जे छोयो त्यही महँगो

जे छोयो त्यही महँगो

काठमाडौं : दसैंको मुखमा चामल, हरियो तरकारी, खाने तेल, मासु, लत्ताकपडा र जुत्ताको मूल्य बढेको छ। तीन हजार तीन सय पर्ने ३० किलोको जिरा मसिनो बोरामा सय रुपैयाँ बढेको छ। एक हजार पाँच सय ७५ देखि एक हजार ६ सयमा बिक्री हुने २५ किलोको अर्को थरीको जिरा मसिनोको प्रतिबोरा ५० देखि सय रुपैयाँसम्म बढेको छ।

बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्विकारेको छ। विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य वृद्धि भएको बताए।

खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ। संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सबै प्रकारको चामलको मूल्य बढेको हो।

‘चामल आयात गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘मूल्य वृद्धि हुनुमा महँगिएको डलरको प्रभाव र अन्तर्राष्ट्रिय मूल्य वृद्धि पनि हो।’ सरकारले बजेटमार्फत कृषिजन्य तथा औद्योगिक वस्तु आयातमा भन्सार दर बढाएका कारण पनि महँगी बढेको श्रेष्ठको दाबी छ।

वस्तु आयात गर्दा आन्तरिक राजस्व कार्यालयमा वस्तु, सवारीसाधन र बिलबिजकसमेत सुरुमै इन्ट्री गर्नुपर्ने कारणले पनि महँगी बढेको व्यवसायी बताउँछन्।

भदौसम्म प्रतिकिलो ७८ रुपैयाँमा बिक्री हुने चिनीको मूल्य प्रतिकिलो ८० पुगेको छ। एक सय ३० रुपैयाँ लिटरमा आउने भटमासको तेलमा १० रुपैयाँ बढेर एक सय ४० र एक सय ४० मा आउने सनफ्लावर तेलको भाउ एक सय ५० रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार तरकारी र माछामासु आपूर्तिमा केही असहजता देखिएको र स्वदेशी उत्पादन घटेका कारण महँगी बढेको हो। साउनमा तलब र ज्यालादर १३ प्रतिशत हाराहारीमा बढेका कारण श्रम लागत बढ्दा मूल्यवृद्धि भएको राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन्।

भारतमा पछिल्लो महिनामा सुस्त गतिमा भएको मूल्य वृद्धिको दबाब नेपाली बजारमा पनि परेको भट्टले जानकारी दिए। साउनको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा राष्ट्र बैंकले मुद्रास्फिति ६.९५ प्रतिशत पुगेको उल्लेख गरेको छ। केन्द्रीय बैंकले नै यो आर्थिक वर्ष मुद्रास्फिति ६ प्रतिशतभित्र राख्ने प्रक्षेपण गरेको थियो। एक वर्षअघिको तुलनामा तरकारीको भाउ २३.३८ प्रतिशत र फलफूलको भाउ २०.२ प्रतिशत महँगिएको छ।

गत भदौ १५ को तुलनामा शनिबारसम्म हरियो तरकारी तथा सागतर्फ पनि अत्यधिक मूल्य वृद्धि भएको छ। अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सबैभन्दा बढी सागको मूल्यवृद्धि भएको छ। सागमा दुई सय पाँच प्रतिशतसम्म मूल्य वृद्धि भएको छ। ७५ रुपैयाँ किलोमा बिक्री भएको रायो र पालुंगो सागलाई अहिले दुई सय पाँच रुपैयाँ तोकिएको छ। यस्तै कुल खपतको करिब ९८ प्रतिशत भारतबाट आयात हुने प्याजको मूल्यमा ५४.४१ प्रतिशतले मूल्यवृद्धि भएको छ।

प्रतिकिलो ६८ मा कारोबार भएको प्याजको मूल्य एक सय पाँच रुपैयाँ पुगेको छ। ६५ रुपैयाँ जाने भान्टा र बोडीको मूल्य ९२ प्रतिशतले बढेर एक सय २५, ५५ रुपैयाँ प्रतिकिलो पर्ने करेला एक सय २७ प्रतिशतले महँगिएको छ। यसको मूल्य प्रतिकिलो एक सय २५ रुपैयाँ तोकिएको छ। यस्तै लौका, लसुन, भेडे खुर्सानी, भिन्डी, आलुको पनि मूल्य बढेको छ। तरकारीको मूल्यवृद्धिका विषयमा अनुगमन गर्दा केही सातादेखि निरन्तर रूपमा परेको पानीका कारण स्वदेशी तरकारी गलेर भएको र भारतमा समेत पानीका कारण तरकारी उत्पादन कम भएकाले मागअनुसार आपूर्ति नहुँदा वृद्धि भएको गौचनको बुझाइ छ।

