आई एम योर पिपुल

आई एम योर पिपुल

काठमाडौं : यस वर्षको दसैं सुरु भइसकेको छ। दसैंमा प्रायजसोले क्षमताअनुसारको किनमेल, घुमघामको योजना बनाएका हुन्छन्। आर्टको विषयमा बुझौं, आर्टलाई पनि किन्ने सामानको रूपमा विस्तार गरौं भन्ने उद्देश्यका साथ हिमालय आर्ट फेस्टिभल आइतबारदेखि राजधानीमा सुरु भएको छ।

ई आर्टस् नेपाल र सहयोगी आठवटा संस्थाको आयोजनामा सुरु भएको कला महोत्सवमा, स्कप्चर, पौवा चित्र, फोटोग्राफी, इन्स्टलेसन आर्ट, सेरामिक्स् परफरमेन्स आर्टलगायत आर्टका विभिन्न विधा प्रदर्शनमा छन्। एक सय ५० जना कलाकारका दुई सयभन्दा बढी कला सिर्जना प्रदर्शनीमा राखिएको छ।

नेपालमा आर्टमै काम गर्दै आएका सबैजसो कलाकारको कलाकृति संलग्न छन्। नेपाली समाजमा कला बुझ्ने बानीको विकास भइसकेको छैन। सबै दर्शकले किन्न नसके पनि नेपाली कलासँग प्रत्यक्ष जोडिन सकून्, र आर्टलाई माया गरून् भन्ने चाहना आयोजकको छ।

बबरमहलस्थित आर्ट काउन्सिलको प्रदर्शनी कक्ष। अनेक आर्टका आकार प्रकारले झकिझकाउ छ। काउन्सिलको दोस्रो तलामा जुपिटर प्रधानले एक आर्टको नमुना निर्माण गरेका छन्। ‘आई एम योर पिपुल’ शीर्षकको यो आर्टमा सुन्दर कलात्मक कुर्सीमाथि चाँदी रङको एकजोर खराउ सजाइएको छ। कुर्सीको तल्लो लेयरमा केही मान्छेले घेरेका छन्। कुर्सीबाहिर मान्छे आकारका टाउका उभिएका छन्। मान्छेहरू समान साइज र कलरका छन्। यो चित्रले अहिलेको सत्तामोह र सरकार चलाउने जस्तोसुकै मानिस कुर्सीमा पुगे पनि नेपाली जनताले स्वीकार गर्ने प्रवृति व्यंग्य गरेको छ। जुपिटरका अनुसार, कुर्सीमा कस्तो क्षमताको मानिस राख्ने हो हामीलाई थाहा छैन, मान्छे नभएर उसको खराउले नै राज गरे पनि हामी जनता चुपचाप स्वीकार गर्छौं। रामायणमा राम वनवास जाँदा उनको भाइले रामको खराउ सिंहासनमा राखेर राजकाज चलाएको कहानी सुनेर हुर्किएका हामी अहिलेको यो युगमा पनि त्यही प्रवृत्ति अपनाएको देखेर कलाकार प्रधानले यो आर्टमार्फत व्यंग्य गरेका हुन्।

उजय वज्राचार्यले ३५ वटा बुद्धको सिरिजलाई प्रदर्शनीमा सजाएका छन्। उस्तै आकार प्रकार र रङमा कोरिएका बुद्धको चित्रमा उनको अनुहारको हाउभाउ भने भिन्न बनाइएको छ। आशा डंगोलले हिमालको चित्रमा भैरवको अनुहार जोडिदिएका छन्। किन त ?  मानिसको चहलपहलले हिमाल निकै फोहर र प्रदूषित भइसक्यो। नेवारी संस्कृतिमा भैरवको अनुहारले रिसाएको भाव बुझ्न सकिन्छ। यस्तै हिमालरूपी भैरव पनि हामीसँग खुब रिसाएको छ। उसले केही अनिष्ट गर्नुअघि हामीले उसको प्राकृतिक सुन्दरता जोगाउनुपर्छ।

