सी र मोदीबीच अनौपचारिक वार्तामा के भयो कुराकानी ?
नयाँ दिल्ली : चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मामल्लपुरममा शुक्रबार साँझ ५ बजेदेखि १० बजेसम्म करीब पाँच घण्टा समय अनौपचारिक वार्तामा बिताएका छन्। भारतीय विदेश मन्त्रालयले शुक्रबार राति गरेको मिडिया ब्रिफिङमा विदेश सचिव विजय गोखलेले दुवै नेताले अनौपचारिक वार्तामा पाँच घण्टाको 'क्वालिटी टाइम' बिताएको बताए।
युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको शोर मन्दिरमा आयोजना गरिएको आधा घण्टाको कलाक्षेत्र सांस्कृतिक प्रस्तुति बाहेकको समय उनीहरूले एक्लाएक्लै कुराकानीमा बिताएको गोखलेले जानकारी गराए। दुई दिने अनौपचारिक भ्रमणका क्रममा शुक्रबार साँझ चेन्नइबाट मामल्लपुरम पुगेका चिनियाँ राष्ट्रपति सीलाई मोदीले महाभारतका पात्र अर्जुनले तपस्या गरेको स्थलको प्रांगणमा स्वागत गरेका थिए।
दक्षिण भारतीय पहिरनमा रहेका मोदीले सीलाई त्यहाँबाट सांस्कृतिक धरोहरको अवलोकन गराउँदै कुराकानीको क्रम अगाडि बढेको थियो।
राष्ट्रपति सीलाई चेन्नईको विमानस्थलमा तामिलनायडुका राज्यपाल वनवारीलाल पुरोहितले स्वागत गरेका थिए। चेन्नई विमानस्थलमै सांस्कृतिक कार्यक्रम आयोजना गरेर सीको पारम्परिक तरिकाले स्वागत गरिएको थियो। सीले यो स्वागतको प्रशंसा गरेका थिए। सी चेन्नईबाट मामल्लपुरमकालागि प्रस्थान गरेका थिए।
भेटवार्ताको पृष्ठभुमि
चीनको वुआनमा अप्रिल २०१८ मा भएको सी मोदीको अनौपचारिक वार्ताको दोश्रो श्रृखंलाको रुपमा यो अनौपचारिक शिखर वार्ता रहेको छ। भारत र चीनबीच दोक्लाम विवाद चर्किएको समयमा यो अनौपचारिक वार्ताको वातावरण मिलाइएको थियो। त्यतिबेलाको भारत चीन सम्बन्धको पृष्ठभूमि र अहिलेको अवस्थामा खासै तात्विक भिन्नता आएको छैन। उतिबेला भारत, भुटान र चीनको त्रिपक्षीय साँधमा रहेको दोक्लामको सीमामा भारत र चीनका सेनाहरूबीच घम्साघम्सी परेको थियो।
अहिले भारत सरकारले जम्मु कश्मीरको विशेषाधिकार खारेजसँगै चीनको चासो रहेको कश्मीरबाट अलग्गयाएर लद्दाखलाई केन्द्र शासन मातहत ल्याउने निर्णय गरेको छ। यो निर्णयमा एकातिर पाकिस्तानको चर्को विरोध छ भने अर्कोतिर चीनले समेत यो मुद्दामा एक समय खुलेर पाकिस्तानको साथ दिएको देखिएको छ।
व्यापार मुख्य आवश्यक्ता
यद्यपि यो पृष्ठभुमिमा समेत यो अनौपचारिक शिखर वार्ताका लागि दुवै मुलुक तयार भएका कारण व्यापारिक सम्बन्ध नै प्रमुख देखिएको छ। चीनका उत्पादनका लागि भारत ठूलो बजार रहेको छ भने भारतको लागि चीन व्यापारिक साझेदार। एक अर्काको आवश्यक्ता र महत्त्व दुवै मुलुकले बुझेका कारण नै हुन सक्छ, सौहार्दपूर्ण वातावरणमा यो अनौपचारिक भेट सम्भव भयो। यद्यपि चीनले बीआरआई परियोजनामा भारतको साथ पाएको छैन। भारतको साथ नपाएसम्म चीनको पाकिस्तान सम्मको सीपेक परियोजना अपुरो हुन्छ।
