बालबालिकाको उपलब्धिलाई कसरी लिने

बालबालिकाको उपलब्धिलाई कसरी लिने

प्रेमनारायण भुसाल । शारीरिक तथा मानसिक रूपमा परिपक्व नभएको तर विकासको अथाह सम्भावना भएको अवस्था बाल्यकाल हो। सिकाइका आधारभूत गुणहरू हरेक प्राणीलाई प्रकृतिले नै दिएको हुन्छ। तिनै आधारभूत एवम् अमूर्त गुणका आधारमा समाजबाट अनुकरण र अभ्यासका रूपमा बालबालिकाले जीवनोपयोगी कुराहरू सिक्छन्।

एकाथरी मनोवैज्ञानिकहरू प्रकृतिले जति क्षमता दिएको छ त्यतिमात्र मानवले सिक्न सक्छ, त्यसमा वातावरणको खासै भूमिका रहँदैन भन्ने धारण राख्छन्। अर्काथरी मनोवैज्ञानिकहरू बालबालिकाले जन्मजात केही पनि सिकेका हुँदैनन्, उनीहरू कस्तो समाजमा हुर्के भन्ने कुरामा सिकाइ र स्वभाव निर्धारण हुने तर्क राख्छन्। जे होस् सिकाइ जीवनपर्यन्त चलिरहने प्रक्रिया हो। व्यक्तिले जीवनोपयोगी तथा जीविकोपयोगी सबै किसिमका सिकाइको आरम्भ बाल्यकालबाट नै गरेको हुन्छ, जसमा उसका जन्मजात गुणका साथसाथै परिवार, समाज र उसको परिवेशको प्रत्यक्ष प्रभाव परेको हुन्छ।

हाम्रो समाजमा बालबालिकाको सिकाइको मापन गर्न सामान्यतया औपचारिक पद्धति अँगालिने गर्छ। विद्यालयको रिजल्टअनुसार बालबालिकालाई उत्कृष्ट, सामान्य र निम्नस्तरको भन्ने गरेको पाइन्छ। हालको विद्यालयीय शिक्षा गुणात्मक भन्दा बढी सूचना संकलन गर्ने तथा निर्धारित समयमा सूचना प्रस्तुत गर्ने कुरासँग सम्बन्धित रहेको छ। वास्तवमा शिक्षा व्यवहार परिवर्तन गर्ने किसिमको हुनुपर्छ। शिक्षित व्यक्तिको विचार राम्रो हुने भएकाले उसले राम्रो व्यवहार गर्छ भन्ने ठानिन्छ। यस आधारमा मानवीय मूल्यमान्यता, सामाजिक चेतना र संस्कारको अन्विति शिक्षा हुनुपथ्र्यो। तर आजकल यी कुराहरू ओझेलमा पर्दै गएका छन्।

विद्यालय शिक्षाको परिणामको विश्लेषण पनि फरक किसिमले हुने गरेको छ। जसका कारण बालबालिकाको खुसीको मात्रामा समेत तात्विक अन्तर पारेको देखिन्छ। एकथरी अभिभावक आफ्नो बच्चा पहिलो वा दोस्रो मात्र भएको देख्न चाहन्छन्। कक्षामा सामान्यतया २० देखि ४० जना विद्यार्थी भएको ठाउँमा सबै व्यक्ति समान हुँदैनन्, सबैको सिकाइको स्तर र पारिवारिक एवम् अन्य परिस्थिति समान हुँदैन भन्ने कुरामा आँखा चिम्लेर उनीहरू आफ्नै बच्चा प्रथम हुनुपर्ने आग्रह राख्छन्।

कक्षाका सबै विद्यार्थी एकैपटक प्रथम हुन सक्दैनन् भन्ने कुरा बुझ्दाबुझ्दै पनि कुनै बेलाको राम्रो नतिजा र आफूले घरमा दिएको वातावरणका आधारमा उनीहरू आफ्नो बच्चालाई मात्र प्रथम स्थानमा विराजित गराउन चाहन्छन्। प्रथम हुने विषय कुनै एकजना विद्यार्थी र उसको परि श्रममा मात्र भर पर्ने कुरा होइन भन्ने कुरा उनीहरूलाई बुझाउन निकै गाह्रो पर्छ। बच्चाको विगतको सिकाइको स्तर र वर्तमानको स्तरबीच कस्तो अन्तर छ, यसमा उनीहरूको कुनै सरोकार रहँदैन। आफ्नो बच्चाको सिकाइको स्तर राम्रो हुँदा हुँदै पनि अन्य बच्चाले परीक्षामा राम्रो गरे भने ऊ प्रथम हुन सक्दैन। यसको अर्थ उसको पढाइलेखाइ खस्किसक्यो भन्ने होइन।

