गगन र विश्वप्रकाशहरूले सक्छन् त ?

गगन र विश्वप्रकाशहरूले सक्छन् त ?

नत्र कांग्रेस तीन हजारको संख्यामा रहेका सुविधाभोगी महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको क्लब मात्र हुनेछ


हामीले बुझेको लोकतन्त्र कुनै तिलस्मी काव्य वा रचना होइन। यो कुनै भावनात्मक कविता र निबन्ध पनि होइन न त अमूर्त चित्र। यो कुनै नेता वा दलविशेषको प्रशस्ति, पूजा वा आराधना पनि होइन। लोकतन्त्र भनेको हरेक नागरिकको जीवनमा हर क्षण उसले अनुभव गर्ने राजनीतिक, सामाजिक र आर्थिक प्रणाली हो।

नेपालले प्रजातन्त्र वा लोकतन्त्रको जतिसुकै जपना रटान गरे पनि निर्दलीय पञ्चायतकालदेखि आजसम्म नेपाली प्रजातन्त्र वा लोकतन्त्र र त्यसका संरचनाले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका सत्ताधारी समूहलाई सुख, सम्पत्ति र सुरक्षा तथा मनोरञ्जनबाहेक आम जनतालाई पनि केही दिएका छन् त ? प्रश्न उठिरहेका छन्। वर्षौंदेखि मुलुक त्यही प्रश्न गरिरहेको छ। जनताले केही नपाएकै हुन् त ? त्यो पनि होइन, केही त पाएकै छन्, तर धेरै गुमाएका पनि छन्। जनताले पाएको भन्दा जनताबाट खोसिएका धेरै छन्। केही पाउन नेता नै हुनुपर्ने, नेताका निकट नै हुनुपर्ने, दलमै हुनुपर्ने परिपाटीको विकास भएको छ।

नीतिमा लोकतन्त्र आयो तर नियतमा आउन सकेन। नयाँ संविधान र नीतिनियमले व्यक्तिको नियत परिवर्तन गर्न सक्दैन। त्यसका लागि विवेक चाहिन्छ, नीतिले विवेक पनि निर्माण गर्दैन। त्यसैले त मानवताको मूल्य स्थापित भएको हो।

आफूलाई लोकतन्त्रको पहरेदार सम्झने दल नेपाली कांग्रेसले नै यसलाई सत्य सावित गर्न सकेन। पछिल्लो १३ वर्षमा कांग्रेसले सिद्धान्त रक्षार्थभन्दा सत्ता समीकरणलाई महŒव दियो। सिंगो जीवन लोकतन्त्र स्थापनामा समर्पण गरेका गणेशमान सिंह मात्र होइन, कृष्णप्रसाद भट्टराईले समेत जीवनको उत्तरार्धमा पार्टी छाड्नुपर्‍यो। यो सबै सिद्धान्तसँग सत्ता साट्नुको परिणाम थियो। कांग्रेस समर्थक र कार्यकर्तालाई माओवादीमा भोट हाल्न उर्दी नै जारी गरियो। लोकतान्त्रिक पार्टीमा लागेको यो दाग विद्यमान नेतृत्व पुस्ताले मेट्न सक्दैन। किनकि सत्तासँग सिद्धान्त यही पुस्ताले साटेको छ।

बीपी र कांग्रेस जनजागरण अभियान

बीपी कोइरालाको निधनलगत्तै कांग्रेसले उनलाई अवमूल्यन गर्न थालेको हो। किसुनजी र गणेशमानहरूबाटै त्यसको आरम्भ भएको थियो तर आम जनता र कांग्रेसका कार्यकर्तालाई त्यसको अनुभव भएको थिएन। अनुभव हुने गरी सबैले देख्ने र बुझ्ने गरी गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवनको अन्तिम कालखण्डमा आएर विचार, नीति र कार्यक्रमबाटै बीपीलाई अपमानित गराउने प्रक्रिया आरम्भ भयो।

