चिनियाँ राष्ट्रपति सी आज आउने, दर्जन सम्झौता तयार

चिनियाँ राष्ट्रपति सी आज आउने, दर्जन सम्झौता तयार

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणमा शनिबार काठमाडौं आउँदैछन्। उनी दक्षिण एसियाको शक्तिशाली मुलुक भारतको अनौपचारिक भ्रमण सकेर नेपाल आउन लागेका हुन्।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मुख्यालय काठमाडौंमा रहेका कारण नेपाललाई दक्षिण एसियाकै राजधानी मान्ने गरिएको छ। नेपाल सार्कको अध्यक्षसमेत हो। चीन सार्कको पर्यवेक्षक मुलुक हो। चीनले सार्कमा आफ्नो भूमिका खोज्दै आएको छ।

सीले दुईपक्षीयबाहेक बहुपक्षीय र क्षेत्रीय विषयमा मोमल्लीपुरम र काठमाडौंमा छलफल गर्नेछन्। नेपालमा हुने भेटमा उनले त्रिदेशीय सहकार्यको विषयमा पनि जोड दिने बताइएको छ। त्यो विषयमा नेपालले पनि आफूलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।

सार्कका प्रभावशाली नेताको रूपमा रहेका नरेन्द्र मोदीसँग मोमल्लीपुर उहान–२ वार्ता गरी उनी सार्क अध्यक्षसमेत रहेको मुलुक आउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

उहान–१ मा चीन–भारतबीच प्लस वानको भूमिकामा नेपालको नाम आएको थियो। उनको राजनीतिक भ्रमणलाई दुईपक्षीय रूपमा मात्र लिन नहुने विज्ञको सुझाव छ। कूटनीतिक क्षेत्रका जानकारले नेपाली नेतालाई राष्ट्रपति सीको नेपाल भ्रमणलाई अर्थपूर्ण र महत्त्वपूर्ण रूपमा लिँदै सावधानीपूर्वक वार्तामा प्रस्तुत हुन सुझाएका छन्। सरकारले दुईपक्षीय सहकार्यका एजेन्डा तयारी गरेको बताए पनि पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्रमन्त्रीसँग बिहीबार मात्रै छलफल गरी औपचारिक धारणा बुझेको छ।

चीन मामिलामा राजनीतिक नेतृत्त्वबीच मत बाझिएको अवस्थामा सरकार निकै सचेत भएर वार्तामा प्रस्तुत हुनुपर्ने सुझाव विज्ञले दिएका छन्। हिमालपारिको छिमेकबाट २३ वर्षपछि उच्चस्तरको भ्रमण हुन लागेको हो। उच्चस्तरीय भ्रमणलाई नेपालले राजनीतिक, आर्थिक तहबाट फलदायी बनाउने हैसियतमा आफ्ना धारणा प्रस्तुत गर्न सक्नु पर्ने सुझाव आइरहेको छ। सी भ्रमणलाई नेपालले निकै प्राथमिकतामा दिएको छ।

सीको विचारधारामा चीन अघि बढिरहेको छ। माओ र तङ स्याओ पिङ पछि अर्का प्रमुख नेताको रूपमा दरिएका सीले विश्व नेतृत्त्वको महत्त्वकांक्षा प्रस्तुत गरिरहेका छन्।

एकदिने भ्रमणको तयारीमा रहेका सी नेपालको आग्रहलाई स्वीकार गर्दै दुईदिने बनाउनुलाई उनले नेपालप्रति देखाएको चासोलाई झल्काएको छ। नेपाल चीनको विवादरहित छिमेक हो। नेपालले आफ्नो भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन दिँदैन भन्ने सन्देश खम्पा विद्रोह दमन गर्दा नै देखाएको हो।

यो विश्वासमा अडेको चीनसँगको सम्बन्धलाई अझ कसिलो बनाउने गरी आर्थिक सहकार्यमा नेपाल अग्रसर हुनु आवश्यक छ। सीको भ्रमणलाई सर्वसाधारणले पनि चासो देखाएका छन्।

भ्रमणका क्रममा नेपाल र चीनबीच दर्जनभन्दा बढी सम्झौता र सहमति हुने बताइएको छ। सम्झौता तथा सहमतिको खाका नेपालले तय गरिसकेको छ।

सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकासलगायतका विषय सम्झौता तथा सहमतिमा समेटिएका छन्। सरकारी अधिकारी नेपालले बनाउन लागेको पूर्वपश्चिम रेलमार्गमा चिनियाँ सहयोग घोषणा हुन सक्ने आशामा छन्।

सरकारले पूर्वपश्चिम रेलका लागि चिनियाँ एक्जिम बैंकसँग ऋणको अपेक्षा गरेको छ। भ्रमणको एजेन्डमा त्यो विषय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचीमा राखेको छ।

केरुङ–काठमाडौं रेलका विषयमा विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार गर्ने विषयमा जोड दिइने भएको छ। यस्तै सरकारले टोखा–छहरे सुरुङमार्गसहित सडक खण्ड निर्माणको प्रस्ताव गर्ने तयारी गरेको छ। अन्य दर्जनभन्दा बढी विषयमा छलफल भई सम्झौताका लागि तयारी गरेको बताइएको छ। भ्रमणमा चीनले सरप्राइज घोषणा गर्न सक्ने अनुमान गरिएको छ।

सीको बास सोल्टीमा

विदेशी विशिष्ट पाहुनाका लागि भन्दै राजपरिवारको चासोमा खुलेको नेपालका पुरानो पाँचतारे सोल्टी होटलमा चिनियाँ राष्ट्रपति सी बस्ने भएका छन्। उनीसहित चिनियाँ प्रतिनिधिमण्डलका लागि भन्दै सात बंग्लो, स्विट र अन्य २ सय ८० कोठा बुक गरिएको छ। क्यासिनो पनि चिनियाँको लागि बुक गरिएको छ। होटल चिनियाँ पक्षले चार दिनका लागि लिएको हो।

शीतल निवास र एयरपोर्टबाहेक अन्य समय राष्ट्रपति सी होटल सोल्टीमा नै हुनेछन्। उनीसँग केही मन्त्रीसहित एक सय पाँच जनाको टोली रहनेछ। शुक्रबारदेखि होटल सोल्टीको क्यासिनो बन्द गरी कडा सुरक्षा प्रबन्ध गरिएको छ। होटल सोल्टीमा करिब एक महिनादेखि चिनियाँ र नेपाली सुरक्षाकर्मीले रेकी गर्दै आएका थिए। सार्कका अधिकांश राष्ट्र तथा सरकार प्रमुख पनि त्यही होटलमा बस्ने गरेका थिए।

काठमाडौं ओर्लेपछिका कार्यक्रम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उहान–२ वार्ताका लागि मोमल्लीपुर पुगेका चिनियाँ राष्ट्रपति सी वार्ता सकेर शनिबार काठमाडौं आउन लागेका हुन्। काठमाडौंमा अवतरण गरेपछि सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री केपी शर्मा ओली पनि विमानस्थल पुग्नेछन। त्यहाँ उनलाई गार्ड अफ अनर दिइने कार्यक्रम रहेकाले मन्त्रिमण्डलका सदस्य तथा संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका अधिकारी त्यहाँ पुग्नेछन्। गार्ड अप अनर सकिएपछि उनी सिधै होटल सोल्टी जानेछन्।

केही समय आराम गरेपछि उनी राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुग्नेछन्। राष्ट्रपतिसँग भेटवार्ता पछि त्यहाँ दुईपक्षीय सम्बोधन हुनेछ। त्यसका लागि सबै व्यवस्था मिलाइसकेको परराष्ट्र अधिकारीले बताए।

त्यहाँबाट उनी सोल्टी फर्कने छन्। त्यहाँ उनको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गरिएको छ। ब्यङक्विट रिसेप्सन हुनेछ। सीमित मानिसलाई मात्र उपस्थित गराइने रात्रिभोजमा अनौपचारिक कुराकानी हुनेछ। सबै कार्यक्रम सोल्टीमा नै हुनेछ। आइतबार विमानस्थल जानुअघिसम्मका सबै भेटघाट सोल्टी होटलमै हुनेछ। चिनियाँ राष्ट्रपति सीले होटल सोल्टीमा नै प्रधानमन्त्री ओलीसँग आइतबार प्रतिनिधिमण्डल स्तरमा छलफल गर्नेछन्। छलफलमा केही हस्ताक्षर हुने कार्यक्रम छ।

