जहाज डुबाएर २० लाख पर्यटक ?

जहाज डुबाएर २० लाख पर्यटक ?

तत्कालीन शाही नेपाल वायु सेवा निगमका रूपमा जन्मिएको नेपाल वायु सेवा निगम बैसट्ठीबर्से पाको उमेरको भयो। तर, यसलाई कहिल्यै सुखका साथ बाँच्न दिइएन। झन् प्रजातन्त्रपछिका हरेक दिन उसका लागि कालरात्रि झैं भएर बिते। ‘शाही’ शब्द हटाएपछि पनि उसको हालत उस्तै छ। निगमद्वारा सञ्चालित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स एकपछि अर्को निर्णय गर्दै धराशायी बनाउँदै लगियो। लुछाचुँडी गरेर छियाछिया बनाइयो—भएका जहाज कौडीको मूल्यमा बेचियो पनि। बहुदल हुँदै गणतन्त्र ल्याइएको जहाज राजनीतिकै लागि भएजसरी। ध्वजावाहक विमान आज पनि जीवनमरणको दोसाँधमा उभिइरहेको छ। स्लाइन पानी दिएर ऊर्जा दिनुभन्दा पनि यसको अस्तित्व नामेट पार्ने प्रयास ‘व्यवस्थापन’ बाटै भइरहेको पछिल्ला क्रियाकलापले देखाइरहेको छ।

नेपाल एयरलाइन्सको आफ्नै गौरवशाली इतिहास छ, कुनै बेला ‘शान्ति क्षेत्र नेपाल’ पहिचान भएजस्तै। चन्द्रसूर्यअंकित झन्डा भएको जहाज चढ्न पाउँदा विदेशी पर्यटक आफूलाई भाग्यमानी ठान्दथे। यस्तो सेवासुविधा हाम्रा जहाजमा कहिले होला भन्ने चिन्ताले एसियालगायत नेपाल आउने हरेक जहाज कम्पनीलाई पनि सताइरहन्थ्यो। त्यो ठाउँ आज कतार, सिंगापुर, मलेसिया र थाइल्यान्डका विमान सेवाले ओगटेका छन्। एकै दिन खुलेका हुन् थाइल्यान्ड र नेपाली वायु सेवा कम्पनी। आज थाई र हाम्रो अवस्था तुलना गर्दा हरेक राष्ट्रवादी नेपालीको आँखाबाट आँसु आउँछ। उसको अकासिँदो व्यापार, संसारसँग जोडिने जहाज संख्या तर हाम्रो मुलुकको अस्तित्वमै आँच आउने गिर्दो व्यापार, संसारबाट पहिचान गुमाउने तरखर।

कुनै बेला युरोप, जापान र मध्यपूर्वसम्म आफ्नो उडान भर्थे नेपाली विमानले। वाइड बडी भित्र्याएपछि लगत्तै जापान उडान पुनः सुरु गर्ने कार्यक्रम थियो। तर, जहाज आएको १३ महिनापछि सुरु भएको जापान उडानले यात्रु पाउन नसक्दा साताको एक उडान रद्द गर्नु पर्‍यो। पहिला जापानको राजधानी टोकियोको नारिता विमानस्थलमा उडान भर्ने कार्यक्रम तय भएको थियो। त्यो निर्णयमा निगम, नेपालस्थित जापानी दूतावास र पर्यटन मन्त्रालयले त्यसलाई उचित भन्दै प्रशंसा गरेका थिए। तर आज टोकियोको सट्टा ओसाकामा उडान भर्न थालिएको छ। यो निगमको व्यापारका लागि शुभ खबर होइन। कुनै पनि विदेशी विमान सेवाले नेपाल जहाज उडाउने निर्णय गर्दा पहिलो गन्तव्य काठमाडौंलाई नै बनाउँछ नकि विराटनगर वा नेपालगन्ज।

