कांग्रेसमा अनुशासन उल्लंघन, हुँदैन कारबाही

कांग्रेसमा अनुशासन उल्लंघन, हुँदैन कारबाही

काठमाडौं : नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन सिन्धुपाल्चोकमा पार्टी केन्द्रको निर्देशनविपरीत दुई समानान्तर कार्यक्रम भए। पार्टी केन्द्रले सदरमुकाममा विरोध प्रदर्शन र सभा गर्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन दिए पनि सिन्धुपाल्चोकमा भने दुई छुट्टछुट्टै कार्यक्रम भए।

कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले आफ्नो उपस्थितिमा बेग्लै कार्यक्रम गरे भने जिल्ला कार्य समितिले केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको नेतृत्वमा सदरमुकाममा कार्यक्रम आयोजना गर्‍यो। सोही दिन सप्तरीमा कांग्रेस नेताहरूबीच मञ्चमै हात हालाहालको स्थिति उत्पन्न भयो। सांसद तेजुलाल चौधरीले जिल्ला सभापति दिनेश यादवले आफूलाई मञ्चबाट घोक्र्याएर निकालेको आरोप लगाए।

कांग्रेसमा भएका आन्तरिक द्वन्द्वका पछिल्ला उदाहरण हुन् यी। पार्टीभित्र कायम गुटउपगुटको राजनीतिले कांग्रेसमा अनुशासनहीनता बढेको भन्दै आलोचना भइरहेको छ। बस्नेत संस्थापन सभापति शेरबहादुर देउवा पक्षधर हुन् भने यादव संस्थापन इतर।

कांग्रेस सभापति देउवाले पार्टीका आन्तरिक फोरममा सधैं एउटा विषयलाई दोहोर्‍याउने गरेका छन्, त्यो हो अनुशासनको विषय। पार्टीभित्र अनुशासनहीनता बढेको भन्दै रुष्ट देउवाले अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्ने घोषणा त गर्छन् तर कारबाही भने गरेका छैनन्।

दुई वर्षअघि सम्पन्न स्थानीय, प्रदेश र संघको निर्वाचनमा अन्तर्घात गर्नेलाई अनुशासन समितिले छानबिन गरिरहेका भए पनि त्यसबाहेकका अन्य घटनामा भने पार्टीले कसैलाई पनि कारबाही गरेको छैन।

गुटउपगुटबाट जेलिएको कांग्रेसमा पार्टीका मञ्च र विभिन्न कार्यक्रममा नेताहरूले एकअर्काविरुद्ध टीकाटिप्पणी र आलोचना गर्ने विषय नौलो होइन। नीतिभन्दा नेतृत्वविरुद्ध हुने टीकाटिप्पणीप्रति संकेत गर्दै सभापति देउवाले अनुशासनको डन्डा देखाउने गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण पार्टीमा अनुशासनहीनता बढेको बताउँछन्। ‘पार्टीका नेताहरूका केही कमजोरी छन् भने त्यसलाई सुधार्ने हो। पार्टीको व्यवस्थापनलाई सुधार गरेर जाने हो, पार्टीभित्र छलफल गर्न सकिन्छ। केन्द्रीय समितिमा छलफल गरौं। बहस गरौं,’ उनले भने, ‘तर केन्द्रीय समितिमा बोल्दै–नबोल्ने। पार्टी नेताहरूका अगाडि नबोल्ने। पछाडिचाहिँ पार्टी र नेतालाई गाली गर्ने प्रवृत्ति देखिएको छ। यसले पार्टीलाई ठूलो नोक्सान पुर्‍याएको छ।’

पार्टी विधानमा अनुशासनसम्बन्धी व्यवस्था गरिएको छ। विधानको परिच्छेद ९ (३४) मा अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्न अनुशासन समितिको व्यवस्था गरिएको छ। चैत १२ गते बसेको कांग्रेस अनुशासन समितिको पहिलो बैठकले ‘पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरीतका कामकारबाही र गतिविधि लिखित रूपमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रकट गरेमा पार्टी विधान र नियमावलीबमोजिम केन्द्रीय अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय हुने’ निर्णय गरेको थियो।

कांग्रेस नियमावलीमा आचारसंहिता र अनुशासनसम्बन्धी कुनै व्यवस्था छैन। पार्टी विधानअनुसार नै व्यवस्था गर्ने नियमावलीमा उल्लेख छ। नियमावलीको मस्यौदामा रहेको ‘पार्टीको नीति र सिद्धान्तमा आघात पर्ने वा पार्टीको मानप्रतिष्ठा र इज्जतमा आँच पुग्ने खालका सार्वजनिक अभिव्यक्ति दिएमा वा कुनै पनि माध्यमबाट लेखरचना वा अन्य सामग्री प्रकाशित गरेमा’ कारबाही गरिने उल्लेख थियो। तर नियमावली मस्यौदा समितिमै एकमत नभएपछि यो बुँदा हटाइएको हो।

अनुशासन समितिका सदस्य धनराज गुरुङ पार्टीमा अनुशासनविपरीत कार्य गर्नेलाई कारबाही गरिने बताउँछन्। ‘अहिलेसम्म उजुरी परेको छैन, उजुरी पर्‍यो भने कारबाही गर्छ’, उनले भने, ‘पार्टीमा वैचारिक बसहमा रोकतोक हुनुहुँदैन। व्यक्तिगत टीकाटिप्पणी, पार्टीको नीति र नेतालाई बद्नाम गराउने कुरा स्वीकार्य हुँदैन।’

लोकतन्त्रका नाममा पार्टीका नेताविरुद्ध सार्वजनिक रूपमा बोल्न नहुने कांग्रेस केन्द्रीय डा. रामशरण महत बताउँछन्। ‘लोकतान्त्रिक पार्टीमा नीतिगत रुपमा आलोचना हुन सक्छन्। तर पार्टीका कमीकमजोरीलाई सकेसम्म सार्वजनिक गर्नुहुन्न। पार्टीका आन्तरिक कुरा बाहिर छरपस्ट पार्नुहुन्न,’ उनले भने, ‘पार्टीमा चित्त नबुझेका कुरा कहिलेकाहीं सार्वजनिक हुने गरेका छन्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.