कांग्रेसीहरूले नबुझेको वा बुझेको नदेखिएको एउटा सत्य राजनीतिक प्रणाली, विचार वा दर्शनले मुलुकको इतिहास, अस्तित्व र औचित्यका मूल मर्मलाई आत्मसात गरेको हुनुपर्छ। त्यो विश्वास र रणनीतिमा जोडिएको हुनुपर्छ। त्यसबाट राजनीतिक विचार, दर्शन र प्रणालीले राजनीतिक र रणनीतिक गहिराइ वा सघनता प्राप्त गरेको हुन्छ र त्यसले दलको मौलिकता निर्माण गर्छ।

बीपी महामानव होइनन्। महान् सन्त र महात्माबाहेक कोही महामानव हुन सक्दैनन्। हो, बीपी नेपालका महान् राजनेता भने हुन्। किनभने यो युगमा त्यत्तिका दूरदर्शी व्यक्ति नेपालमा जन्मिएनन् पनि। उनी सरकार वा सत्तामा धेरै समय रहेनन्। उनको अधिकांश समय जेल र निर्वासनमा बित्यो। कांग्रेसका नेताकार्यकर्ता पनि मुलुकभित्र खासै देखिन्नथे, देखिन सम्भव पनि थिएन।

सर्वशक्तिमान राजा, गाउँदेखि केन्द्रसम्मको विराट् र शक्तिशाली राज्य संरचना, त्यसलाई समर्थन र संरक्षण गर्ने बलिया सामाजिक र सांस्कृतिक संस्था र संरचनाविरुद्ध मुठीभर नेता र कार्यकर्ताको बलमा बीपी राजनीतिको केन्द्रमा थिए। उनकै वरिपरि नेपालको राजनीति घुमेको थियो। पञ्चायतले बीपीको विरोधमा राजनीति हाँकेको थियो र कम्युनिस्टहरूले बीपीकै विरोधमा आफ्नो राजनीति धानेका थिए। त्यसको मूल कारण बीपीले नेपाली राजनीतिको रणनीतिक गहिराइ नापेका थिए। कांग्रेसको राजनीतिको जरोलाई त्यो गहिराइसम्म पुर्‍याएका थिए। राष्ट्रिय मेलमिलापको नीति त्यसैको परिणाम थियो।

अहिले कांग्रेसले बीपीविरोधी कोइरालाको नाम भजाइरहेको छ। सिद्धान्त छियाछिया भए पनि बीपीले मेलमिलाप नीति लिएर स्वदेश फर्केपछि थालेको चियापान कार्यक्रमलाई भने कांग्रेसले निरन्तरता दिइरहेको छ। बीपीकै जन्म दिन पारेर दोस्रो जनजागरण अभियान पनि सकेको छ।

अभियान पहिलोभन्दा थोरै गतिशील देखिएपछि कांग्रेसीहरू हौसिन थालेका छन्। पहिलो जागरण अभियानमा तीनै तहको निर्वाचनमा भएको लज्जास्पद हारमा नेतृत्व जिम्मेवार रहेको भन्दै कार्यकर्ताको खप्की खाएर फर्कनुपरेको थियो। त्यतिबेला निराश भएर फर्किएका नेता दोस्रो जागरण अभियान चल्दै गर्दै सरकारप्रतिको बढ्दो वितृष्णाकै कारण कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति बढेपछि उनीहरूको मनोबल बढेको छ।

कांग्रेसका कार्यक्रमहरूमा जनताले देखाएको उपस्थिति पार्टीका कुनै नीति र कार्यक्रमको आकर्षणले भएको थिएन, सरकार र सत्तारूढ दलप्रतिको अरुचि र वितृष्णाका कारण थियो।