नारिता विमानस्थल नेपाली जहाजका लागि सुखद गन्तव्य हुन सक्थ्यो पर्यटन प्रवर्द्धनका लागि पनि। नारिता विमानस्थलका प्रतिनिधिले ०७५ असार २२ गते नेपाल एयरलाइन्सलाई इमेल पठाएर उडान सुरु गर्नुअघि जीएसए नियुक्त गर्नसमेत सुझाइसकेको थियो। असारदेखि उडान सुरु गर्ने भनिए पनि मदन खरेल कार्यकारी अध्यक्ष भएर आएको १० महिना बितिसक्दा पनि जीएसएसम्म नियुक्त गरिएको छैन। बल्लबल्ल आएका विमान सेवा चलाउन नसक्ने व्यवस्थापनले निगमको औचित्य कसरी पुष्टि गर्न सक्छ ?  वाइड बडी होइन, निगमको बोझ त कार्यकारी प्रमुख भइरहेको निगम स्रोत नै बताउँछ।

उता दक्षिण कोरियामा उडान भर्ने निर्णयसँगै प्यासिफिक एयर एजेन्सी नामक कम्पनीलाई जीएसए नियुक्त गरिएको थियो। तर, कोरियामा उडान भर्न नयाँ व्यवस्थापनले कुनै पहल गरेको छैन। कोरियन एयरलाइन्सको एकाधिकारले नेपाली मात्र होइन धेरै विदेशी पर्यटकसमेत चर्को भाडा तिर्न विवश छन्। तर, निगम प्रशासन वाइड बडीलाई बोझ देखिरहेको छ। यसको विस्तार कसरी गर्ने भन्ने व्यापारिक योजना उसको चासोको विषय बन्नै सकिरहेको छैन। पर्यटक आगमन बढाउन कुनै पनि देशको एयरलाइन्स गौरवशाली परियोजना हुन्छ।

त्रिभुवन विमानस्थलबाट उब्जेको करिब एक खर्बको अन्तर्राष्ट्रिय हवाई यातायात व्यापारको ठूलो हिस्सा अहिले विदेशी एयरलाइन्सले ओगटेका छन्। कुनै बेला यसको ५० प्रतिशत हिस्सा ओगटेको नेपाल एयरलाइन्सले अहिले सात प्रतिशतमा मात्र सीमित हुनुपर्दा निगम प्रशासनलाई लज्जाबोध हुनुपर्ने हो। दुइटा न्यारो बडी र दुइटा वाइड बडी जहाजले राम्रो व्यापार गर्न सके भने एक खर्बको १५ प्रतिशत हिस्सा निगमले ओगट्न सक्छ। पाइलटको दादागिरी, कर्मचारीको साँढे प्रवृत्ति र नेतृत्वको कमाइखाने भाँडो बन्न नदिने हो भने निगमलाई माथि उठाउन सकिन्छ।

तर, व्यवस्थापन बाइड बडी बोझ भयो भन्दै यो दायित्वबाट पन्छिन खोजेको आभास हुन्छ। व्यवस्थापनको जिम्मा लिने व्यक्ति नै जहाजलाई बोझ सम्झन्छ भने त्यसको उद्देश्य नेपाल एयरलाइन्सको उन्नतिभन्दा विदेशी एयरलाइन्सलाई पोस्ने नियत रहेको स्पष्ट हुन्छ। सरकारले पनि निगमले केही गर्न सकेन भनेर कर्मचारीलाई मात्र दोष दिएर उम्कन मिल्दैन। विमान थपेर उसको व्यापार बढाउनेतर्फ अर्जुनदृष्टि लगाउन सक्नुपर्छ। नेपाल एयरलाइन्ससँग राष्ट्रिय पहिचान पनि जोडिएको छ। किनकि, मुलुकलाई संसारसँग चिनाउने पहिलो माध्यम एयरलाइन्स सेवा नै हो।

