चिनियाँ मिडियाको नजरमा राष्‍ट्रपति सीको नेपाल भ्रमण

चिनियाँ मिडियाको नजरमा राष्‍ट्रपति सीको नेपाल भ्रमण

बेइजिङ : चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ११ देखि १३ तारिखसम्म भारतमा दोस्रो अनौपचारिक वार्तासँगै नेपालको राजकीय भ्रमण सम्पन्न गरी १३ तारिख राति बेइजिङ फर्केका छन्।

चिनियाँ राष्ट्राध्यक्ष सीको दक्षिण एसिया भ्रमणलाई चिनियाँ जनताले मात्र नभई विश्वले नै महत्त्वपूर्ण एवं ऐतिहासिक मानेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन्। यस भ्रमण टोलीका सदस्यसमेत रहेका मन्त्री यीले दक्षिण एसिया भ्रमणको दोस्रो गन्तव्यका रूपमा चिनियाँ राष्ट्राध्यक्षले २३ वर्षपछि नेपालको भ्रमण गरेबाट चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका हुन्।

भ्रमणबारे जानकारी दिँदै चीन र नेपालले बेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्दै बन्दरगाह, सडकमार्ग, रेलमार्ग, हवाई, सञ्चार आदि क्षेत्रसम्बन्धी परियोजनामार्फत हिमालय वारपार त्रिआयामिक सम्पर्क सञ्जाल निर्माणलाई तीव्रता दिने बताए।

राष्ट्राध्यक्ष सीको यस दक्षिण एसिया भ्रमण कूटनीतिको सफल अभ्यास भएको पनि उनले बताए। यस भ्रमणबाट चीन र दुई मुलुकबीचको सम्बन्धको विकासका लागि नयाँ प्रवद्र्धन शक्ति प्राप्त भएको र प्रशस्त उपलब्धि हासिल भएको छ।

चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणलाई चिनियाँ सञ्चारमाध्यमले पनि उत्तिकै महत्त्व दिएका छन्। इतिहासका मैत्रीपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि भएको जनाउँदै राष्ट्राध्यक्ष सीको नेपालको भ्रमणका क्रममा दुई देशका राष्ट्रप्रमुखले विकास तथा समृद्धिका लागि युगौंयुग मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध निर्माण गर्ने घोषणा गरेको उल्लेख गरेका छन्। उक्त घोषणाले १० वर्षअघि निश्चित गरिएको चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई उकासेको छ। जसबाट भविष्यमा दुई देशको सहयोग अझ व्यापक र विकास तथा समृद्धि उन्मुख हुनेछ।

सीजीटीएनले सीको नेपाल भ्रमण क्रममा दुई देशले एक संयुक्त विज्ञप्ति जारी गर्दै द्विपक्षीय सम्बन्धको नयाँ चरणमा व्यावहारिक सहयोगमा सहमति जनाउँदै विकास र समृद्धिका लागि अनन्त मित्रतासहितको सहकार्यको रणनीतिक साझेदारीमा सम्बन्ध विस्तार गरेको जनाएको छ। यो महत्त्वपूर्ण विषयलाई प्राथमिकतासाथ सबै सञ्चार माध्यमले ठाउँ दिएका छन् भने चिनियाँ राष्ट्राध्यक्षले चीनलाई विभाजन गर्न खोज्ने तत्त्वलाई ध्वस्त पारिनेछ भन्ने भनाइलाई पनि त्यत्तिकै प्राथमिकता दिइएको छ।

नेपालका प्रधानमन्त्री, कम्युनिस्ट पार्टीका नेतागण तथा कांग्रेस सभापति सबैले चीनविरूद्ध नेपालको भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता र एक चीन नीतिप्रति अडिग रहेको बताइएको कुरालाई पनि महत्त्वसाथ छापेका छन्। सछ्वान विश्वविद्यालयको चाइना सेन्टर अफ साउथ एसिया स्टडिजका प्राध्यापक तथा विज्ञ सदस्य ताइ योङहोङको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्स लेख्छ, ‘चिनियाँ शीर्ष नेताले प्रस्तुत गरेको यस्तो कडा र स्पष्ट भनाइ तिब्बती अलगाववादी मात्र नभई सिन्च्याङ, थाइवान र हङकङ अलगाववादीलाई समेत कडा चेतावनी हो।’

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाललाई पुरानो र असल मित्रका रूपमा वर्णन गरिएको छ। साथै, नेपाल दक्षिण एसियामा ‘बेल्ट एन्ड रोड’ को निर्माण गर्ने महत्त्वपूर्ण साझेदार भएको र यो नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्य साकार तुल्याउन सहयोगी हुने पनि चिनियाँ सञ्चार माध्यमको भनाइ छ।

गत वर्ष द्विपक्षीय व्यापारिक रकम १ अरब १० करोड अमेरिकी डलर हुनुका साथै नेपालका लागि चीनको लगानी ३० करोड डलरभन्दा बढी पुगेको खबर पनि छ। यस भ्रमणबाट चीन र नेपालको सहयोग तथा विकासमा नयाँ मौका सिर्जना हुने जनाउँदै अधिक मात्रामा चिनियाँ पर्यटक भित्रिने कुरा पनि छ। गत वर्ष कुल १ लाख ५० हजार चिनियाँ पर्यटकले नेपालको यात्रा गरेका छन्।

सीको नेपाल भ्रमण सम्पन्न भइसक्दा पनि चिनियाँ टेलिभिजनलगायत सञ्चार माध्यममा अझै उक्त निपोआर (चिनियाँले नेपाललाई निपोआर भन्छन्) भ्रमणको चर्चा जारी छ। समस्त चिनियाँ पनि हिमालपारिको सानो मुलुकबारे जानकारी पाउँदा खुसी देखिन्छन्।

नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सव समारोहपछिको पहिलो भ्रमणका रूपमा राष्ट्राध्यक्ष सीले दुई छिमेकी मुलुक भारत र नेपालको भ्रमण गरेका हुन्। भारत र नेपाल चीनका लागि दक्षिण एसियाको दुईवटा महत्त्वपूर्ण छिमेकी मुलुक हुन्।

राष्ट्राध्यक्ष सीको यस भ्रमण चीन र दक्षिण एसियाका मुलुकबीच बेल्ट एन्ड रोडको निर्माणलाई अघि बढाउनका लागि हितकर हुनुका साथै क्षेत्रीय र समस्त विश्व शान्ति, स्थिरता र विकासका लागि अत्यन्तै महत्त्वपूर्ण अर्थ रहेको छ।

भारत भ्रमण अवधिमा दुवै देशका नेताले मतभेदको उचित समाधानसँगै रणनीतिक पारस्परिक विश्वासलाई सबल पारेको छ भने नेपालको दुईदिने राजकीय भ्रमणबाट चीन–नेपाल सम्बन्ध र मैत्रीपूर्ण सहयोगमा नयाँ युगको आरम्भ गरेको छ। नयाँ आरम्भबाट चीन र नेपालले आपसी राजनीतिक विश्वास र खुलापनलाई सबल पारी दुई देशको भाग्य समुदायको निर्माण गरी हिमालय वारपारको मित्रतालाई नयाँ उचाइमा पुर्‍याउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.