गगन, विश्वप्रकाशले पार्टी हाँकेको हेर्ने आशा

गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित सभाहरू भने बढी ओजिला देखिएका थिए। उनीहरूमा कार्यकर्ताको आकर्षण पनि होला तर त्यो उपस्थितिलाई कांग्रेसप्रतिको माया र मोह बढेको भनेर अर्थ लगाउनु छिटो हुनेछ। कांग्रेसलाई युवा पुस्ताका गगन र विश्वप्रकाशले हाँकेको हेर्न चाहनेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। त्यसो त उनीहरूसँग पनि कांग्रेस सुधार्ने नयाँ र विश्वासिलो सूत्र फेला परेको छैन। खासै आशा र विश्वास जगाउने राजनीतिक व्यक्तित्व र चरित्र निर्माण गरेको पनि देखिँदैन। मुलुकका समसामयिक, राजनीतिक, सामाजिक र आर्थिक चुनौतीलाई सामना गर्ने स्पष्ट चिन्तन, विचार र दर्शनको बलमा नभएर आफ्नो वक्तृत्वकलाको प्रभावकारी प्रस्तुतिको बलमा मात्रै पार्टीका युवा पंक्तिमा गगन र विश्वप्रकाशहरू स्थापित देखिन्छन्।

बीपी, गणेशमान, किसुनजीहरूले सिंगो जीवन कांग्रेस निर्माणमा समर्पण गरे। ठूलो त्याग, तपस्या, बलिदान, असहनीय यातना झेले। गिरिजाप्रसादको योगदान पनि कम छैन। तर उनले लामो समय सत्ताको न्यानो पाए पनि मुलुक निर्माणमा चाहेजस्तो योगदान दिन सकेनन्। केबी गुरुङ, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका विद्यमान नेतृत्व पुस्ताका नेताहरूको तुलनामा तुलनात्मक रूपमा सजिलो समयमा विद्यार्थी राजनीतिबाट एकैचोटि पार्टी सत्ताको केन्द्रमा आइपुगेका गगन र विश्वप्रकाशले मुलुक र पार्टीलाई दिने नयाँ कुरा के हो ? त्यो उनीहरूले प्रस्ट पार्नुपर्छ। तब मात्र उनीहरूले पार्टी हाँकेको हेर्न चाहनेहरूको संख्या बढ्दै जानेछ।

सैद्धान्तिक निष्ठामा प्रश्न

अहिले कांग्रेस सिद्धान्त र निष्ठाका हिसाबले जीवित त छ ? प्रश्न बारम्बार उठिरहन्छ। नेतृत्वको कार्यशैलीले सिद्धान्त र निष्ठालाई सुनिश्चित गर्न सक्ने क्षमता राख्दैन। नेतृत्वका लक्ष्य आत्मकेन्द्रित छन्, न इमान छ, न विधिको अनुशरण गर्ने क्षमता। अब पनि यही नेतृत्वबाट कांग्रेस अघि बढाउन खोजियो भने प्रजापरिषद्को बाटो मात्र सुरक्षित हुनेछ। अबको पुस्ताको विश्वास र समर्थन प्राप्त गर्न पनि नयाँ सोच र शैलीबाट कांग्रेसलाई अघि बढाउनुपर्छ। कांग्रेसलाई माया गर्ने ठूलो बौद्धिक जमात् छ। आस्थाकै आधारमा भोट हाल्ने नागरिकको संख्या ठूलो छ। कांग्रेसरूपी छहारीमा नबसेर पनि बीपीकै नाममा मतदान गर्नेहरूको अटुट विश्वास र मायालाई अहिलेको कांग्रेसले सम्मान गर्न जानेन। त्यसैले सैद्धान्तिक निष्ठामा उठेका प्रश्नको उत्तरसहित आम नागरिकले चाहेको छहारी बन्न पनि गगन विश्वप्रकाशहरू अघि सर्नुपर्छ।

दण्डहीनता र भ्रष्टाचार यही रूपमा अघि बढ्दै गयो भने मुलुक राजनीतिक दलले सम्हाल्न नसक्ने द्वन्द्वमा जाकिनेछ, त्यतिबेला ‘आउने बाढीले लोकतन्त्र मात्र होइन यो युगको राजनीतिक पुस्तालाई पनि सँगै लिएर जानेछ।

