सहयोगीको भरमा पर्यटक सूचना केन्द्र
महादेव अवस्थी
महेन्द्रनगर : नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित पर्यटन बोर्डको कार्यालय पाँच वर्षदेखि सहयोगीका भरमा छ।
सरकारले २० लाख पर्यटन भिœयाउने उद्देश्यले भ्रमण वर्षको प्रचारप्रसारमा जोड दिए पनि पर्यटक भित्रिने प्रमुख नाकाको पर्यटकलाई गन्तव्यबारे सूचना दिने कार्यालयमा सहायक थानेश्वर लेखकका भरमा चलेको छ।
नेपाल भित्रिने विदेशी नागरिकलाई यहाँका पर्यटकीयस्थलबारे जानकारी दिने उद्देश्यले पश्चिमी सिमानाका गड्डाचौकीमा नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्र स्थापना गरिएको भए पनि कर्मचारी नहुँदा समस्या हुने गरेको कार्यालय सहायक थानेश्वर लेखकले बताए।
‘कार्यालयले हाकिम नपाएको पाचँ वर्ष बित्यो’, लेखकले भने, ‘कार्यालयमा भएका पर्यटकीय गन्तव्यको ब्रसर बाडिरहेको छु।’ कार्यालयमा प्रमुख नहुँदा काममा समस्या हुने गरेको उनले बताए।
सन् २०१८ मा गड्डाचौकी नाका भएर दुई हजार नौ सय ३० जना विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार यहाँबाट अमेरिका, फ्रान्स, जर्मन, बेलायतलगायत देशका नागरिक नेपाल भित्रिने गरेका छन्।
सन् २०१९ को ‘जुलाई’ सम्म एक हजार पाँच सय ९८ जना विदेशी पर्यटक गड्डाचौकीबाट नेपाल भित्रिएका छन्। कञ्चनपुरमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार नहुँदा गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटक काठमाडौं, पोखरालगायत सहरमा घुम्न जाने गरेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए।
‘विदेशी पर्यटकले नै योजना बनाएको हुन्छ, पछि यहाँ आएर थाहा पाउँदा घुम्न जादैनन्’, भण्डारीले भने। उनले पर्यटक प्रवद्र्धनका लागि प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यक रहेको बताए।