त्यसलगत्तै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुनेछ। उनले त्यसपछिको भेटवार्ता प्रमुख प्रतिपक्ष एवं चिनियाँ कम्युनिस्ट पार्टीको पुरानो मित्र भनेर चिनिएको कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। त्यसपछि अन्य केही नेतालाई पनि भेट्ने तयारी गरेको अधिकारीले बताए। सबै भेटवार्ता सकेर उनी आइतबार स्वदेश फर्कनेछन्।

उनको भ्रमणको सुरक्षाका लागि पाँच सय बढी चिनियाँ सादा पोसाकका सुरक्षाकर्मी र गुप्तचर परिचालन गरिएको छ।

स्वागतमा कर्मचारी

चिनियाँ राष्ट्रपति सीको स्वागत र बिदाइका लागि निजामती कर्मचारी सडकमा उपस्थित हुनेछन्। सी नेपाल आउने दिन शनिबार र स्वदेश फर्किने दिन आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निजामती कर्मचारीले स्वागत गर्न सरकारले निर्देशन दिइसकेको छ।

निजामती पोसाकमा उनीहरू शनिबार दिउँसो ३ः४५ बजे र आइतबार बिहान ११ः१५ बजे सडकमा उभिने छन्। प्रत्येक मन्त्रालयलाई कम्तीमा एक सय कर्मचारी उपस्थित गराउन निर्देशन दिइएको छ।

भ्रमण तयारी पूरा

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सी भ्रमणको तयारी बारे ‘ब्रिफिङ’ भएको छ। ब्रिफिङमा सबै प्रक्रिया पूरा भएको बताइएको छ। ब्रिफिङमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागी थिए।

मुख्यसचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर ढुंगानाले चिनियाँ राष्ट्रपतिको भ्रमणको मुख्य तयारी पूरा भएकोबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको हो।

के भन्छन् सी ?

चिनियाँ राष्ट्रपति सीले आफूले पहिलो पटक नेपाल भ्रमण गर्न लागेको भए पनि नेपालबारे आफू जानकार रहेको सन्देश दिएका छन्। आफ्नो आलेखमार्फत उनले नेपालको सौन्दर्यता र संस्कृतिको बखान गर्दै आफूले निकै पहिलेदेखि नै नेपाल भ्रमण गर्न चाहेको जनाउ दिएका हुन्।

उनले चीनमा आएका नेपाली नेतासँग धेरै पटक भेटवार्ता गर्दै गहिरो मित्रता गाँसोको उल्लेख गर्दे भनेका छन्, ‘नेपालसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न म आतुर छु। द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ खाका बनाउन पहल गर्नेछु।’ नेपाल–चीनबीच एकले अर्कोलाई सम्मान र विश्वास गर्दै आएको धारणा पनि उनको छ।

दक्षिण एसियामा नेपाल चीनको व्यापार तथा विकासको महत्त्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेकोमा उनले खुसी व्यक्त गरेका छन्। राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दै आएको र यसमा सहयोग जारी राख्ने पनि उनले स्पष्ट पारेका छन्।

वर्तमानमा नेपाल सरकार र जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्तिका लागि अघि बढिरहेका छन् भने चिनियाँ सरकार र जनता ‘दुईवटा सय वर्ष’ लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेका सन्दर्भ उनले साथ र सहकार्यमा जोड दिएका छन्।

रणनीतिक सञ्चारलाई प्रगाढ, व्यावहारिक सहयोगको विस्तार, जनस्तरीय आदानप्रदानलाई व्यापक बनाउने र सुरक्षासम्बन्धी सहयोगलाई सुदृढ गर्दै लैजान उनले जोड दिएका छन्।

उनले सहयोगको भावनालाई दुई देशको युक्तिसँग जोडेका छन्। ‘थोपा–थोपा मिलेर समुद्र बन्दछ’, नेपाली भनाइ तथा ‘सबैले दाउरा थप्दै गए आगोको ज्वाला अझै ठूलो हुँदै जानेछ’ चिनियाँ धारणामा अडेर नै हामी अघि बढ्ने हो भन्दै उनले भनेका छन्, ‘चीन र नेपालको हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याउन हामी सहकार्य गरेर अघि बढ्नेछौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.