हो, कांग्रेस यतिबेला वैचारिक संकटमा छ। न वर्तमानमा कसरी चल्ने भन्ने नीति छ न त कांग्रेसलाई कसरी उन्नत बनाउने भन्ने सुस्पष्ट विचार। आम कांंग्रेसजन भन्दैछन्, शेरबहादुर र रामचन्द्रहरूले विगतमा पार्टीका लागि महत्त्वपूर्ण योगदान गरे तर अब यिनै पात्रहरू अघि सरेर वा सारिएर कांग्रेस उकालो नलाग्ने सिद्ध भइसकेको छ। नागरिकका अपेक्षा सम्बोधनमा असफल भइसकेको सरकारको विरोधबाहेक पार्टीको गिर्दो इतिहासमा नयाँ इँटा थप्ने एजेन्डा हालका दिनमा कांग्रेससँग देखिएको छैन। वैचारिक संकट समाधानको सूत्रसहित सबैलाई जोड्ने पार्टी निर्माणको नयाँ एजेन्डा अघि सारेर गगन र विश्वप्रकाशहरू अघि सरून् भन्ने चाहना गर्नेहरूको संख्या बढ्दो छ।

प्रभावकारी वक्तृत्व क्षमता वा आक्रामक शैलीका टीभी अन्तर्वार्ता मात्रै कुनै राजनीतिक योग्यता हो भने रवि लामिछाने, ज्ञानेन्द्र शाही, अर्जुन प्रसाई वा सुरेन्द्र केसीहरू आम युवा र अन्य जनसमुदायमाझ गगन र विश्वप्रकाश शर्माभन्दा बढी लोकप्रिय होलान्। वर्तमानले असफल सिद्ध गरिसकेका नेताको नामसँग जोडिएर आउने क्रम गगन र विश्वप्रकाशहरूले भंग गरेर आम कांग्रेस कार्यकर्ताको विश्वाससहित नागरिकसँग जोडिने सूत्रको खोजी गर्ने साहस गर्नुपर्छ।

देउवा फेरि सभापति हुन चाहन्छन् तर नयाँ सोच र अभ्यासप्रति चासो राख्दैनन्। समस्याको दीर्घकालीन समाधान खोज्नुभन्दा टालटुले नीति उनको शैली हो। क्षमता नभएपछि अरूलाई दोष थोपरेर नेतृत्वमा बसिरहन पनि सुहाउँदैन। तैपनि उनी फेरि साम, दाम, दण्ड, भेद प्रयोग गरेरै अर्को कार्यकालका लागि सभापति बन्न चाहन्छन्। त्यो भनेको कांग्रेसका लागि प्रजापरिषद्को बाटो हो।

पार्टी सिद्धान्तको पुनर्परिभाषा र संगठन पुनर्निर्माणको नयाँ योजनासहित आम नागरिकसँग टुटेको सम्बन्ध जोड्न पनि कांग्रेस सुधारका खाकासहित गगन र विश्वप्रकाशहरू अघि सर्नुपर्छ। कांग्रेसलाई माया गर्ने जमात् भन्दै छ— अहिलेको नेतृत्व पुस्ताबाट पार्टी हाँक्ने राजनीतिक मैदान सहज रूपमा प्राप्त गर्न कठिन छ तर भावी पुस्तालाई कांग्रेसको नाममा राजनीति गर्ने मैदान तय गरिदिन पनि गगन र विश्वप्रकाशहरूले खोसेर पनि नेतृत्व लिने आँट गर्नुपर्छ। आम जनतासँग जोडिन सक्ने सूत्र र दुईतिहाइको कम्युनिस्ट सत्तासँग प्रतिस्पर्धा गर्न पनि गगन र विश्वप्रकाशहरू अघि सर्नैपर्छ। धेरैले आशा गरेको अवस्थामा अघि नसरे कहिले सर्ने ?

