स्टालिन नामको दुःख
![स्टालिन नामको दुःख](https://annapurnapost.prixacdn.net/media/albums/stalin-namko-dukha_20190925101310_bfmC2UC1Ip.jpg)
तत्कालीन सोभियत संघका नेता जोसेफ स्टालिनलाई हाल रुसमा फिटिक्कै मन पराइँदैन। रुसी जनता उनलाई क्रूर तानाशाह मान्छन्। स्टालिनसँग नाम मिलेका कारण एक जना भारतीय नेताले पनि झन्झट बेहोर्नुपरेको छ।
मुथुभेल करुणानिधि स्टालिन (एमके स्टालिन) तमिलनाडूका पूर्व उपमुख्यमन्त्री हुन्। उनले सोभियत संघका नेता स्टालिनसँग नाम मिलेका कारण धेरै ठाउँमा असहज अवस्थामा पर्नुपरेको बताए। उनले द टाइम्स अफ इन्डियासँग सन् १९८९ को रुस भ्रमणका बेला आफूले बेहोर्नुपरेको झन्झटबारे बताएका छन्।
‘सन् १९८९ तिर म रुस भ्रमणमा थिएँ,’ एमके स्टालिनले भने, ‘जब म त्यहाँको विमानस्थलमा उत्रिएँ, मलाई मेरो नाम सोधियो। मैले स्टालिन भनेँ। त्यसपछि त्यहाँ भएका मान्छेले मलाई छक्क परेर हेरे। उनीहरूका आँखामा मैले कस्तो–कस्तो भाव पाएँ। रुसमा जोसेफ स्टालिनलाई मन पराइँदैन रहेछ।’ पासपोर्ट जाँच गर्ने क्रममा आफूलाई विमानस्थलका कर्मचारीले धेरै प्रश्न सोधेर हैरान पारेको पनि उनले सम्झिए।
उनका बाबु एम करुणानिधि तमिलनाडूका मुख्यमन्त्री थिए। उनी समाजवादी नेता थिए। त्यसैले उनले आफ्नो छोराको नाम रुसी कम्युनिस्ट पार्टीका नेता स्टालिनको नामबाट राखेका थिए। भारतीय स्टालिनले नामका कारण पटक–पटक अप्ठ्यारो झेल्नुपरेको बताए।
शीतयुद्धताका भारत सोभियत संघको निकट मित्र थियो। खास गरी, दक्षिण भारतमा त्यतिबेला थुप्रै मान्छेले रुसी नाम राखेका थिए। त्यतिबेलाका समाजवादी नेता तथा कार्यकर्ताले आफ्ना सन्तानका नाम स्टालिन, लेनिन, ट्राट्स्की आदि राख्ने गरेका थिए। कैयौँ बालिकाको नाम प्राभ्दा राखिएको थियो।
तमिलनाडूका स्टालिन त भइहाले, हाल मेघालय राज्यमा एक जना नेता छन्, जसको नाम एडोल्फ लू हिटलर माराक हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)