सरकारले नै आफ्नै अग्रसरतामा व्यापारिक योजना ल्याई राष्ट्रिय ध्वजावाहक एयरलाइन्सलाई माथि उठाउनैपर्छ। नेपाली विमानको प्रयोगबाटै पर्यटक आगमन बढाउनुपर्छ।

विदेशी मुद्रा आर्जन गर्ने एक मात्र व्यापारिक संस्था पनि हो निगम। अन्तर्राष्ट्रिय सेवामा टिकट बिक्री गरी ५० प्रतिशत जति विदेशी मुद्रा आर्जन गर्दै आएको छ। जहाजलाई धेरै मुलुकसँग जोड्न सक्दा यो प्रतिशत संख्या बढ्ने छ। सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइँदै छ। नेपाल एयरलाइन्सको स्तरोन्नति नगरी पर्यटक भित्र्याउन कठिन छ। पर्यटन क्षेत्रको विकासबिना समृद्ध नेपाल कल्पना गर्न सकिन्न। हवाई माफिया र भ्रष्टाचारीबाट हुँदै आएको अन्याय र अत्याचारबाट निगमलाई राष्ट्रले नै जोगाउनुपर्छ।

हवाई माफियाको करामत हो– नेपाल आउन हवाई भाडा महँगो भएको पर्यटक गुनासो। संसारकै सबैभन्दा महँगो गन्तव्यमध्येमा नेपाल पर्छ भन्ने ट्याग नमेटाई भ्रमण वर्षमा २० लाख पर्यटक भिœयाउने सपना साकार पार्न सकिन्न। माफियाको सञ्जालबाट विदेशी एयरलाइन्सलाई पोस्ने नियतबाट खडा गरिएको यस्तो ट्याग तत्काल मेट्न सक्नुपर्छ। राष्ट्रिय स्तरका पर्यटन व्यवसायीसमेत निगमको दयनीय स्थितिबाट चिन्तित देखिएका छन्। किनकि, पर्यटन क्षेत्रको मेरुदण्ड मानिन्छ हरेक देशको एयरलाइन्स सेवालाई।

सुखी नेपाली समृद्ध नेपालको कल्पना पर्यटन उद्योगबाट मात्र सम्भव छ। वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिलले प्रकाशित गरेको एक रिपोर्टअनुसार विश्वको सबैभन्दा ठूलो आर्थिक एवं व्यापारिक क्षेत्रमा पर्छ पर्यटन उद्योग। विश्वको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान १०.४ प्रतिशत र समग्र रोजगारमा ९.९ प्रतिशत भएको उल्लेख गरिएको छ। हरेक मुलुकको सरकारले पर्याप्त सहयोग भएमा यो सेक्टरले सन् २०३० सम्मको अवधिमा विश्वभरबाट एक अर्बजतिको नयाँ रोजगार सिर्जना हुने अनुमान गरिएको छ। विश्व बैंकको एक अध्ययनअनुसार नेपालमा ६ जना थप विदेशी पर्यटक आएमा एकजनाले रोजगार पाउने छ। अन्य मुलुकमा भने ११ पर्यटक आउँदा एकजनाले रोजगार पाउँछ। बेरोजगार समस्या समाधानमा पनि पर्यटन क्षेत्रले ठूलो भूमिका खेल्न सक्छ।

अस्ट्रेलियाका दुईजना विज्ञले पर्यटन क्षेत्रबारे विश्वव्यापी रूपमा गरेको अध्ययनअनुसार कुनै पनि मुलुकका नागरिकले पर्यटक भएर विदेश जान विभिन्न विकल्पमध्ये एउटा नयाँ र आकर्षक गन्तव्य रोज्छ। त्यो रोजिएको गन्तव्य पुग्न लाग्ने हवाई भाडा उसको चासोको विषय बन्छ। पर्यटक रोजाइको गन्तव्य बन्न र नेपाल एयरलाइन्सको सुलभ भाडादर कायम गराउन जुनसुकै मूल्य चुकाउन तयार हुनुपर्छ। किनकि, एयरलाइन्स कम्पनी माथि नउठी पर्यटन क्षेत्र फस्टाएको विश्व इतिहास छैन। राष्ट्रिय ध्वजावाहक विमान मुलुकको गौरव हो, यसको अस्तित्व धुमिल हुँदा राष्ट्रको प्रतिष्ठामा आँच आउँछ भन्ने दायित्वबोध मुलुक सञ्चालकमा हुन जरुरी छ।