के गर्दैछन् गगन र विश्वप्रकाशहरू

यतिबेला गगन पार्टी पुनर्निर्माणको आवश्यकता र औचित्यबारेमा बहस गरिरहेका देखिन्छन् भने विश्वप्रकाश कसैलाई पनि नचिढाउने गरी प्रस्तुत भइरहेका छन्। दुवै युवा राजनीतिक संस्कार र क्षमता भएका नेतामै गनिन्छन्। प्रवक्ता भएकाले पनि विश्वप्रकाशलाई बोल्न असहज भएको होला। ‘एकअर्कासँग गाँसिने, विलय हुने र शक्ति प्राप्त गर्नु राजनीतिको स्वाभाविक प्रक्रिया हो’ भनिरहने विश्व प्रकाशमा आत्मविश्वासको खडेरी त छैन भन्ने प्रश्न पनि बेलाबेलामा उठिरहन्छ। त्यसो हुँदा पनि उनी प्रवक्ताको रूपमा पार्टीभित्र मूल्यमान्यता र अनुशासन स्थापित गर्न प्रयासरत छन्। सांसद् मोहम्मद अफताव आलम पक्राउ परेको विषयमा उनले सामाजिक सञ्जालबाट दिएका अभिव्यक्ति प्रशंसनीय छन्। महरा काण्डमा सत्तापक्षबाट भएका क्रियाकलापको उचित व्यंग्य देखिन्छ। त्यसो त जनाधार नभएका देउवानिकटले ‘बोकाले दाइँ हुने भए गोरु किन चाहिन्थ्यो’ भन्न छाड्दैनन्, तैपनि आशा गर्नेहरूको संख्या बढिरहेको छ। सबैलाई सन्तुलनमा राखिरहन खोज्ने फर्मुला कायम राखिरहँदासम्म धेरै ढिला भइसकेको हुनेछ भन्ने शर्माले बुझ्न आवश्यक छ।

गगन एक्लैले संसद् हल्लाइरहेका हुन्छन्। उपस्थिति सबै सांसदको ध्यानचित्त उनैतर्फ सोझिन्छ। रोस्ट्रममा उभिएपछि सत्तासीनहरूको टाउको दुख्न थाल्छ। भित्रभित्र सोच्छन् रे— अब केटाले कुनकुन गलत निर्णयको पर्दाफास गर्ने हो, दुईतिहाइको सत्तालाई पनि हल्लाउने कस्तो जबर्जस्त जन्मिएछ ? यो उनको संसद्भित्रको परिचय हो।

बाहिरी सभामा सरकारको क्रियाकलापविरुद्ध ‘टु दि प्वाइन्ट’ आलोचना गर्ने हैसियत गगनबाहेक अरूले राख्न सक्दैन पनि। पार्टीका विषयमा भने आगामी महाधिवेशनबाट वासी पुस्तालाई बाइबाइ भन्नुपर्ने बताउँछन् उनी। यत्तिकैमा उनको भने दायित्व पूरा हुँदैन। जनतामा स्थापित हुने नयाँ मुद्दा र सबैले रुचाउने दृष्टिकोण निर्माण अहिलेको खाँचो हो। गगन र विश्वप्रकाशहरू पार्टीलाई नयाँ जीवन दिन नयाँ सोच र दृष्टिकोणसहित अघि सर्छन् भने देउवा, पौडेल वा कोइरालाहरू बाधक बन्नु हुन्न पनि। किनकि आफूहरू भुत्ते साबित भइसकेको उनीहरूले बुझ्न जरुरी छ। दुईतिहाइको सत्ताप्रति जनतामा देखिएको वितृष्णाको घाउमा मलम लगाउने काम अहिलेको सम्झौतावादी पुस्ताले गर्न सक्दैन पनि।

 माओवादी एजेण्डामा हिँडेको आरोप

कांग्रेसमाथि ०६२/६३ सालको आन्दोलनपछि माओवादीका एजेण्डामा हिँडिरहेको आरोप छ। चियापान कार्यक्रममा प्रचण्डले कांग्रेससँग फेरि पनि सहकार्य हुनसक्छ भनेर सत्ताको चास्नी फ्याँकिदिएका छन्। यही आधारमा सत्ताको सपना देख्ने भूल नेतृत्वले गर्‍यो भने कांग्रेस तीन हजारको संख्यामा रहेका सुविधाभोगी महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको क्लब मात्र हुनेछ। किनकि देउवाहरूलाई सत्ता चाहिएको छ, पार्टी होइन। त्यसै माओवादी एजेण्डामा हिँडेको आरोप लागेको होइन।

