ओझेलमा परेका संस्कृति शिरोमणि

ओझेलमा परेका संस्कृति शिरोमणि

काठमाडौं : उमेरले ८० वसन्त पार गरिसक्यो। आँखाहरू दिगमिगाइसके। लर्बरिएको आवाज, कुप्रिँदै गएको शरीर र ढलपल गर्दै हिँड्ने पाइलाहरू वि श्राम खोजिरहेछन्। शरीरले बुढ्यौली लागेको संकेत गरे पनि इतिहासका पन्नाहरू खोज्न, सांस्कृतिक धरातल केलाउन हरिराम जोशीको मन र मस्तिष्क सधैैं नौ जवान व्यवहार देखाउँछ।

संस्कृतिविद् जोशी आफ्नो अध्ययनप्रतिको गहिरो रुचिका कारण सधैं जागरुक युवाझैं बाँचेका छन्। ६ दशकभन्दा बढी समयदेखि नेपालका इतिहास, धर्म, संस्कृतिको गहन अध्ययन गरी उनले ३० भन्दा बढी पुस्तक प्रकाशनमा ल्याइसके।

शुक्रबार एक कार्यक्रममा उनको अर्को पुस्तक सार्वजनिक भएको छ। ‘अभिनव वेदादी कोष’ शीर्षकको उक्त पुस्तक वैदिक तथा विभिन्न कालखण्डका धर्म, संस्कृति, समाज तथा राजनीतिक व्यवस्थाको व्याख्या गरिएको पुस्तक हो। वेदका पन्ना पन्ना पल्टाएर त्यहाँका श्लोक उद्धृत गर्दै लेखिएको यस पुस्तकप्रति युवाको आकर्षण सायद कमै जाला। तर हरिराम जोशी यो पुस्तक युवाहरूले नै अध्ययन गरून् भन्ने उद्देश्यले लेखिएको बताउँछन्।

जोशी भन्छन्, ‘म चाहन्छु यो पुस्तक आजका युवा वर्गले पढुन्। पुस्तकमा विभिन्न कालखण्डको सामाजिक व्यवस्थाको चर्चा छ। इतिहास छ, धर्म संस्कृति छ, राजनीति छ। त्यसले हाम्रा समाजमा अभ्यासमा रहेका धर्म संस्कृति, परम्पराका बारेमा वैचारिक मतभेदलाई चिर्न मद्दत गर्नेछ।’

उनी मुस्कुराउँदै भन्छन्, ‘पन्नापिच्छे वेदका श्लोकहरू भेटाउँदा पाठकलाई झर्को लाग्न सक्छ तर यो पुस्तकको विशेषता नै यही हो।’ कुनै पनि सामाजिक व्यवस्थालाई व्याख्या गर्दा वा बुझ्दा सोही कालखण्डलाई मध्यनजर गर्नुपर्ने उनको तर्क छ। आजको समाजसँग ती व्यवस्था मेल नखान सक्छन्, उनी भन्छन्, ‘यसको मतलव ती व्यवस्था सबै गलत थिए भन्न मिल्दैन।’

आजको नयाँ पुस्ताले आधुनिकतालाई आत्मसात् गरेका छन्। कतिपय अवस्थामा युवावर्गबाटै मौलिक तथा लोकसंस्कृतिको अवमूल्यन गरेको पनि पाइन्छ। धर्म, संस्कृति तथा परम्परा समयअनुसार परिमार्जन गर्दै लग्नुपर्छ। तर त्यसको वास्तविक मर्म र महŒव नबुझी व्याख्या गरियो भने हामीले सही अर्थमा हाम्रा धर्म परम्परालाई गहिरिएर अध्ययन नगरेको प्रस्ट हुने जोशीको धारणा छ।

मदन पुरस्कार विजेता संस्कृति शिरोमणि हरिराम जोशी ६ दशकभन्दा बढी समयदेखि नेपालको इतिहास, धर्म, संस्कृति आदिसँग सम्बद्ध विषयमा निरन्तर कलम चलाइरहेका छन्। यसै क्रममा उनले मदन पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार एवं डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार प्राप्त गरिसकेका छन्। उनलाई जनस्तरबाट पनि संस्कृति शिरोमणिको उपाधि प्राप्त छ। आफ्नो ढल्कँदो उमेरमा पनि इतिहास, संस्कृतिको क्षेत्रमा निरन्तर कलम चलाइरहेका जोशीको योगदानलाई समाज र सरकारले खासै चासो दिएको भने छैन। कताकता उनी भुलिएको पात्र बन्न पुगेका छन्। उनी दियो मुनिको अँध्यारोजस्तै बन्न पुगेका छन्। तर आफ्नो कार्मप्रति सधैं निष्ठावान् भएर लाग्ने जाशी आफू ओझेलमा परेकोमा कसैप्रति गुनासो पोख्दैनन्। भन्छन्, ‘आफ्नो कर्म गर्दै जाने हो यसमै सन्तुष्ट छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.