर्नुभयो। भोलिपल्ट स्कुलमा कार्यक्रम थियो। बाबाले गाली गरेपछि बल्ल उनी कापीकलम बोकेर टेबुलमा मन नपरी नपरी घोप्टेर लेख्न थालिन्। तर के ? ओहो ! उनलाई त अचानक रिँगटा चलेर बान्ता आउला जस्तो भयो। टाउको पनि भारी जस्तो भयो। आँखा पोलेर आँसु पनि झर्न थाल्यो।
बाबाआमा भएको ठाउँमा पुग्न पनि उनलाई गाह्रो पर्यो। त्यसैले उनी त्यहीँबाट कराइन्। बाबाआमा कुदेर आइपुग्नुभयो। उनी टाउको टेबुलमा अड्याएर बसेकी थिइन्। बाबाले मुन्टो उठाएर आफूतिर फर्काउनु भयो। जुनूका आँखाबाट आँसु बगिरहेको थियो। ‘लौ मोबाइलले काम गर्यो’, आमाले बाबातिर हेरेर भन्नुभयो। ‘ल अहिले लेख्नु पर्दैन आराम गर’ आमाले यसो भनेपछि जुनू त्यतिकै सुतिन् त्यो दिन।
भोलिपल्ट बिहानै बाबाले जुनूलाई डाक्टरकोमा लिएर जानुभयो। धेरै मोबाइल चलाएको कारण आँखामा समस्या आएको रहेछ। डाक्टर अंकलले आँखामा राख्ने औषधि दिँदै भन्नुभयो, ‘यो राखिदिनुस् भएन भने चस्मा नि लगाउनुपर्ने हुन सक्छ। १५ दिन यो औषधि राखेर हेरम। तर टीभी मोबाइल कम गर्नुपर्यो।’ जुनूलाई चस्मा लगाउनुपर्ने हो कि भनेर ठूलो पीर पर्यो।
स्कुलमा कार्यक्रम भएको हुनाले अलि ढिलै भए पनि जुनू आमाको साथमा स्कुल गइन्। कार्यक्रममा ज्ञानुले परी शीर्षकमा कस्तो राम्रो कविता लेखेकी रहिछन्। सबैले उनको तारिफ गरे। ज्ञानुले प्रतियोगितामा पहिलो स्थान हासिल गरिन्। पहिलो भएपछि ज्ञानुले माइकबाट बोल्दै भनिन्, ‘यो कविता मैले हजुरआमाले सुनाउनु भएका परी कथाबाट प्रभावित भएर लेखेकी हुँ।’
जुनूलाई कताकता आरिस पनि लाग्यो। यो सबै आप्mनै कारणले भएको हो भन्ने उनले बुझेकी पनि छिन्। अबदेखि मोबाइल एकदमै कम गर्ने र लेखपढ गर्ने उनले मनमनै अठोट गरिन्। बरु फुर्सदको समयमा बाहिर खेल्ने र बाबाआमासँग गफ गर्ने भनेर उनले मनमनै प्रतिज्ञा गरिन्। जुनूले सर्लक्कै आफ्नो बानी सुधारेको देखेर घरमा आमाबाबा र स्कुलमा साथीहरू छक्कै परे। अचेल त ज्ञानुसँग पनि फुर्सद भयो कि जुनूले परी कथा सुनाउन भन्न थालेकी छिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)