प्रयोग गरेर फालिएका सामानबाट गज्जबका मूर्ति
काठमाडौं : भनिन्छ ‘कला र सिर्जनालाई कुनै नियममा बाँध्न सकिन्नँ।’ कलाको शैली व्यक्तिअनुसार फरक फरक हुन्छ। सिर्जनाले बोक्ने भाव पनि अनेक हुन्छ। हामिले प्रयोग गरेर फालेका प्लाष्टिक, बोतल, क्यान जुसका बट्टा, नकुहिने मेटलहरु जम्मा पारेर फाइबरले मोडेर मूर्तिकार विजय मर्हजनले गजवको मुर्ति तयार पारेका छन्।
'धर्म, कर्म र कुकर्म' शीर्षकमा तीनवटा उस्तै आकारप्रकारका मुर्तिहरु सजाइएको छ आर्ट काउन्सिलमा। हिमालय आर्ट फेस्टिभलको लागि उनले करिव १५ दिन लगाएर यी मुर्ति तयार पारेका हुन्। मर्हजन हरेक चित्रले एउटा विचार बोक्छ भन्छन्। मुर्तिमा गर्भवति महिलाको आधा शरिर देखाइएको छ। एउटा चित्रमा महिलाको हातले पेटको बच्चालाई माया गरेको दृष्य छ, यसलाई असल कर्मसँग जोडिएको उनको भनाइ छ। त्यस्तै अर्को मुर्तिकी महिलाले हातमा भगवानको मुर्ति लिएकी छन्। यसलाई गर्भावस्थामा मानसिक स्वास्थ्यको लागि पनि ध्यान, तथा भगवानप्रतिको आस्थाले गर्दा पेटको बच्चामा पनि राम्रो सन्देश जाने मान्यतालाई देखाइएको उनले बताए ।
'जस्तो कर्म गर्यो, त्यस्तै फल प्राप्त हुन्छ' भन्ने प्रमाणित गर्नका लागि आफ्ना मुर्तिहरुले सहयोग गर्ने मर्हजनको दावी छ। उनका अनुसार माथिपट्टि खाली रहेका यी मुर्तिहरुलाई विरुवा तथा फुल रोप्ने गमलाको रुपमा पनि प्रयोग गर्न सकिन्छ। जसरी विरुवा रोपेपछि मलजल हाल्ने, पानी राख्ने गरी हेरचाह गर्नुपर्छ त्यसरी नै बच्चा जन्माउने आमाले पनि पेटभित्रको बच्चालाई निकै हेरचाह र माया गर्नुपर्ने बताउँछन् उनी।
प्रयोग गरेर फालिएको नकुहिने फोहरमैलाबाट आर्टका विभिन्न सामान बनाएर आर्थिक उपार्जन गर्न सकिने तर्क गर्छन् मर्हजन। उनले विभिन्न ठाउँमा नकुहिने बस्तुको पुनप्रयोगको बारेमा बताउँदै र सिकाउँदै पनि आएका छन्। सानैदेखि फरक शैलीको काम गर्न रुचाउने मर्हजन काठमाडौं छाउनीका रैथाने हुन्। हाल पानीपोखरीमा स्टुडियो खोलेर पुर्णसमय मुर्ति सिर्जनामै लागिपरेका छन्।
त्रि.वि.बाट फाइन आर्टमा मास्टर्स सकेका उनी स्कप्चरकै तीन महिले कोर्सका लागी थाइल्याण्ड पुगेका थिए। त्यहा उनले मुर्तिकै विविध आयाम र शैली सिक्ने मौका पाए।
नेपालमा पछिल्लो समय प्लाष्टिक तथा नकुहिने बट्टाहरुले गर्दा जताततै फोहरमैला बढिरहेको छ। मन्दिर होस् कि अस्पताल, पार्क वा नदि नाला कतै पनि प्लाष्टिकको फोहरबाट अछुतो हुन नसकिरहेको अहिलेको अवस्थामा यस्ता सामाग्रीलाई आर्टका स्वरुपमा ढाल्न सके फोहरमैला व्यवस्थापनमा पनि सहयोग पुग्ने उनको दावी छ। यस्तो प्रक्रियालाई सानो उद्योगकै रूपमा अगाडि बढाउन सकिने उनी बताउँछन्।