। भदौमा प्रतिकिलो ६ सय रुपैयाँ हाराहारीमा रहेको जिउँदो खसीको मूल्यमा एक सय ५० रुपैयाँ बढेको छ। दसैंमा थप ५० देखि एक सय रुपैयाँ बढ्न सक्ने मासु व्यवसायीको भनाइ छ। खुद्रा व्यापारीले भने वृद्धि भएको मूल्यमा झन्डै ४० देखि ५० रुपैयाँ अतिरिक्त जोडेर उपभोक्ताबाट असुल गरिरहेका छन्।

‘अधिकांश दैनिक उपभोग्य वस्तु आयात भएर आउँछ। डलर महँगो हुँदा आयातित वस्तुको मूल्यवृद्धि हुन्छ,’ गौचनले भने, ‘त्यसपछि माग र आपूर्तिको कुरा आउँछ। मागअनुसार आपूर्ति भएन भने केही मूल्यवृद्धि हुन्छ।’ उनका अनुसार केही वस्तुको मागअनुसार आपूर्ति नभएको र केही वस्तुमा महँगिएको डलरको प्रभाव परेका कारण मूल्यवृद्धि भएको हो।

‘मूल्यवृद्धिमा अहिले बिचौलियाभन्दा उत्पादन निकै कम भएको र भएको उत्पादन पनि समयमा राजधानीसम्म आइनपुग्दा ठूलो परिमाणमा बिग्रने भएकाले मूल्यवृद्धि भएको अनुगमनका क्रममा हामीले भेटेका छौं,’ गौचनले भने।

दसैंको मुखमा सबैभन्दा बढी किनमेल हुने वस्तुमा लत्ताकपडा र जुत्ता पर्छन्। भीडभाडको फाइदा उठाउँदै व्यवसायीले लत्ताकपडा र जुत्तामा सय प्रतिशतसम्म बढी मूल्य थपेर उपभोक्ताबाट असुल गर्दै आएका छन्। विभागको अनुगमन टोलीले मूल्यसूची नराखी उपभोक्ताबाट अत्यधिक मूल्य असुल गर्ने व्यपारीलाई जरिबाना तिराएको छ।

विभागका अनुगमन निर्देशक दीपक पोखरेलका अनुसार दरबारमार्ग, न्युरोड, विशालबजार, बानेश्वर, चाबहिललगायतका पसलमा अत्यधिक ठगी हुने गरेको छ। ‘बिक्रीमूल्यभन्दा झन्डै एक सय दोब्बरसम्म मूल्य असुल गरेको भेटिएकाले अनुगमनकै क्रममा आर्थिक जरिबाना गराएका छौं,’ पोखरेलले भने। बजार अनुगमनमा दैनिक पाँचदेखि आठवटा टोली परिचालन गरेको पोखरेलले बताए।

मूल्यसूची नराखेर कपडा र जुत्तामा अस्वाभाविक मूल्य असुल गरेका दरबारमार्गको फेमस ब्रान्ड शाखासँग पाँच हजार, स्पोर्टस प्लाजासँग ७५ हजार, वेन्टेन द लेदरसँग २० हजार, महालक्ष्मीको मेगा मार्टसँग ५० हजार, ललितपुरको काष्ठमण्डप र प्रोटिन हाउससँग ५०–५० हजार, एकान्तकुनाको लाखे सुपर स्टोरसँग १५ हजार रुपैयाँ जरिबाना असुल गरिएको छ।

यसअघि विभागले न्युरोडको रञ्जना कम्पलेक्सका चार जना व्यवसायीसँग जनही ५० हजार रुपैयाँ जरिबाना गराएको थियो। शनिबार पनि नयाँ बोरामा गुणस्तरहीन चामल प्याकिङ गरेको र च्युरामा मिसावट गरेको अभियोगमा विभागले टोखास्थित देवकोटा च्युरा चामल मिलसँग ७५ हजार रुपैयाँ जरिबाना गराएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.