विशेषज्ञ पर्खाइमा ३५ वर्ष

विशेषज्ञ पर्खाइमा ३५ वर्ष

धनगढी : सोमबार बिहान ८ बजे। पसिनाले निथ्रक्क भिजेको शरीर, एक हातमा आफ्नो र अर्को हातमा पत्नीको पुर्जी। कैलाली लम्कीका रुपचन्द्र पाण्डेले आपोडीका कर्मचारीसँग उनले आग्रह गरे, ‘मेरो दुईवटा कुपन निकालिदिनुस् न।’ सेती प्रादेशिक अस्पतालको ओपीडीमा सोमबार बिहान साढे ८ बजे यताउता गरिरहेका थिए।

रूपचन्द्रले कुपन लिएर डाक्टरको प्रतीक्षामा बसे। करिब पौने दुई घण्टापछि उनको पालो आयो।

उनी मुटु र कलेजोका बिरामी हुन्। चार वर्षभन्दा बढी भयो, उनले औषधि खान थालेको। घर नजिकै टीकापुर अस्पताल रहे पनि प्रादेशिक अस्पतालमा विशेषज्ञ डाक्टर भेटिएलान् भनेर आएको उनले बताए। ‘मेरो नजिक त टीकापुर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र लम्की पर्छन्। याँ ठूला डाक्टर भेटिएलान् भनेर आउने गरेको छु’, उनले भने।

अस्पतालमा उनले खोजेका विशेषज्ञ डाक्टर भने थिएनन्। सेती प्रादेशिक अस्पतालमा कार्डियोलोजी डाक्टरको दरबन्दी तीन वर्षदेखि खाली रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेट हेमराज पाण्डेले भने, ‘पूर्वाधारका लागि हामी लागिपरेका छौं तर सरकारले जनशक्ति नपठाउँदा सेवा दिन असहज भएको छ।’

डडेल्धुराबाट छोराको खुट्टा भाँचिएर आएका गगनबहादुर सेठी अस्पतालको ओपीडीको १ नम्बर कोठाबाहिर बसिरहेका थिए। ‘हाडजोर्नी विशेषज्ञ डा. प्रमोद जोशी र सुशील भण्डारी भेटिएलान् भनेर आएको तर दुवै रहेनछन्’, उनले भने। अस्पताल व्यवस्थापन समितिले करारमा नियुक्त गरेका सुशील भण्डारीले भदौ १ गतेबाट जागिरै छोडेका छन् भने प्रमोद जोशीको संघमा समायोजन भएको छ।

‘१ नम्बर कोठामा अर्कै डाक्टरले हेरिदिए, त्यो पनि अप्रेसनका लागि कुर्नुपर्ने रहेछ, दुई सातापछि मात्रै पालो आउँछ भनेको छ। अब निजी अस्पतालतिर जाने सोच बनाएको छु’, सेठीले भने।

गोदावरी नगरपालिकाको अत्तरियाबाट आएका नवीन पनेरूले त सिनियर अहेवलाई छोरा देखाएर फर्किए। तीन दिन देखि ज्वरो निको नभएपछि डेंगुको आशंकामा उनले छोरालाई सेतीमा ल्याएको बताए।

सेती प्रादेशिक अस्पतालको कोठा नम्बर ७ बालरोग विशेषज्ञ बस्ने कोठा हो। त्यहाँ सवा १० तिर बालरोग विशेषज्ञ प्रदीप मि श्र र समीर खान प्रवेश गरे। त्यही ओपीडीमा सिनियर अहेव धनीराम बोहरा पनि थिए। पनेरूका छोरालाई बोहराले हेरे र रगत जाँचका लागि पठाए।

‘मलाई त थाहा छैन, अहेवले चेक गर्नुभयो या डाक्टरले ?        तीन जना थिए, उः त्याँ बसेका सरले हेरेका हुन्’, बोहरालाई देखाउँदै पनेरूले भने। केही समयअघि त सेती अञ्चल अस्पतालका अधिकांश ओपीडी कक्षमा सिनियर अहेवले स्वास्थ्य परीक्षण गरेका थिए।