यस्तै जस्मिन राजभण्डारीले गजबको चित्र कोरेकी छन्। वन मेन सप नामक उक्त चित्रमा सहरबजारमा तरकारी बेच्दै हिँड्ने एक्ला पसलेलाई उतारिएको छ। ठेलाभरि मुला, काउली, गोलभेँडा, गाजर, करेलाजस्ता तरकारी बोकेर हिँडेको पसलेको छेउमा चारतिरबाट ग्राहक ओइरिएका छन्। कोही घिरौंला छान्दैछन् त कोही मुला तान्दैछन्। बडो कलात्मक तरिकाले बनाइएको यो चित्रमा मानिसको व्यस्तता चित्रण गरिएको छ। मोबाइल लभर लेखिएको एक चित्रमा कोक्रोमा सुताइएको बच्चा पनि मोबाइलमा व्यस्त छ। स्मार्टफोनले पछिल्लो समय बच्चादेखि बूढासम्मलाई प्रभाव पारिरहेको छ। बच्चा कोक्रोमा झुन्ड्याइएको खेलौनातिर मतलव नगरी मोबाइल चलाइरहेको यो चित्र निकै मार्मिक छ।

यस्तै कलात्मक चित्रले कला परिषद्को सेरोफेरो रमाइलो बनेको छ। कोही कलाकार परफरमिङ आर्टको तयारीमा छन् त विभिन्न मूर्ति पनि सजाइएको छ। फलाम, काठ, मेटल, माटो तथा ढुंगाबाट बनाइएका स्कप्चर पनि प्रदर्शनीमा समावेश छ। कलाका अनेक आयाम समेटिएको प्रदर्शनी कलामय बनेको छ।

प्रदर्शनीमा शैली सुवेदीको सांगीतिक परफरमेन्स आर्ट पनि समावेश हुनेछ। यस्तै कलाकै विषयमा प्यानल डिस्कसन, कत्थक डान्स प्रस्तुति, गोपाल कलाप्रेमीको सेरामिक्स फिरिन वर्कसप पनि सञ्चालन हुँदैछ।

कन्टेम्पोरी आर्टको विकास गर्ने उद्देश्यका साथ सन् २०१० मा ई आर्टस् नेपालको अनलाइन ग्यालरी सुरु भएको हो। यो ग्यालरीमा ६० जना नेपाली आर्टिस्टका ६ सय कन्टेम्पोरी पेन्टिङ बिक्रीमा राखिएको छ। अमेरिका, अस्ट्रेलिया, भारत, चीन, ताइवानलगायतका ठाउँबाट पेन्टिङको अर्डर आउने गरेको छ। आर्टका पारखीले एकै पटक धेरै आर्टिसका आर्ट हेर्न पाउने हँुदा अनलाइन ग्यालरीको लोकप्रियता बढ्दो छ।

यो ग्लालरीमा अनलाइनबाटै चित्र किन्न बेच्न सकिन्छ। ई आर्टस् नेपालले गत दुई वर्षदेखि हरेक वर्षको सेप्टेम्बरमा हिमालयन आर्ट फेस्टिभल सञ्चालन गर्दै आएको छ। दसैं तिहारको समयमा मानिसहरू फेस्टिभल मुडमा हुन्छन्। केही नयाँ सामान किन्ने, नयाँ ठाउँमा घुम्न जाने, लुगा, गरगहना जोड्ने गरेको पाउँछांै हामी। यही समयमा अफिसमा पनि लामो बिदा हुने भएकाले मानिसहरू बिन्दास मुडमा हुन्छन्। आर्ट पनि बेच्ने साधनको रूपमा बनाउन फेस्टिभल गरिएको ई आर्टसका फाउन्डर तथा आयोजक सदस्य भाइराजा महर्जनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.