कांग्रेस सिद्धान्त माओवादीको भोटर बन्न सक्दैनथ्यो, तर बन्यो। सिद्धान्तको राजनीति गर्र्ने दलले प्रतिद्वन्द्वी र आफूलाई प्रधान शत्रु ठान्ने अर्को दललाई जिताऊ भनेर हिँड्ने संस्कारको विकास गर्ने नेतृत्व पुस्ताबाट सिद्धान्तको रक्षासहित पार्टी उँभो लाग्छ भन्ने विश्वासमा गगन र विश्वप्रकाशहरू बसिरहन सुहाउँदैन। पार्टीका खराब प्रवृत्तिप्रतिको आलोचनाले मात्र दलीय व्यवस्थाको संरक्षण गर्छ न कि फरक विचार राख्ने नेताको। पात्रको खराब प्रवृत्तिको सिकार दलीय व्यवस्था नहोस् भन्नेतर्फ युवा नेताले सचेतता अपनाउनैपर्छ। कांग्रेस आफ्नै एजेण्डामा हिँड्छ भन्ने विश्वाससहित अग्रमोर्चामा उभिनुपर्छ।

दुईतिहाइ बहुमतको सरकारका क्रियाकलाप, नागरिकमा परेका र भविष्यमा पर्ने प्रभाव, त्यसको असर तथा मिडिया काउन्सिल, मानवअधिकार र गुठी विधेयकका मस्यौदामा उल्लेख बुँदाले उब्जाएका प्रश्नको उत्तरसहित दलीय व्यवस्थाको पक्षपोषणसहित जनसमक्ष प्रस्तुत हुने हैसियत गगन र विश्वप्रकाशहरूले राख्न सक्छन् भन्ने आम अपेक्षा छ। नत्र हाम्रो राजनीति कुशासन, दण्डहीनता र भ्रष्टाचारको यही शृंखलाबाट यसरी नै अघि बढिरह्यो भने मुलुक हामी कसैले पनि सम्हाल्न नसक्ने द्वन्द्वमा जाकिनेछ, त्यतिबेला ‘आउने बाढीले लोकतन्त्र मात्र होइन यो युगको राजनीतिक पुस्तालाई पनि सँगै लिएर जानेछ।


कांग्रेस–कार्यकर्ताका सात ‘खराबी’

प्रिय साथीहरू,

तपाईं साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदैछु। मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ। आज हाम्रो प्यारो देश जसरी नै नेपाली कांग्रेस पनि एउटा ठूलो संकटबाट गुज्रँदै छ। यसको पूर्ण निराकरण गर्नमा हामी हाल त्यति समर्थ नभए पनि यसका ठीक–ठीक कारणहरूको ठेगान लगाउनु आवश्यक छ। तसर्थ, हाम्रो पार्टीभित्रका रोगहरू ठेगान लाग्नु आज आवश्यक हुन गएको छ। पार्टीहरू देशको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाका प्रतिबिम्ब मात्र हुन्छन्। हाम्रो पार्टी पनि त्यस्तै नै हो। नेपाली कांग्रेस नेपाली जनताको वास्तविक प्रतिनिधि हो भने यो निरोगी र स्वस्थ रहेमा हाम्रो देशको एक–एक रोग र व्याधि आफैं क्रमशः हट्दै जानेछन्। र, यो देश कालान्तरमा विश्वका अरू देशसरह व्यवस्थित र उन्नतशील भएर जानेछ।

तपाईँ साथीहरूले प्रारम्भदेखि नै मप्रति ठूलो विश्वास र प्रेम देखाउनु भएको छ। मैले पनि आफूलाई यसको उपयुक्त बनाउने सकेसम्म प्रयत्न बराबर गरेको छु। तर, मलाई आफ्नो काममा नै न सन्तोष छ, न त तपाईं साथीहरूको कामबाट नै सन्तोष छ। यसो नभएको भए यस्तो किसिमको पत्र लेख्न आवश्यक नै पर्ने थिएन। त्यस हुनाले तपाईंहरूको सोही मैत्री र सद्भावका कारणका आधारमा म यो स्पष्ट कुरा लेख्दैछु। र, मलाई आशा छ, यसमाथि तपाईंहरूले अवश्य पनि गम्भीर विचारका साथ मनन गर्नु हुनेछ।

