‘कालीचरण’ उर्फ केपी ओली

‘कालीचरण’ उर्फ केपी ओली

काठमाडौं : ‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण ? मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए,

‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्।’ दर्शकदीर्घाबाट पररर ताली बज्यो। प्रधानमन्त्री केपी ओलीका सहपाठी केआर खम्बूद्वारा लिखित छायाँको लस्कर पुस्तकको बिहीबार लोकार्र्पण भयो। उक्त कार्यक्रममा ओलीको राजनीतिक संघर्ष र जीवन भोगाइ उल्लेख गरे, डा. चौहानले। ‘एकपटक त केपी ओली कोठामा पुग्दा हन्हनी ज्वरो आएको थियो,’ डा. चौहानले भने, ‘सिटामोल किन्ने पैसा पनि थिएन उहाँसँग।’

कम्युनिस्ट पार्टीको झापा आन्दोलनका क्रममा ओलीसहित नेताका संघर्षका कथा, ओलीले लेखेका त्यतिबेलाका गीत÷कविता र खम्बूले आफ्नो जीवनका भोगाइ किताबमा उल्लेख गरेका छन्। राजनीतितिर उग्र चाहना भए पनि प्रधानमन्त्री ओलीकै सुझावमा अध्ययनतिर लागेका खम्बूले राजनीति गर्न भने छोडेनन्।

खम्बू महेन्द्र मोरङ विराटनगरमा अध्ययन गर्नेबेलाको कोठा ओलीको आश्रयस्थल नै थियो। संघर्षका पुराना दिन सम्झिँदै प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘स्वास्थ्यलाई ध्यान दिन्नथे। यति सारो बाँच्छु भन्ने लागेकै थिएन, म त उहिल्यै मारिन्छु भन्नेमा थिएँ, तर बाँचिरहेको छु।’

सुरक्षाका दृष्टिकोणले भूमिगतकालमा नेताको नाम पनि भूमिगत नै हुन्थ्यो। वास्तविक नाम र जन्मस्थान फरक पार्दा फसादमा परेको एउटा घटना यसरी स्मरण गरे ओलीले। ‘विराटनगर खम्बूको कोठामा बस्दा छेउकै कोठामा एउटा नवविवाहित जोडी थियो। ती महिलाले मेरो नाम सोध्नुभयो। मैले कालीचरण भने। थर के भन्नुभयो, ‘मैले बस्नेत भने। घर कता सोध्नुभयो, मैले भोजपुर भने। अब भोजपुर कुन गाउँ भनेर उहाँले सोध्नुभयो भने म त फसादमा पर्छु भन्ने सोचिरहेको थिए। उहाँले त्यही सोध्नुभयो। यसो नाम सुनेको गाउँको नाम भनेको त त्यहाँ त उहाँको माइतीघर रहेछ, माइतीको थर पनि बस्नेत नै रहेछ। उहाँले अरू सोध्नुहोला भनेर मैले नै कुरा बंग्याएँ। र भने हुन त घर भोजपुर हो, तर हाम्रो परिवार आसाममा बस्छ भनेर ढाँट्नु पर्‍यो।’

आफ्नो नियत गलत नभए पनि भूमिगतकालमा जस्ताको तस्तै भन्न नमिलेका कारण आफूले ती महिलालाई ढाँटेको ओलीले बताए। सुरक्षाकै कारण नेताले एउटा ठाउँमा एउटा नाम र अर्को स्थानमा पुग्दा अर्को नाम राख्ने गरेको पनि ओलीले स्मरण गरे। ‘त्यसो गर्दा हिजो एउटा नाम भन्ने, आज अर्को नाम, के तत्त्व हो भन्ने जनतामा पथ्र्यो’, ओलीले भने।

पुस्तकमा ओलीका गीत रचना छापिएका र गीत पनि गाउँथे भन्ने चर्चा पनि छ। ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘खम्बूले ढाँट्यो कि भन्ने लाग्ला, तर त्यतिबेला म जंगलमा गीत गाउँथे। गीत पनि कोर्थें।’ कम्युनिस्ट पार्टीमा क्रियाशील पुस्तकका लेखक खम्बू पनि पार्टीको पूर्णकालीन कार्यकर्ता बन्न चाहन्थे। जीवशास्त्रमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन्, खम्बू। तर पछि उनले दुवै आँखाको ज्योति गुमाए। ‘दृष्टिविहीनले लेख्न सक्ने एप्सको प्रयोग गरेर मैले आफैं यो किताब लेखेको हुँ’, लोकार्पण कार्यक्रममा खम्बूले भने। ‘मेरो साथी (खम्बू) को स्मृतिमा अनुहार होइन, छायाँ छ,’ भावुक हुँदै ओलीले भने, ‘उहाँको पुस्तक छायाँ छायाँ छ, तर दुरुस्त छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.