भगवान बनाउने मान्छे

भगवान बनाउने मान्छे

जीतपुर : उनको काम भगवान बनाउने। भगवान बनाएर नै उनको परिवारको जीविका चल्न थालेको वर्षौं भइसक्यो। तेस्रो पुस्ताका उनले हजुरबुवा र बुवाले गरेको पेशालाई छाड्नै सकेनन् । त्यसैले हिजोआज पनि उनी भगवानको मूर्ति बनाउनमै व्यस्त छन्।

भारत रक्सौलका २६ वर्षीय मुकेश पण्डित मूर्तिकार वर्ष दिनमा ६ महिना नेपालमै बस्छन्।विश्वकर्मा पूजा, विजया दशमी, सरस्वती पूजालगायतका चाडपर्वमा नेपाल आएर भगवान बनाउन उनी व्यस्त हुन्छन्। मुकेशको बुझाईमा उनको यो पेशा पुण्यको काम हो ।

'भगवानप्रति सबैको आस्था छ। हरेक चाडपर्वमा भगवानलाई नपुज्ने को छ ? यो हाम्रो संस्कार हो, मुकेशले भने, 'त्यसैले पनि घरआँगनमै पुगेर भगवानको प्रतिमा बनाइदिन्छु । आस्था र विश्वासको धरोहर भगवानको मूर्ति बनाउने कामलाई पुण्य ठानेको छु ।'

मुकेश दुई महिनायता बाराको जीतपुरमा व्यस्त छन् । विश्वकर्मा पूजाका लागि जीतपुर आएका उनले ४० भन्दा बढी मूर्ति तयार गरिसकेका छन् । दुई महिना लगाएर बनाएको मूर्तिलाई सिंगार गरिरहेको अवस्थामा भेटिएका मुकेश मंगलबार साँझसम्म सबै मूर्ति बिक्री गर्ने तयारीमा थिए ।

मुकेश प्रत्येक वर्ष विश्वकर्मा पूजामा जीतपुरमै आएर मूर्ति बनाउँछन् । आफूले बनाएको भगवान अर्थात् मूर्ति सबैलाई मनपर्ने उनको बुझाई छ । 'काठ, माटो र पराललाई भगवानको स्वरुपमा ढाल्न सजिलो छैन । धेरै मेहनत र समय खर्च गर्नुपर्छ , मुकेशले भने, 'मैले यहाँ आएर मूर्ति बनाउन थालेको धेरै वर्ष भयो । सबैले मन पराउने गरेका छन् ।'
 
करिब १५ वर्षदेखि यस पेशामा आवद्ध मुकेश सबै भगवानको मूर्ति बनाउन सिपालु छन् । उनलाई मूर्ति बनाउन अब कुनै भगवानको फोटो हेरिरहनु पर्दैन । ग्राहकले अर्डर गर्ने आकारअनुसार मूर्ति तयार पार्छन उनी।'

बुवा शिवपुजनलाई ११ वर्षको उमेरदेख मूर्ति बनाउने काममा सहयोग गर्न थालेका मुकेश त्यसयता यसै पेशामा सक्रिय छन् । मुकेशका ७० वर्षीय बुवा शिवपुजन अहिले मूर्ति बनाउन सक्दैनन् । मुकेशको दाइ राजेश पनि यही पेशाबाट जिविका चलाइरहेका छन् । राजेश नारायणघाटमा विश्वकर्मा बाबाको मूर्ति बनाइरहेका छन् । 

सानो उमेरदेखि मूर्ति बनाउने काममा सक्रिय मुकेश पेशाबाट सन्तुष्ट रहेको बताउँछन् ।मेहनत अनुसारको बचत नभएपनि पुण्यको कामबाट आफू सन्तुष्ट रहेको मुकेशको भनाई छ । मूर्ति बनाउने कलाकार धेरै नभएकाले पेशा छाड्न नचाहेको मुकेश बताउँछन् । प्रविणता तहसम्म अध्ययन गरेका मुकेशलाई पेशा छाड्ने रहर कहिल्यै लागेन् । हजुरबुवा र बुवाजस्तै यसै पेशामा सधैं सक्रिय रहने उनको इच्छा छ । थोरै रकम बचत भएपनि सन्तुष्ट रहेकाले पेशा छाड्ने सोच नआएको मुकेशले बताए। 

मुकेशले विश्वकर्मा पूजा र सरस्वती पूजाका लागि बनाएको मूर्ति दुई हजारदेखि चार हजारसम्म बिक्री गर्ने गरेका छन्। दुर्गा पूजामा ५० हजारसम्मको मूर्ति बनाउँछन् उनी । ६ महिना नेपालमा बसेर मूर्ति बनाउने उनी बाँकी समय रक्सौलमै बसेर काम गर्छन् । मुकेशलाई गणेशको मूर्ति बनाउन भने निकै रुचि लाग्छ । 'गणेशजीको मूर्ति बनाउने बेला धेरै खुशी लाग्छ । हेर्दा पनि राम्रो लाग्छ,' मुकेशले हाँस्दै भने , 'कसैलाई चिनो दिनुपर्‍यो भने गणेशजीकै मूर्ति दिएर पठाउँछु।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.