चीनतिर ‘ढल्कियो’ नेकपा

चीनतिर ‘ढल्कियो’ नेकपा

काठमाडौं : सत्तारूढ नेकपा चीनतिर ढल्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका कम्युनिस्ट पार्टीले काठमाडौंमा छलफल गरी भाइचारा सम्बन्ध स्थापना गर्ने घोषणा गरेका हुन्। दुई पार्टीले एकअर्काका विचार, सिद्धान्त र प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजनाबारे छलफल चलाएका छन्।

आगामी दिनमा दुई देशका केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधि, नेताकार्यकर्ताको द्विपक्षीय अध्ययन भ्रमणमार्फत अनुभव आदानप्रदान गर्ने अवसरको सिर्जना गर्ने प्रतिबद्धता दुवै पार्टीका नेताहरूले गरेका छन्।

नेकपा स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले काठमाडौंमा संयुक्त रूपमा औपचारिक कार्यक्रम आयोजना गरी एकअर्कालाई सहयोग गर्ने नीति प्रस्ट्याएका हुन्। दुई दिनसम्म चल्ने अन्तरक्रियामा नेकपाका झन्डै तीन सय र चिनियाँ कम्युनिस्ट पार्टीका ४० जना नेता सहभागी छन्।

कम्युनिस्ट पार्टी स्थापनाको झन्डै १०० वर्ष, जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्ष र चिनियाँ राष्ट्रपतिको हुन लागेको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई पार्टीबीच विकसित भइरहेको सम्बन्धले नेकपा चीनतिर ढल्किएको स्पष्ट हुन्छ।

अन्तरक्रिया उद्घाटन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले दुई पार्टीबीचको विचारधारात्मक छलफलले नयाँ थालनी गरेको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीको नीति कार्यक्रमको प्रशंसा गरेका थिए।

दुई पार्टीबीच माथिल्लो स्तरमै सम्बन्ध स्थापित गर्न खोजिएको प्रधानमन्त्री ओलीको भनाइ थियो। बलियोले थिचोमिचो गर्दै आएको इतिहास सुन्न परिरहेका बेला चीनले भने नयाँ परिदृश्य देखाएको भन्दै प्रधानमन्त्री ओलीले शान्ति, अमनचयन, आर्थिक विकास र समृद्धिबारे मात्र चीनले सोचेको बताए।

ओलीले चीनले आफ्नै मौलिकतामा आधारित माक्र्सवादको सिर्जनशील प्रयोग गरेर आर्थिक समृद्धि र विकासको मोडेल दिएको बताए।ओलीले भने, ‘मुलुकहरू बलियो हुँदा कहिलेकाहीं अनपेक्षित रूपमा शक्तिको दम्भ पनि बढ्छ। तिनीहरूबाट असहज गतिविधि पनि हुन्छ। तर चीन शक्तिशाली भईकन पनि त्यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृश्य हो।’

कम्युनिस्ट पार्टीले क्रान्तिको कुरा मात्र गर्छन्, विकास गर्न सक्दैनन् भन्ने प्रचारबाजीलाई चिनियाँ कम्युनिस्ट पार्टीले गलत साबित गरिदिएको पनि प्रधानमन्त्रीको भनाइ थियो। उनले माक्र्सवादको सिर्जनात्मक प्रयोगमा चिनियाँ प्रयोग अब्बल रहेको बताए।

माओत्सेतुङ, देङ स्याओ पिङ र सी चिनफिङ का तीन मोड चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा महŒवपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले विश्वलाई चकित पार्ने गरी आर्थिक विकास र समृद्धिका क्षेत्रमा चीनले मानक कायम गरेको बताए।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले एकअर्काका अनुभवबाट सिक्ने र आ–आफ्ना विशेषताअनुसार समाजवाद निर्माणको दिशामा अगाडि बढ्न दुई पार्टीको अन्तरसंवादले पे्ररणा दिएको बताए।

