दसैंको चलायमान अर्थतन्त्र

दसैंको चलायमान अर्थतन्त्र

उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने अनुमान गरिएको छ। यसले बजारमा बहार ल्याउँछ, अर्थतन्त्रलाई चलायमान बनाउँछ।


काठमाडौं : नेपालीको महान चाड दसैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकसहित स्वागत गर्छ। दसैं नजिकिँदै गर्दा बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ। किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, सफ्ट ड्रिङ्स, ग्याजेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिजलगायत इलेक्ट्रोनिक्सका व्यापार अधिक हुन्छ। वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल÷रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी हुन्छ। दसैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न अफर सार्वजनिक गरिरहेका हुन्छन्।

उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने अनुमान गरिएको छ। लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने दसैं पर्वमा मानिसले धक फुकाएर खर्च गर्छन्। फलस्वरूप, यसले बजारमा बहार ल्याउँछ र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ।

घरयासी खर्चको एकतिहाइ दसैंमा खर्च हुने गरेको अनुमान गरिएको छ। जसले गर्दा व्यवसायीमा दसैंको अवसर पारेर वस्तु र सेवाको व्यापारका लागि भगिरथ प्रयत्न गर्छन्। ‘दसैंको व्यापारले वर्षभरीको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ’, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल सचिव अनुपकुमार बराल भन्छन्। टिकाउ वस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायत (ड्युरेबल्स) का खरिदकर्तालाई दसैंको अफर नै पर्खेर बस्ने बानी लागिसकेको छ। अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल÷रेस्टुरेन्टले दसैं लक्षित प्याकेज बिक्री गर्न थालेका छन्।

केन्द्रीय तथ्यांक विभागका अनुसार गत आर्थिक वर्षमा कुल घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ छ। चालु आर्थिक वर्षमा यस्तो घरायसी खर्च झन्डै २४ खर्ब रुपैयाँ पुग्ने अनुमान छ। ‘यस हिसाबले वर्षभरीको उपभोग खर्चको एकतिहाइ उपभोग खर्चले दसैंमा करिब आठ खर्ब रुपैयाँ हुने अनुमान गर्न सकिन्छ’, अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन, घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछामासुसमेत बुझिन्छ।’

अर्कोतर्फ, हाम्रो अर्थतन्त्रको झन्डै ४० प्रतिशत हिस्सा अनौपचारिक अर्थतन्त्र भएकाले बजारको कारोबार अर्थात् औपचारिक कारोबार भने झन्डै पाँच खर्च हाराहारीमा हुन्छ। ‘कुल उपभोग खर्चको ६० प्रतिशत बजारको कारोबार (औपचारिक कारोबार) हुने अनुमान गर्न सकिन्छ’, आचार्य भन्छन्।

दसैंले बजारलाई गुलजार बनाउने भएकाले फूलपाती अघिसम्म विक्रेताले छुट र उपहारका विविधि स्किम ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेका छन्। उपत्यका र बाहिरका पुराना बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दसैं केन्द्रित किनमेलको चाप बढ्दो छ।

दसैंमा आफ्नो उपभोगमात्र होइन, उपहार दिने चलन पनि हुन्छ। जसले गर्दा ड्युरेबल्सको खपत बढ्दो छ। ‘पहिले–पहिले सभ्रान्तले मात्र आफ्ना घरपरिवार र आफन्तलाई सवारीसाधन, गरगहनालगायत उपहार दिने चलन थियो’, मेरिगोल्ड ज्वेलर्सकी प्रोप्राइटर ज्योत्सना श्रेष्ठ भन्छिन्, ‘नेपालीको आयस्तरमा वृद्धि र क्रयशक्ति वृद्धि भएसँगै मध्यम वर्गमा पनि यो संस्कार बढोत्तरी भएको छ।’ नेपाली समाजमा सामान्य आय हुने व्यक्तिले पनि लत्ताकपडा, गक्षअनुसार गरगहना उपहार दिने चलन बढ्दो छ।

ज्वेलरी व्यवसायीका अनुसार बढी गरगहनाको व्यापार हुने समय भनेको तिजदेखि तिहारसम्म हो। दसैंमा गैरआवासीय नेपाली दसैं मनाउन आउने तथा वैवाहिक कार्यक्रमसमेत हुने कारणले गर्दा गरगहनाको व्यापार बढी हुने श्रेष्ठ बताउँछन्।

दसैंमा महँगीको मार

दसै नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ। जसले गर्दा निम्न र निम्न मध्यमवर्गलाई बढी असर पारेको छ। उनीहरूको उपभोग क्षमतालाई महँगीले ह्रास ल्याएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मूल्यवृद्धि (उपभोक्ता मुद्रास्फिति) ६.९५ प्रतिशत छ। मौद्रिक नीतिले मुद्रास्फिति ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखेको भए पनि चालु आवको पहिलो महिनामा नै मुद्रास्फिति लक्ष्यभन्दा झन्डै १ प्रतिशत बिन्दूले माथि गएको छ। ‘अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार पनि मूल्य बढ्दा माग घट्छ’, अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘उदाहणका लागि खसीको मासु प्रतिकेजी १३०० रुपैयाँ छ भने प्रतिकेजी ८०० रुपैयाँ हुँदा १० केजी खपत गर्नेले ६–७ केजी मात्र खपत गर्छ। किनकी उपभोगको निर्धारण खर्च क्षमताबाट हुने हो।’

दसैंअघि सवारीसाधनको भाडा बढ्ने चर्चा थियो। त्यसरी भाडा बढेको भए ढुवानी भाडा बढ्न गई समग्र वस्तुको मूल्यमा असर पर्न जान्थ्यो। यद्यपि, अहिले व्यवसायीको भाडा वृद्धिको मागलाई थमौती गरिएको छ। मूल्य बढ्दा बजारमा माग घट्न जाने भएकाले बजार सुस्त हुन्छ। व्यवसायी मूल्यवृद्धिको असरले दसैं बजार विगत वर्षकोभन्दा केही सुस्त भएको स्वीकार्छन्। गत आर्थिक वर्षमा मुद्रास्फिति ४.२ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा खाद्य र पेय पदार्थ (तरकारी, फलफूल, माछामासु, मसलालगायत) गैरखाद्य वस्तु र सेवाको समेत मूल्य बढेकाले मुद्रास्फिति लक्ष्यभन्दा माथि गएको जनाएको छ। दसैंमा ग्रामीण क्षेत्रमा समेत घरायसी उत्पादित सामग्रीमात्र नभएर बजारमा उपलब्ध हुने वस्तुको खरिद बढी हुने भएकाले महँगीले सबैलाई असर पार्ने बताइएको छ। गैरखाद्यवस्तुको समेत मूल्यवृद्धिले सबैलाई महँगीको असर पारेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.