नेपाली कांग्रेसमाथिको ऐतिहासिक उत्तरदायित्वको कुरा म पार्टीका साथीहरूले जहाँसुकै गरेको सुन्दछु। यो ऐतिहासिक उत्तरदायित्व के हो ? हामीले के गर्नुछ ? हामी सबैलाई यसको स्पष्ट वोध नभए जस्तो छ। यसबारे मैले केही विचार गरें। मलाई लाग्दछ, नेपालमा क्रान्तिको सफल नेतृत्व गरेर सफलताका साथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढेर त्यसको अखण्ड ज्वालामा हाम्फालेर पनि अक्षत र सफल भएर निस्केका नेपाली कांग्र्रेसका क्रान्तिकारी साथीहरू अझै त्यही बितेका सपनाका कथाहरूमा अल्झेर बसिरहेका छन्।

अतीत सबैका लागि सुखद र प्यारो हुन्छ। झन् बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन गएका त्यस व्यक्ति वा संस्थाको के कुरा। तर, यसैले हामीमा आफ्नो साध्य र साधनप्रति नै भ्रम पारेको जस्तो छ। क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधन मात्र थियो र साध्य त प्रजातन्त्र थियो। साधनको उपलब्धिको उमंगमा हामीले यस महत्वपूर्ण कुरालाई बिस्र्यौं र अझै त्यही गल्ती गर्दैछौं। यसैले गर्दा हाम्रो देश प्रजातन्त्रको मार्गमा चाहिने जति अगाडि बढ्न सकेन। वास्तविक भन्ने हो भने, क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गए। यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदै गयो। यस कुरालाई आज हामीले राम्ररी बुझ्नु परेको छ।

समयका साथ आज हाम्रो पार्टीभित्र अनेक खराबी आएका छन्। तिनीहरूमध्ये केही प्रमुख खराबीहरूबारे म यहाँ तपाई्ंहरूलाई आफ्नो मनमा लागेको कुरा भन्न चाहन्छु—

१. सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा आवश्यकताभन्दा बढी एक किसिमको आत्मविश्वासको सिर्जना गर्‍यो। अनवरत कार्यद्वारा यसको पुस्ट्याईं भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान हुने थिएन। तर अनेक कारणले त्यसो हुन सकेन। फलस्वरूप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन गएको छ। यसलाई हामीले हटाउनु परेको छ।

२. हाम्रो दोस्रो अवगुण के हो भने हामी प्रत्येक प्रश्नमाथि आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौं। हामी आफ्ना चाहना र बानी अनुसार राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौं। तसर्थ, हाम्रा धेरैजसो निर्णयहरू आफ्ना व्यक्तिगत चाहना वा रुचि वा अरुचिका छाया मात्र हुन जान्छन्। यसलाई हामीले हटाउनु परेको छ।

३. हाम्रो तेस्रो खराबी के हो भने हामीमा आफ्नो जिम्मेवारीप्रतिको उत्तरदायित्ववोध कम छ। यद्यपि, जिम्मेवारी उठाउने बारेको हाम्रो चाख भने कम छैन।

४. यी कारणहरूले गर्दा हामी जनतामा बढ्ता भिज्दैनौं। र, जनता र हाम्रावीचको सीमा दिन प्रतिदिन बढ्दै गएको छ। यो हाम्रो चौथो दुर्गुण हो।

५. हाम्रा साथीहरूको पाँचौं खराबी के छ भने हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्छौं। जनता र पार्टीकै कार्यकर्ताहरूबीचको यस किसिमको अन्तर पनि आज देखिन थालेको छ।

६. हाम्रो छैठौं खराबी भनेको साथीहरूमा अध्ययनको ठूलो कमी हुनु हो। हामीले इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पनि पहिल्याउनु पर्दछ। हामी त्यसो गर्दैनौं। उदाहरणका लागि पार्टीको घोषणापत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु। यसलाई पनि हामीले हटाउनु परेको छ।