विशेषज्ञ सेवाका लागि आउने बिरामीलाई पनि अहेवले हेर्न थालेको भन्दै आलोचना भएपछि अहिलेका मेसु डा. पाण्डेले ओपीडीका ९ वटै कोठामा सकेसम्म विशेषज्ञ नभए, मेडिकल अधिकृतले बस्नैपर्ने नियम लगाएका छन्।

सुदूरपश्चिमका नवै जिल्लाका स्वास्थ्य संस्थाबाट परीक्षण गराएर निको नभएपछि मात्रै विशेषज्ञ सेवाका लागि बिरामी सेतीमा आउने गर्छन्। ‘तर, यहाँ पनि अहेवले परीक्षण गरिदिए भने हामीले याँ किन आउने ? ’ बूढी आमाको उपचारका लागि सेती अस्पतालको ओपीडी पुगेका बैतडीका रमेश भण्डारीले भने।

अढाई घण्टामा ६ सय पाँचको परीक्षण

अस्पतालले ओपीडीका लागि ९ बजेदेखि १२ बजेसम्म पर्चा काट्ने समय तोकेको छ। त्यो समयमा ३२५ जनाले नयाँ पर्चा काटे भने एक सयभन्दा बढी फलोअपका लागि आए। फलोअपका लागि दुई महिनासम्म हरेक पटकको थप १० रुपैयाँ तिर्नुपर्छ। स्वास्थ्य बिमा गरेका ९०, जेष्ठ नागरिक र विपन्न पनि ९० जना गरी सोमबार ६०५ जनाले सेतीमा स्वास्थ्य परीक्षण गराए। हाम्रो टिमले सिअहेव, मेडिकल अधिकृत र विशेषज्ञ गरी १० जना मात्र स्वास्थ्य परीक्षणमा खटिएको भेट्टायो। १० जनाले झन्डै पौने तीन घण्टा अवधिमा यति धेरै बिरामीलाई जाँचेर भ्याइदिए।

रिपोर्ट पाउन पाँच घण्टा

प्रादेशिक अस्पताल परिसरमै रहेको प्रयोगशालाबाट रिपोर्ट पाउन पाँच घण्टा कुर्नुपर्ने रहेछ। ‘दिदीलाई आजै ल्याएको हुँ। १० बजे रगत जाँचका लागि दिएको हो, ३ बजेपछि मात्रै रिपोर्ट आउँछ भनेका छन्। रिपोर्टकै लागि पाँच घण्टा कुर्नुपर्‍यो’, कञ्चनपुको पुनर्वास नगरपालिकाका राजकुकार खड्काले भने।

कैलालीको कैलारी गाउँपालिका-३ हसुलियाका रामकृष्ण चौधरीले अस्पताल भर्ना गरेकी पत्नीको रिपोर्ट लिन धेरै समय लागेको बताए। ‘चिकित्सकले चाँडो ल्याऊ भन्छन्, तर २ बजेसम्म पाएको छैन’, प्रयोगशालाको झ्यालमा लाइन लागेका चौधरीले भने।

धेरै बिरामीका आफन्तले ल्याबको रिपोर्ट ढिलो भइरहेको गुनासो गरेपछि हामीले अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीलाई सम्पर्क गर्‍यो। उनी भन्छन्, ‘बिरामीको चापअनुसार जनशक्ति नहुँदा ढिलाइ हुने गरेको हो।’

गर्भवती पनि लाइनमा

गोदावरी नगरपालिका-२ अत्तरियाकी धनु कुन्जेडा ९ महिने गर्भवती हुन्। उनी पनि ओपीडीको टिकट काट्न लाइनमा थिइन्। ‘९ बजेदेखि लाइनमा छु १० बजिसक्यो अझै पालो आएको छैन’, उनले भनिन्, ‘उभिन गाह्रो भइरहेको थियो, लाइन लागेकाहरुले पालो दिन आग्रह गर्दा पनि मानेनन्।’ अस्पताल प्रशासनले गर्भवतीलाई कुनै सुविधा दिएको छैन।

फार्मेसीमा औषधि अभाव

कञ्चनपुरकी इसा कठायत चिकित्सकको पुर्जी (प्रेसक्रिप्सन) बोकेर सेती अस्पतालको फार्मेसीमा पुगिन्। उनी त्यहाँ भिटामिन र पारासिटामोल किन्न गएकी थिइन्। फार्मेसीका कर्मचारी भन्दै थिए, ‘यी औषधि यहाँ छैनन्। बाहिर गएर किन्नू।’ कडायत खुट्टाको घाउ उपचार गर्न आएकी हुन्।

कञ्चनपुर कृष्णपुर नगरपालिका-५ का कुवेर खड्काले चिकित्सकले सिफारिस गरेकामध्ये ५ प्रकारको औषधि फार्मेसीमा नपाएको बताए।

सुदूरपश्चिममा पहिलोपटक सेती अञ्चल अस्पताल परिसरमा फार्मेसी सञ्चालनमा आएको हो। ‘हामीले ११ सय प्रकारका औषधि राखेका छौं। करिब ५० प्रकारका औषधि सकिएका छन्। अबको १५/२० दिनभित्रै ती औषधि पाइनेछ’, फार्मेसीका प्रमुख भरत कुँवरले भने।

झन्झटिलो स्वास्थ्य बिमा

धेरैले स्वास्थ्य बिमा गर्न झन्झटिलो भएको गुनासो गरेका छन्। उनीहरूले औषधि निःशुल्क पाउने भए पनि सरकारी फार्मेसीमा सकिएको औषधिबाहिर महँगोमा किन्नुपरेको गुनासो गरे।

‘स्वास्थ्य बिमा गरेको दुई वर्ष भयो तर, सरकारी फार्मेसीबाट औषधि नकिनेर निजी क्लिनिकमा किन्नुपर्ने बाध्यता छ’, शुक्लाफाँटा नगरपालिका-५ झलारीका पदमराज जोशीले भने, ‘बिमा गराउँदा ७० भन्दा बढी प्रकारको औषधिमा छुट पाइने भनिएको थियो। तर छुट पाएका छैनौं।’

शड्ढया उस्तै, पूर्वाधार थपिँदै

सेती अञ्चल अस्पताल अहिले प्रदेश सरकार मातहतमा छ। त्यसलाई अञ्चलबाट प्रादेशिक अस्पताल भनेर नामकरण गरिएको छ। तर २०४० सालमा तोकिएको ५० शड्ढया बढाइएको छैन। अस्पताललाई प्रादेशिक बनाइए पनि शड्ढया संख्या नबढाएकाले आर्थिक बोझ बढिरहेको अस्पतालले जनाएको छ।

२४ जनाको विशेषज्ञ दरबन्दीमा १२ पद रिक्त छ भने १२ जनाको पनि संघमा समायोजन भएकाले अस्पताल रित्तो हुने खतरा बढेको छ।

‘जनशक्ति त सरकारले दिनुपर्ने हो। हामीले अनुरोध मात्रै गर्न सक्छौं, तर अस्पतालको पूर्वाधार सुधारको कार्ययोजना नै बनाएर अघि बढेका छौं’, मेसु पाण्डेले भने। उनका अनुसार सिटी स्क्यानका लागि पूर्वाधार बनिरहेको छ। उनले भने, ‘मुटुको रंगीन भिडियो एक्सरे मेसिन ल्याएको छौं। दाँत विभाग अत्याधुनिक बनिरहेको छ।’ भेन्टिलेटरसहितको आईसीयू पनि सञ्चालन भएको उनले बताए।

वर्षमा डेढलाख बढीको उपचार

सेती प्रादेशिक अस्पतालले गत वर्ष एक लाख ५६ हजार ८०१ जनाको उपचार गरेको छ। अस्पतालको तथ्यांकअनुसार ओपीडीमा ४६ हजार ४२५ महिला र ५५ हजार ६३२ महिलाले उपचार सेवा लिएका छन् भने इमरजेन्सीमा १७ हजार ९९ महिला र १७ हजार ६४० पुरुषले उपचार सेवा लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.