नेपालीकै मिलेमतोमा एटीएम ह्याक : यसरी चोरियो कृषि विकास बैंकको ५ करोड
काठमाडौं : भारतमा बसेर नेपाल कृषि विकास बैंकको करोडौं रुपैयाँ लुट्ने योजना असफल भएको छ। एटीएम ह्याक गरेर रकम खातामा जम्मा गरिसकेका १२ जनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य बाहिरिएको हो।
ह्याकरणले कृषि विकास बैंकको सिष्टम ह्याक गरी झण्डै ५ करोड रुपैयाँ आफ्नो खातामा टान्सफर गर्न भ्याइसकेको अवस्थामा प्रहरीले ह्याकरलाई पक्राउ गरेको छ। बैंक लुट प्रकरणमा कृषि विकास बैंकको लाहान शाखा मुख्य रुपमा प्रयोग भएको खुलेको हो। बैंकले सो शाखाका सबै कर्मचारी हटाएर नयाँ कर्मचारी खटाएको छ। सो बैंकबाट कसरी अपचलन भयो भन्ने छानविन गर्न ४ सदस्यीय टोलीसमेत खटाएको बैंकले जनाएको छ।
महानगरीय प्रहरी अपराध महाशाखामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बैंकका उपप्रबन्धक दिर्घ अर्यालले बैंकको चार करोड ३७ लाख रुपैयाँ निकालिएको पुष्टी गरे। अर्यालले बैंकको लाहान शाखा बाहेक अरु कुनै शाखामा अपचलन नभएको बताए।
अर्यालले कृषि विकास बैंकमा निक्षेपकर्ताले राखेको रकम पूर्ण रुपमा सुरक्षित रहेको बताउँदै हालको अपचलनमा निक्षेपकर्ताको एक पैसा पनि तलमाथि नभएको पत्रकार सम्मेलनमा प्रष्ट पारे। बैंक लुट तथा अपचलन प्रकरणमा पिटर उर्फ कालेको गिरोह संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
निकालिएको रकम हाल पक्राउ परेकै व्यक्तिले आफ्नो खातामा टान्सफर गरेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताए। उनका अनुसार निकालिएको रकम मध्ये ६० लाख रकम ह्याकर समूहले हुण्डीमार्फत पठाउन झिकेका थिए। त्यही रकम झिक्ने क्रममा ११ जना संलग्न देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ।
‘अनुसन्धानबाट लाहान शाखाको रकम ११ वटा खातामा ट्रान्सफर भएको देखिएको छ’, पत्रकार सम्मेलनमा एसएसपी थापाले भने, ‘ती खाताबाट पैसा निकाल्न निकाल्न जाने सबैलाई पक्राउ गरिएको छ। ’
पक्राउ पर्नेमा एक भारतीय नागरिक समेत छन्। घटनाको मुख्य योजनाकार मुम्बईमा रहेको प्रहरीले जनाएको छ। ‘अभियुक्तहरुले १०–१५ प्रतिशत कमिसन राखेर अरु पैसा मुम्बई पठाइदिने योजना रहेको प्रारम्भिक बयानमा उल्लेख गरेका छन्’, थापाले भने, ‘ झिकिएको जम्मा भएको देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौं।’
ह्याकर समूहको ५ अर्ब रुपैयाँ झिक्ने योजना रहेको दावी प्रहरीको छ। पानस रेमिटको उजुरी आधारमा कृषि विकास बैंकको ह्याकिङ प्रकरण खुलासा भएको हो। असोज ५ गते पक्राउ पर्नेहरुमा रसुवाका लवाङ तामाङ, लक्ष्मी तामाङ, काभ्रेका सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, सार्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रमणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, भारत कोलकताका सुवम्कर पञ्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढा छन्।
प्रतिक्रिया दिनुहोस !