प्रदेश १ सरकारले अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने
विराटनगर : प्रदेश १ सरकारले पहिलो पटक सुनसरीको धरानमा अन्तराष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । प्रदेश १ लाई चलचित्रको नगरी बनाउन छायांकन स्थलको पहिचान, चलचित्र छायांकन स्थलको निर्माण तथा प्रदेशका जातजातिको विविधता झल्काउन महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रदेश सरकार र चलचित्र बोर्डको आयोजनामा हुने चलचित्र महोत्सवको सह–आयोजकमा धरान उपमहानगरपालिका रहने छ । महोत्सवलाई स्वीस विकास नियोगले समेत सहयोग गर्ने चलचित्र महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
महोत्सवका विषयमा बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो ।
महोत्सवमा चलचित्रको इतिहास, वर्तमान र भविष्यको समेत पहिचान गर्नेगरी कार्यक्रम हुने मन्त्री कार्कीले जानकारी दिए । नेपाल चत्रचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले कात्तिक २२, २३ र २४ गते हुने चलचित्र महोत्सवमा देश र विदेशका २५ चलचित्र प्रदर्शन गरिने बताए ।
चलचित्र महोत्सवको तीन दिनको अवधि प्रदेश १ चलचित्रमय हुने उनको भनाइ छ । महोत्सवको एक हप्तासम्म प्रदेशका कुनै पनि हलमा हिन्दी तथा अंग्रेजी सिनेमा प्रदर्शन नभई नेपाली चलचित्रहरु मात्र प्रदर्शन गर्ने बारेमा छलफल भइरहेको आयोजकले जनाएको छ । महोत्सव धरान सभागृहमा हुनेछ ।