१२ वर्षअघिको हत्यामा सांसद आलम पक्राउ

१२ वर्षअघिको हत्यामा सांसद आलम पक्राउ

गौर : १२ वर्षअघि इँटाभट्टामा जलाएर दुईजनाको हत्या गरेको अभियोग लागेका सांसद मो अफताब आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सर्वाेच्च अदालतले उनलाई नियन्त्रणमा लिई ‘कानुनी कारबाही गर्न’ ७ वर्षअघि आदेश दिएको थियो । त्यसयता उनी दुईपटक संसद् सदस्यमा प्रतिस्पर्धा गरिसके । २०७० मा हारे र २०७४ मा जिते ।

सर्वोच्चको आदेश फैसला कार्यान्वयन निर्देशनालयले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई पक्रन पटक–पटक आदेश दिँदै आएको थियो । पद र सत्ताको प्रभावमा उनी बच्दै आएका थिए ।

रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित आलम आइतबार बिहान पिप्राभगवानपुरमा पक्राउ परेका हुन् । भारतीय नम्बरको बीआर ०६ पिई १२०२ नम्बरको गाडीमा उनी वैवाहिक कार्यक्रममा जाँदै थिए । गौर–चन्द्रपुर सडक खण्डको इद्रिसगेट नजिकै प्रहरीले समातेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले बताए ।

२०६४ मा भएको पहिलो संविधानसभा चुनावको अघिल्लो रात चैत २७ मा भएको बम विस्फोटमा घाइते भएका युवालाई जलाएर हत्या गरेको घटनाका आरोपी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वमन्त्री शेख इद्रिसको पुरानो घरमा बम विस्फोट हुँदा पिन्टु भन्ने २४ वर्षीय त्रिलोकप्रताप सिंह र अर्का २२ वर्र्षका ओसी अख्तर ज्यान गएको थियो । राजपुर गाउँ नजिकैको इँट्टाभट्टामा जलाएर प्रमाण नष्ट गरेको भन्दै २०६५ वैशाख ९ मा पिन्टुका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले सांसद आलम, उनका भाइ महताबसहित मोबिन आलम, शेख भदई र शेख सवेजविरुद्ध किटानी जाहेरी दिएका थिए । पीडित परिवारको जाहेरीपछि २०६५ असार ३० मा महान्यायाधिवक्ता कार्यालयले रोक्साना खातुन वादी रहेको मुद्दामा कोहीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णयपछि पीडित श्रीनारायण सिंहले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वाेच्चले २०६९ जेठ १६ मा मुद्दाको गम्भीरतापूर्वक अनुसन्धान गरी ‘प्रचलित कानुनबमोजिम’ कारबाही गर्ने आदेश दिएको थियो ।

अदालतको आदेश नमानेको भन्दै पीडित पक्षले २०७३ मा जिल्ला प्रहरी कार्यालय रौतहटविरुद्ध मानहानि मुद्दा दर्ता गराएका थिए । निर्देशनालयले २०७५ चैत ८ मा जिल्ला प्रहरी कार्यालयलाई ताकेता गर्दै मुद्दाको अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपी सांसद आलमलाई प्रहरीले पक्राउ गरेको हो । सर्वोच्चको आदेशअनुसार आलमलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिए । अन्य आरोपी फरार छन् ।

बमकाण्ड घटना के हो ?

२०६४ को पहिलो संविधानसभा चुनाव चैत्र २८ गते हुँदै थियो । अघिल्लो दिन २७ गते राति राजपुर फरदवाकोमा बम विस्फोट भयो । चुनावमा बुथ कब्जा गर्न ल्याइएका बम विस्फोटन भएको र सोही विस्फोटनमा करिब दुई दर्जन मानिस घाइते भएको दाबी गरिएको छ । आपराधिक गतिविधिमा संलग्न धेरै भारतीयलाई पैसा दिएर प्रयोग गरेको उनीमाथि आरोप छ ।

घटना लुकाउन विस्फोटमा मारिएका तथा घाइते भएकाहरूलाई गाउँ नजिकैको आफन्तको इँटाभट्टामा जलाएको पीडित पक्षको दाबी छ ।

घटनामा आफन्त मारिएको भन्दै यमुनामाई गाउँपालिका–४ का सिंह र खातुनले नेता आलमसहित ५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । विस्फोटबाट क्षति पुगेको खपटाले छाएको घर राति नै मर्मत गरिएको थियो । मृतक तथा घाइतेलाई जलाइएको भनिएको इँटाभट्टा घटनाको केही वर्षपछि बन्द भएको थियो । अहिले सो स्थानमा धानखेती छ ।

जाहेरवालामा न्यायको आश

दुईजना जाहेरवालामध्ये रोक्साना खातुनको २०६७ माघमा हत्या भइसकेको छ । छोराको हत्यारामाथि कारबाहीको गर्न मागसहितको उजुरी लिएर भौँतारिएकी खातुनको गाउँनजिकै उखुबारीमा शव फेला परेको थियो ।

छोराका हत्यारामाथि कारबाही माग गर्दै आएका श्रीनारायण सिंहले १२ वर्षमा न्याय फर्किएको प्रतिक्रिया दिएका छन् । ‘कानुन छ भन्ने विश्वास हराइसकेको थियो, आलम पक्राउपछि आशा पलायो । अब न्याय पाइन्छ कि !’, उनले भने ।

को हुन् अफताव आलम

राजपुर फरदवाका ५२ वर्षीय मो अफताव आलम काका शेख इद्रिसको प्रभावबाट राजनीतिमा प्रवेश गरेका हुन् ।

आलम ०५४ सालमा भौतिक योजना तथा निर्माण सहायकमन्त्री, २०५७ मा वनमन्त्री, २०५८ मा भूमि सुधार र २०६५ मा श्रम तथा यातायातमन्त्री भएका थिए । आलम कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा रौतहट जिल्लाका पूर्वसभापति हुन् ।

सांसद पक्राउको विरोधमा प्रदर्शन

रौतहट कांग्रेस सभापति कृष्ण यादवले सांसद आलम पक्राउको घटनाप्रति खेद प्रकट गर्दै उनको अविलम्ब रिहा गर्न माग गरेका छन् । आलमलाई रिहा नगरे सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी सभापति यादवले दिएका छन् ।

आलम पक्राउ भएलगत्तै कांग्रेस कार्यकर्ताले दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटअगाडि घेराउ गरी प्रदर्शन गरेका छन् । प्रतिपक्षी दलका नेता सिध्याउने खेलमा सरकार लागेको भन्दै त्यसको विरोध गर्ने सभापति यादवले बताए ।

कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चियापान कार्यक्रम समेत सांसद आलम पक्राउ परेपछि बिथोलिएको छ । कांग्रेस कार्यकर्ताले गौर–चन्द्रपुर सडकखण्डको ठाउँठाउँमा विरोध प्रर्दशन गरेका छन् ।

संसद्लाई पक्राउको जानकारी

प्रहरीले सांसद आलमलाई पक्राउ गर्नुअघि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई टेलिफोनमार्फत जानकारी गराएको थियो । सभामुख पद खाली भएकाले प्रहरीले उपसभामुख तुम्बाहाम्फेलाई जानकारी गराएको थियो । बहालवाला सांसदलाई पक्राउ गर्नुअघि सभामुखलाई जानकारी गराउनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ ।

आइतबार नै प्रहरीले आलम पक्राउ गरेको लिखित पत्र पठाएका कारण संसद् सचिवालयले यससम्बन्धी सूचना सोमबार टाँस गर्ने तयारी गरेको छ । फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको तलब, सुविधा स्थगन हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.