जहाज र उडानका गन्तव्य थपेर मात्र पनि निगम सुध्रने होइन। व्यवस्थापन र कर्मचारीमा पनि संस्थाप्रति दायित्वबोध हुनुपर्छ। यो संस्थासँग मेरो नाता सम्बन्ध जोडिएकाले यसको उन्नतिमा मेरो पनि हित गाँसिएको छ भन्ने भावनाको विकास हुनुपर्छ। राजनीतिक बेइमानी, व्यवस्थापन र कर्मचारी प्रशासनमा नैतिक मूल्य र दायित्वबोध अभावकै कारण निगम थला पर्दै आएको हो। टिकट किन्न आएका यात्रुलाई खाली हात फर्काउने तर जहाज खाली उड्नुपर्ने स्थिति पनि निगमको विगत हो।

विश्वका अधिकांश मुलुकका पर्यटनमन्त्रीलाई भ्रमण वर्षको शुभारम्भमा काठमाडौं ओराल्ने पर्यटनमन्त्रीले उद्घोष गरेका छन्। ती मन्त्रीलाई उनीहरूकै देशको जहाजबाट होइन, हाम्रै जहाजबाट ल्याउने प्रयत्न गर्नुपर्छ। पर्यटन विकास जहाजले गर्छ, चिप्ला र उडन्ते भाषणले होइन। पर्यटनको मेरुदण्ड हो नेपाल एयरलाइन्स। यसको अस्तित्वसँग राज्यको प्रतिष्ठा जोडिएको हुन्छ। निगमलाई जहाज राजनीतिबाट माथि उठाएर अधिकतम देशसँग जोड्न सक्ने हो भने पर्यटन क्षेत्रको उत्थान हुन्छ। हामीले अन्तर्राष्ट्रिय जहाजसँग प्रतिस्पर्धा गर्न नसक्दा निगमको उन्नति सम्भव छैन। यसका लागि एसियाकै महँगो गन्तव्य भनेर मानिने काठमाडौंको ट्यागलाई अब कूटनीतिक पहलबाट मेट्ने प्रयास गर्नुपर्छ।

नेपाल महँगो होइन, एकपटक पुग्नैपर्ने गन्तव्य हो भनेर संसारलाई परिचित गराउन सकियो भने भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिएला नत्र व्यापारिक योजना नभएको निगम व्यवस्थापनबाट त्यो आशा गर्नु निरर्थक छ। सरकारले नै आफ्नै अग्रसरतामा व्यापारिक योजना ल्याई राष्ट्रिय ध्वजावाहक एयरलाइन्सलाई माथि उठाउनैपर्छ। नेपाली विमानको प्रयोगबाटै पर्यटक आगमन बढाउनुपर्छ। वाइड बडीको अधिकतम प्रयोग गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्नुपर्छ। यसलाई बोझ सम्झने नेतृत्वले निगम अघि बढाउन सक्दैन। पर्यटनकै माध्यमबाट मात्र आर्थिक समृद्धिको ढोका खोल्न सकिन्छ। खालि नकारात्मक विषयवस्तुलाई मात्र उछालेर निगमको अस्तित्व मेट्ने प्रयास आजैबाट बन्द गर्नुपर्छ। नत्र जहाज डुबाएर बीस लाख पर्यटक भित्र्याउन सम्भव छ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.