७. अब म तपाईंहरूलाई मैले देखेको पार्टीको सातौं र अन्तिम खराबी लेख्छु। साथीहरूमा उत्कर्ष र संकट, दुवै कालमा नैतिकताको अभाव भयो भने त्यसको ह्रास निश्चित छ। राजनीति र नैतिकता दुई भिन्न तत्व हुन् र सफल राजनीतिका लागि नैतिकताको आ श्रय लिनु आवश्यक छैन भन्ने एकथरि विचार तपाईंहरूले पनि अवश्य नै सुन्नुभएको होला। यस विचारबाट अलि बढ्ता प्रभावित भएका कसै–कसैको भनाइ त के पनि छ भने सफल राजनीतिका लागि नैतिकता वाधक मात्र हुन्छ। एउटा अर्काे थरिको भनाइ के छ भने नैतिकता विनाको राजनीति सर्वथा पापाचार मात्र हो। एउटा विचारमा नैतिकताको अभावलाई नै राजनीतिक सफलताको पुँजी भनिएको छ। त्यहाँ यसमाथि आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ।

राजनीति भनेको मोक्षको मार्ग होइन। पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो। मेरो भनाइको तात्पर्य के हो भने माथिका नैतिकताका बारेका दुबै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन्। राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ। म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग प्रारम्भ गर्नुपर्छ। र, कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलने छैन ?

साधारण जीवनमा नैतिकताको स्थान भएजस्तै राजनीति पनि जीवनकै एउटा भाग भएको हुनाले नैतिकताविनाको राजनीति निरर्थक र अलिनो हुन्छ। र, त्यस हुनाले अग्राह्य हुन्छ। हामीले साथीहरूबीच नै असत्यको प्रचार गर्‍यौं, गैर–इमान्दार भएर काम गर्‍यौं र आपसमा अविश्वास गर्‍यौं भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्क जीवनको संवल नै के रहन्छ र ? नैतिकताका बारे ठूलो भाषण दिने मेरो इच्छा छैन। मनुष्य आफैं एउटा अत्यन्त कमजोर र निरीह प्राणी हो। तर कस्तै संकटका अवसरमा पनि हामीले यी मानवोचित गुणहरूलाई भुलेनौं भने घोर अन्धकार र निरासाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय बनाइराख्ने छ।

माथि नै मैले तपाईंहरूलाई भनेको छु, ममाथिको तपाईंको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले तपाईंहरूलाई यस्तो किसिमको व्यक्तिगत पत्र लेख्ने धृष्टता गरेको हुँ। यस पत्रको आशय सारा कमजोरीहरूका कारण तपाईंहरू नै हुनुहुन्छ भन्ने होइन। साँच्चै भनौं भने यी कमजोरीहरूको सबैभन्दा बढी उत्तरदायित्व ममाथि छ। हाम्रो केन्द्रीय कार्यालय कमजोर भएको छ। कुन समयमा कुन काम हुन्छन् भन्ने कसैलाई थाहा छैन। यसको जिम्मेवारी पनि धेरैजसो ममाथि नै जान्छ। यसलाई हामी सबै मिलेर हटाउनु छ। स्थिति अझै नसुल्झिने लायक भएको छैन। हामीले अनेक पटक जीवन मरणका सवालमा काँधमा काँध मिलाएर देशका दुश्मनहरूसँग जीवन मरणको युद्ध गर्‍यौं। भविष्य अत्यन्त अनिश्चित भए पनि त्यस समयको हाम्रो कर्तव्यपरायणता र मैत्री, एकता र उदारताको आज अभाव हुन गएको छ। यसलाई हामीले आज पुनः प्राप्त गर्नु परेको छ। त्यो अझै बढी त्याग र बलिदानले मात्र प्राप्त हुन सक्छ। अनि मात्र देशमा प्रजातन्त्रको विकास हुनेछ र समाजवादको मार्ग प्रशस्त हुनेछ। अनि मात्र हाम्रो ऐतिहासिक उत्तरदायित्व पूरा हुनेछ।

— तपाईंको स्नेही विश्वेश्वरप्रसाद कोइराला

(बीपी कोइरालाबाट कांग्रेस कार्यकर्ताका नाममा प्रेषित यो कालजयी पत्र आज पनि उत्तिकै सान्दर्भिक छ। नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ को अंक २०१५ बाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.