त्याग र विद्रोहको प्रदर्शन
काठमाडौं : पृष्ठभूमिमा गणेशको मुर्ति देखिन्छ। नजिकै मन्दिर छ। मन्दिरलाई पछाडि पारेर एक युवती उभिएकी छन्। युवतीले हातमा कमलको पहेलो फुलसंगै सेनेटरी प्याड समाएकी छिन्। प्याड रगताम्य छ। उफ कस्तो नमिल्दो चित्र। मन्दिर छेउमा प्रयोग गरिएको सेनेटरी प्याड।
'त्याग' शीर्षकमा रहेको यो चित्र भक्तपुरकी बिनीता खड्काले बनाएकी हुन्। हिन्दु धर्ममा महिलाहरु रजस्वलाको समयमा मन्दिर जान बन्देज छ। पूजाको थाली बोकेर मन्दिर गइरहेकी युवती बाटोमै रजस्वला भएपछि मन्दिर प्रवेश नै नगरी फर्कन बाध्य भएकी छ। कलाकार बिनीताले चित्रकी युवतीमार्फत सम्पूण महिलाहरुको नियतिलाई देखाएकी छन्।
आस्था र विश्वासको पवित्र ठाउँ हो मन्दिर। कुनै पनि जातजाति, स्तर र मानिसको अवस्थाको आधारमा प्रवेश नै रोक गरिने सामाजिक कुसंस्कारलाई खड्काले चित्रमार्फत विद्रोहात्मक आवाज उठाएकी छन्। सामान्यभन्दा अलि फरक लाग्ने यो चित्रले प्रदर्शनीमा पुग्ने जोकोहिको ध्यान खिच्छ।
ललितकला प्रज्ञाप्रतिष्ठानको प्रदर्शनी कक्षमा सामुहिक चित्र तथा मूर्तिकला प्रदर्शनी सञ्चालन भएको छ। १०४ जना चित्रकार तथा मुर्तिकारको कला राखिएको छ।
प्रदर्शनी कक्षको अघिल्लो भागमा चित्रहरु समेटिएको छ भने पछिल्लो भागमा विभिन्न आकार प्रकारको मुर्तिहरु समावेश गरिएको छ। मुर्ति प्रदर्शनी कक्षमा विजुलीको तारबाट बनाइएका सुन्दर वृक्ष, काठको मानिस, भगवानका स्वरुपहरु तथा चलनचल्तिका सामानहरु, धातुका भाँडाकुडालाई कलात्मक तरिकाले सजाइएको छ। सिर्जनात्मक शैली र विषयको विविधताले हरेक चित्रहरु राम्रा छन्। कला प्रदर्शनी हेर्न जाने हरेक कला पारखी सुमधुर संगीतको धुनसंगै मन्त्रमुग्ध बन्छ।
प्रदर्शनीमा विपिनकुमार घिमिरेले भित्तामा राजनैतिक नारा लेख्दै गरेका मानिसलाई समावेश गरेका छन्। जहाँ महिलाले पोष्टरमा गम लगाइरहेका छन् भने पुरुषले ‘बहुदल आजको खाँचो हो’ कोटसन लेखिएको पोष्टर हतार हतार टाँस्दै गरेको देखिन्छ। नजिकै गस्तिमा रहेका प्रहरीहरु छन्।
ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचायले एक वृद्ध मान्छेलाई प्रोटेटमा उतारेका छन्। चित्रकला विभाग प्रमुख सुस्मा राजभण्डारीले पौराणिक कहानीलाई चित्रमा उतारेकी छन्। यस्तै एन बी गुरुङले मान्छेको नियतिलाई चित्रमा कोर्ने हिम्मत गरेका छन्। जहाँ दुई हातले मुख छोपेकी एक वृद्धा सोचमग्न छिन्। उनका आँखाहरुले पुरानो दिनचर्या सम्झीरहेकी छन्।
राष्ट्र कार्कीले क्यान्सर शीर्षकको चित्र बनाएका छन्। चित्रमा केही मान्छेले चुरोटमा आगो झोसिरहेका छन्। नेपाली निशाना छाप टासिएको डुंगामा एकातिर सुटकेस छ भने अर्कोतिर नेपाल वायुसेवा निगमको जहाज डुबेको छ। बहुअर्थी यो चित्रले पैसा र कमिसनको लोभले निम्तिने क्यान्सरले नेपालको जुनसुकै संस्थान डुव्न सक्ने र धरासायी हुन सक्ने यर्थाथलाई प्रस्टाएको छ।
चन्दा श्रेष्ठले इक्वालीटी शिर्षकमा चित्र कोरेकी छन्। जहाँ क, ख ग श्रीमानले पढेका छन् भने ग, घ, ङ श्रीमतीले पढेकी छन्। साँझपखको पाटन दरवारलाई सुनौलो रंगले उतारेका छन् डिवि राईले। खोटाङका सन्तोष राईले वल्ड पेन्सन शीर्षकमा गजवको चित्र कोरेका छन् जहाँ हाफ पेन्ट र टिसर्ट लगाएकी एक वृद्धा मुडामा बसिरहेकी छन्। चित्रको पृष्ठभुमिमा पैसालाई सुनौलो रंगको टुक्राहरुमा संकेत गरिएको छ। आर्थिक सम्पन्नताले मानिसमा बढ्ने अनेक रहरलाई समेटिएको छ। वृद्धा अवस्थामा पुग्दा पनि ती वृद्धामा सुन्दर देखिने रहर चित्रमा देख्न सकिन्छ।
यस्तै प्रदर्शनीमा समावेश भएको चित्रमा अनेक विषयले स्थान पाएका छन्। प्राकृतिक सुन्दरतादेखि, मिथिला चित्र, पौराणिक लोक चित्र, पौवा चित्रले पनि स्थान पाएका छन्। ल्याण्ड स्केच, प्रोटेट र अक्रेलिक कलरका चित्रहरु तुलनात्मक रुपमा धेरै छन्। यहि अशोज २ गतेदेखि भएको यो प्रदर्शनी १० गतेसम्म सञ्चालनमा छ।