दाहालले नेपाली भूमिमा चीनविरोधी गतिविधि नसहने नीति द्विपक्षीय सम्बन्धको आधारभूत कडी भएको बताए।चीनले विकासको चाहना गरिरहेका देशलाई पनि साथै लिएर अगाडि बढ्न खोजेको दाहालले बताएका थिए। उनले भने, ‘चीनको विकासलाई चुनौती ठान्नेसँग बिना शत्रुता विकासको चाहना गरेका तर साधन र क्षमता नभएका विकासोन्मुख मुलुकलाई साथै लिएर अगाडि बढ्ने बाटो अवलम्बन गरेको देखिन्छ।’

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले चीनको विशिष्ट प्रकारको भौगोलिक सम्बन्ध रहेको बताए।उनले नेपालले अंगीकार गरेको स्वावलम्बन र स्वतन्त्र नीतिको प्रशंसासमेत गर्दै सोही कारण चिनियाँ कम्युनिस्ट पार्टी नेपालको कम्युनिस्ट पार्टीसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताए।

सोङले दुवै देशका कम्युनिस्ट पार्टी अहिले शासनमा रहेकाले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताए। उनले सिद्धान्त ठीक भएमा जनताको मन जित्न सकिने भन्दै सी चिनफिङ विचारले जनताको मन जित्ने काम गरिररहेको बताएका थिए।

माक्र्सवाद जडसूत्रवाद नभएको भन्दै सोङले चिनियाँ कम्युनिस्ट पार्टीले एकपछि अर्काे सुधार गर्दै नयाँ सिद्धान्त अगाडि सारेको जानकारी दिए।उनले अब चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ चिनियाँ समाजवादको विकास गर्न लागेको बताए।

‘दुवै देशका कम्युनिस्ट पार्टीले शासन गरेको अवस्था हो। माक्र्सवादले उत्पादनलाई मुख्य आधार मान्ने भन्दै उत्पादनबाटै दशेको आर्थिक समृद्धि र विकास हुनेमा जोड गर्नुपर्छ’, सोङले भने, ‘पुँजीवादभन्दा समाजवाद श्रेष्ठ छ। आर्थिक पक्ष नै सबैभन्दा ठूलो हो। आधुनिकीकरणमा चीनले लक्ष्य प्रप्त गरिसकेकाले आर्थिक पक्षलाई प्रमुख महŒवपूर्ण आधार मानेको छ।’

स्वास्थ्य, शिक्षा र खानेपानीका क्षेत्रमा चिनियाँ कम्युनिस्ट पार्टीले नेकपालाई सहयोग गर्ने पनि उनले बताए। रणनीतिक उद्देश्य प्राप्तिका लागि क्षमतालाई उच्चस्तरमा विकास गर्नुपर्ने भन्दै उनले १८ औं महाधिवेशनपछि चिनियाँ कम्युनिस्ट पार्टीले कडा नीति बनाएर अगाडि बढिरहेको बताए।

उनले भने, ‘सौहार्द, समावेशी, आपसी सम्बन्ध छिमेकीसँग हातमा हात मिलाएर अगाडि जाने सोच छ। सहयोग गर्न हामी तयार छौं।’

नेकपाका स्कुल विभाग प्रमुखसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई पार्टीका केन्द्रीय पार्टी स्कुलमा प्रयोग गरिने पाठ्यक्रमको तयारी र अध्यापन विधि तयार पार्न अन्तरक्रिया आयोजना गरिएको बताए।

कार्यक्रममा आधुनिक सुविधा सम्पन्न समाज निर्माणका विषयमा चिनियाँ नेताले कार्यपत्र प्रस्तुत गरेका थिए। मंगलबार चिनियाँ पक्षबाट थप तीन कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

दुई देशका कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा भाइचारा सम्बन्ध स्थापित गर्ने र सहयोग आदानप्रदान गर्ने उद्देश्यले दुवै पार्टीका विदेश विभागले मंगलबार एक सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

सहमतिपत्रमा नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.