आमाबाबुले विकास गरिदिएको मानसिकताका कारण पहिले भन्दा निकै राम्रो प्रगति गर्दा पनि बच्चा खुसी हुन सक्दैन। उसको चिन्ता प्रथम हुन नसकेकामा हुन्छ। त्यसैले हरेक क्षण उसमा एक किसिमको एन्जाइटी रहिरहन्छ। गलत सोचकै कारण ऊ ईष्यालु, असामाजिक, असहिष्णु र परीक्षाका समयमा प्यानिक बन्दछ। एउटा सत्य के हो भने उसभन्दा कमजोर बालबालिकाका समूहमा राखिदिने हो भने त उसको सिकाइको स्तर जतिसुकै घट्दै गए पनि ऊ सधैँ प्रथम हुन्छ।

बालमनोविज्ञान बुझेका र औपचारिक पढाइको सामयिक नतिजा नै सम्पूर्ण कुरा होइन। बच्चाको सन्तुलित रूपमा सर्वाङ्गीण विकास हुनुपर्दछ भन्ने धारणा राख्ने अभिभावकले अन्य बच्चाका तुलनामा आफ्ना बच्चाको स्तर नखोजेर उसको विगतको नतिजा र वर्तमानको नतिजाको तुलना गर्छन्। विगतमा भन्दा केही न केही राम्रो गरेमा हौसला दिने तथा विगतको भन्दा कमसल स्तर भएमा पृष्ठपोषण गर्दै कमजोरीका कारण बारे छलफल गरी सिर्जनात्मक परामर्श गर्ने कार्य यस प्रकारका अभिभावकले गर्छन्। जसका कारण बालबालिकाको आत्मबल बढेर जान्छ अनि ऊ सधंै खुसी रहन सिक्छ। सहयोगीपन, मानवीय मूल्यमान्यता, सहिष्णुताजस्ता कुरा सिक्न उसलाई गाह्रो पर्दैन। यस्ता बालबालिका आफूलाई असक्षम, कमजोर र निरीह नठान्ने भएकाले परीक्षाको समयमा प्यानिक हुँदैनन्। आफ्ना कुरा अभिव्यक्त गर्न नडराउने, हरेक कुरामा रुचि राख्ने स्वभावको विकास हुँदै जान्छ।

आमाबुबाको अपेक्षाबाट बालबालिकाको स्तरको मूल्यांकन हुन्छ। उनीहरूले परिवार तथा विद्यालयबाट पाएको हौसला वा उपेक्षाबाट बालबालिकाको मनोविज्ञान एवम् व्यक्तित्वको निर्माण हुन्छ। यही कारणले घर तथा विद्यालयमा बालबालिकालाई स्वस्थ वातावरण दिनुपर्छ। उनीहरूलाई अरूसँग तुलना नगरेर आफ्नै विगत र वर्तमानका उपलब्धिको तुलना गरेर अघि बढ्न प्रेरित गर्नुपर्छ। यसो गर्दा बच्चा अस्वाभाविक रूपमा ईष्र्यालु, असन्तोषी र मनोरोगी बन्ने सम्भावना रहँदैन। त्यसैले आम शिक्षक तथा अभिभावकले बच्चाको प्रथम, द्वितीय वा तृतीय कुन श्रेणी वा र्‍याङ्क छ भनेर हेर्ने होइन। पहिलेको उसकै स्तर र अहिलेको स्तरमा केकस्तो अन्तर छ भन्ने पहिचान गरी आवश्यक रचनात्मक पृष्ठपोषण गर्न तयार हुनुपर्छ।

अनावश्यक रूपमा कक्षामा प्रथम वा दोस्रो हुनुपर्छ भनेर बच्चालाई दबाब दिँदा उसको कलिलो बाल्यकाल तनावमा बित्छ। बाल्यकालीन तनावले गर्दा उसको मस्तिष्कीय रसायनमा आउने गडबडीका कारण जीवनभर फोबियाग्रस्त, बेखुसी, आफूलाई सम्मान गर्न नसक्ने र असहिष्णु बन्छ। आफ्ना बालबालिका बिग्रिऊन् भन्ने चाहना कुनै पनि अभिभावकको हुँदैन। तर उसको उपलब्धिको विश्लेषण गर्ने तरिका नमिलेमा बच्चा सहजै बिग्रन्छ। यस विषयमा सबै चनाखो हुनुपर्ने देखिन्छ।

(भुसाल मनोवैज्ञानिक परामर्शदाता हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.