सांस्कृतिक धरोहरको अवलोकनमा भएको छलफल
यद्यपि यी कुरालाई थाति राख्दै शुक्रबार दुवै नेताहरूबीच द्वीपक्षीय हीत र चासोका मुद्दामा वृहत छलफल भएको छ। गोखलेका अनुसार मोदीले दक्षिण भारतको चीनसँगको ऐतिहासिक तथा व्यापारिक सम्बन्धबारे चर्चा गरेका थिए। बोधिधर्माको उदाहरण पनि उल्लेख गरिएको थियो। बोधिधर्माले तामिलनायडुबाट बुद्धका विचार चीन र जापान सम्म पुर्याएका थिए।
अर्जुन तपस्यास्थलमा भएका मनुष्य र जनावरका कलाकृति देखाउँदै प्रकृतिप्रेमी मोदीले जीवनयापनकालागि प्राकृतिका यी दुई प्राणीहरू बीचको एकताबारे सीलाई बिस्तार गरेका थिए। त्यसपछि मोदीले सीलाई गणेश रथ देखाएका थिए। पल्ल्व वंशले १३०० वर्ष पहिला बनाएको यो मन्दिरको मान्यता वर्तमान सभ्यता र जीवित सँस्कृतिमा पनि रहेको र अहिले पनि सो मन्दिरमा पूजा अर्चना हुने वास्तविकता मोदीले सीलाई सुनाएका थिए।
ऐतिहासिल स्थलको अवलोकन पछि सीले यी पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक कतिपय धरोहरबारे आफू जानकार रहेको भन्दै यस्ता कुराबाट द्वीपक्षीय सम्बन्धमा उपयोग गर्ने बारे चासो राखेका थिए।
डिनर टेबलमा के भयो कुराकानी ?
डिनर टेबलमा झण्डै दुई घण्टा बिताएका दुई नेताले खुला र सौहार्दपूर्ण वातावरणमा 'वन टु वन' कुराकानी गरे। दुवै नेताहरूबीच राष्ट्रिय हित, आ–आफ्ना सरकारका प्राथमिकताका विषयमा विस्तारमा कुराकानी भएको थियो।
प्रधामन्त्री मोदीले सीलाई आफू जनताको मतका आधारमा पुनः दोश्रो पटक चुनिएर आएको बताउँदै आर्थिक विकास अबको प्राथमिकता रहेको स्पष्ट पारेका थिए। सीले मोदीको कुरामा समर्थन जनाउँदै आफू भारत सरकारसँग निकै नजिक भएर काम गर्न इच्छुक रहेको बताए।
उनीहरूबीच दुई मुलुकको आर्थिक, व्यापारिक तथा लगानी प्रोत्साहित गर्न लागि सम्भाव्यताका क्षेत्रहरूबारे पनि छलफल भएको थियो। व्यापारको आकार र मूल्य कसरी बढाउने बारे पनि छलफल भयो। भारतीय प्रधानमन्त्रीले चीनसँगको व्यापार घाटा र असन्तुलनका बारेमा पनि चिनपिङसँग चासो राखेका थिए।
आतंकवादका मुद्दाहरूमा दुवै मुलुकले झेलिरहेको समस्या दुई नेताहरले साझा गरेका थिए। दुवै नेताहरूले आ–आफ्ना मुलुकको आकार वृहत भएको भन्दै कट्टरवाद दुवै मुलुकको चासोको विषय रहेको स्वीकार गरेका थिए। दुवै मुलुकको बहुजातीय, बहुसांस्कृति र बहुधार्मिक समाजलाई जोगाउन सँगै मिलेर काम गर्न सक्ने सहमति गरेका थिए। यो छलफलको सार आतंकवाद दुवै मुलुकको साझा समस्या थियो।
नेपाल प्रस्थान गर्नुअघि शनिबार पनि सी र मोदीबीचको वान टु वान छलफल जारी छ। जसमा क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्दाहरुका विषयमा यी दुई नेताले कुराकानी गर्ने विदेश मन्त्रालयले जनाएको छ।मोदीको पहिलो कार्यकालदेखि अहिलेसम्म चिनियाँ राष्ट्रपतिसँग अन्य १७ मिटिङ गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !