राजसंस्थाप्रति किन मरिहत्ते ?

राजसंस्थाप्रति किन मरिहत्ते ?

नेपालमा राजसंस्थाको महत्त्व धेरै कोणबाट बुझ्न सकिन्छ। पहिलो महत्त्व ऐतिहासिक हो। नेपालको इतिहास करिब २६ सय वर्षअगाडि देखि सुरु भएको मानिन्छ। त्योभन्दा पनि करिब १५० वर्षअगाडि नै नेपालमा राजसंस्थाको उत्पत्ति भएको विश्वास इतिहासशिरोमणि बाबुराम आचार्यले गरेका छन्। उनले भनेका छन्, ‘वर्तमान काठमाडौं उपत्यकामा एक प्रकारले एउटा राजसंस्थाको आधारशिला स्थापित भइसकेको झलक प्राप्त हुन आएको छ।’ यसै सिलसिलामा उनी भन्छन्, ‘यहाँ (उपत्यका) का किराँतहरूले आफ्नो जाति वा वर्गका यस क्षेत्रमा आबाद रहेका सबै गाउँलाई एउटै प्रशासनिक निकायका रूपमा संगठित गराएको र नेपालमा सार्वभौमिक सत्तासम्पन्न एउटा छुट्टै स्वतन्त्र राज्यको जग बसाइदिएको पनि झलक पाइन्छ।’ यस क्षेत्रमा स्थापित भएको आदिम किराँत राज्य भएकाले यथार्थमा यहाँ यसै समयदेखि राजनीतिक रूपमा ‘किराँतकाल’ आरम्भ भएको देखिन आएको उनको मत छ।

नेपालमा राजसंस्थाको व्युत्पत्तिबारे अरू स्पष्ट गर्दै उनले भनेका छन्, ‘निश्चित अवधिको निमित्त निर्वाचित हुने नेता वा राजाहरू नै जीवनभरको निमित्त निर्वाचित हुने परम्परा यतिञ्जेल सुरु भइसकेको थियो, राजाहरूको वंश परम्परा मात्र चल्न सकिरहेको थिएन। यसै स्थितिमा यहाँका अन्तिम निर्वाचित किराँत राजाले आफ्ना छोरालाई नै उत्तराधिकारीका रूपमा नियुक्त गरी यहाँ राजतन्त्रात्मक किराँत राज्यको जग बसालिदिएको अनुमान हुन्छ। यस किसिमको शासन पद्धति यहाँ यसपछि किराँतकालभर लगभग आठ सय वर्षसम्म लगातार चलि नै रहेको देखिन्छ।’ २०६३ सालमा नेपालको राजसंस्था उन्मूलन हुनुअगाडि काशीनाथ तमोटका अनुसार १७६ राजाहरू भएका थिए। त्यसमध्ये पृथ्वीनारायण शाहले अहिलेको नेपालको जग बसालेका थिए। यति लामो इतिहास बोकेको राजसंस्थालाई असंवैधानिक र अप्रजातान्त्रिक रूपमा हटाउनु के मूर्खता होइन ?     

दार्शनिक एरिस्टोटलअनुसार राज्य सञ्चालनमा सुरुमा राजसंस्था आउने, त्यो अधिनायकवादमा परिवर्तन हुने, त्यसपछि मुठीभर मानिसहरूका हातमा सत्ता जाने, त्यसमा पनि फाटो आई प्रजातन्त्रमा परिणत हुने, त्यसपछि कालान्तरमा अराजकता आउने गर्छ। त्यस्तो बखतमा पुनः राजसंस्था प्रतिष्ठापन हुन जान्छ। यो सिद्धान्तअनुसार नेपालमा राजतन्त्रले राणाकाल निम्त्याएको, राणाकालले प्रजातन्त्र निम्त्याएको र यसले अराजकता आएको देखिन्छ। ऐतिहासिक रूपमा यो सिद्धान्त थुप्रै देशहरूमा लागू भएको उनको भनाइ छ। यसै पृष्ठभूमिमा नेपालमा चलिरहेको अराजक परिस्थितिले राजसंस्थाको पुनः उत्थान हुने संकेत दिएको छ।

राजनीतिक दृष्टिबाट हेर्दा आजको युगमा सबै प्रकारका वाद र सिद्धान्त असफल भएका छन्। कुनै पनि देश यस्तो पाइन्न, जहाँ पुँजीवाद, समाजवाद, प्रजातन्त्रवाद या भनुँ निरंकुशतावाद मात्र चलेको होस्। हिजोआज सबै वादका असल गुणहरू लिएर राज्य सञ्चालन भइरहेको छ। त्यस्तो सम्मि िश्रत व्यवस्थाको बोलवाला छ। तर नेपालमा जनताको जनवाद स्थापना गर्ने अठोट देखिएको छ। अर्कोतिर लोकतन्त्रको आधार पनि तयार गरिएको छ। यी दुई एकअर्काका विरोधी हुन्। यिनीहरू आपसमा टकराएर नाश हुने दिशातिर गइरहेका छन्। त्यसकारण यिनीहरूले नै राजसंस्थालाई निम्त्याइरहेको देखिन्छ। राजतन्त्रले सबै वादहरूको असल गुणहरू अपनाउने र खराब पक्षलाई परित्याग गर्न सक्छ। त्यस दृष्टिबाट पनि राजसंस्थाको महत्त्व बढिरहेको हो।

सामाजिक दृष्टिबाट पनि राजसंस्थाको महत्त्व बुझ्न सकिन्छ। नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक समाज मानिन्छ। यहाँ ६० वटा जातजाति भएको आधिकारिक स्रोतले मानेको छ। त्यसैगरी सयभन्दा बढी भाषा बोलिने पनि गरिन्छ। उनीहरूका बीचमा विद्यमान सहिष्णुता र सामञ्जस्य नेपाली समाजको एउटा ठूलो बल मानिएको छ। त्यसैले विदेशीहरूले नेपालमा जातीय दंगा गराउन अर्बौं रुपैयाँ खर्च गरे पनि निस्फल भएको छ। यो बहुलतालाई राजसंस्थाले राम्ररी मनन गरेको प्रमाणहरू नै छन्। पञ्चायतकालमा विभिन्न जातजातिका अगुवाहरूलाई राजाले बोलाइबोलाई राज्यको ठूलाठूला जिम्मेवारी दिएका थिए। नेपालमा सबै प्रकारको प्रयोग भइसकेपछि नेपालीहरू राजसंस्थालाई एक सामाजिक एकताका प्रतीकको रूपमा मान्न तयार भएका छन्।

आर्थिक दृष्टिले राजतन्त्र कायम राख्न करोडौं रुपैयाँ लाग्यो भनेर त्यसको अन्त्य गरियो। तर संवैधानिक नयाँ व्यवस्था आउनेबित्तिकै खासगरी संघीयताको कारणले सात सयभन्दा बढी राज्यका अधिकारीहरूको तलब, भत्ता, घरबहाल, यातायातमा अर्बौं रुपैयाँ खर्च भयो। सो पैसा जनतामाथि नयाँनयाँ कर लगाएर उठाइयो। त्यो पनि नपुगेर अर्बौं रुपैयाँ विदेशी ऋण लिन थालियो। यसबाट आजित जनताले धेरै राजाहरू पाल्नुभन्दा एउटा राजा पाल्नु धेरै किफायत हुने रहेछ भनेर महसुस गरे र गुनासो पोख्न थाले। यो दृष्टिबाट पनि राजतन्त्रको चाहना नेपालमा बढ्न थालेको हो।

राजतन्त्रको अर्को महत्त्व धार्मिक रहेको छ। ऐतिहासिक र परम्परागत रूपमा नेपाली समाज धर्ममा विश्वास गर्ने गरेको छ। धार्मिक पर्वमा हजारौं र लाखौं संख्यामा जुट्ने गरेका छन्। त्यस्तो भीड राजनीतिक उद्देश्यका लागि जुटाउनु पर्‍यो भने लाखौं–करोडौं रुपैयाँ खर्च गर्नुपर्छ। तर धार्मिक पर्वका लागि एक पैसा पनि खर्च हुँदैन। नेपालले एक हिन्दु राज्यको पहिचान बनाइसकेको थियो। त्यसअन्तर्गत कुनै धार्मिक पक्षपात भएको थिएन। एक प्रकारले धार्मिक सामञ्जस्य र सहअस्तित्व कायमै रहेको थियो। नेपालको विकासमा हिन्दु, बौद्ध र किराँत धर्मले ठूलो भूमिका खेलेको पाइन्छ। इस्लाम र इसाई धर्मले पनि स्वतन्त्रता पाएका थिए। धर्म निरपेक्षताले सबै धार्मिक समुदायमा असुरक्षा र अशान्ति पैदा गरिदिएको छ। यी समुदायमा शान्ति र सुरक्षाको भावना पुनर्उत्थान गर्न पनि राजतन्त्रको सम्झना भएको हो। पहिलेको व्यवस्थाअनुसार हिन्दु राज्य भन्नाले नेपालको राजगद्दीमा बस्ने राजा हिन्दु हुनुपर्छ भन्ने मात्र बुझिन्थ्यो। वर्तमान स्थितिमा साउदी अरेबिया र मलेसियाले आआफ्नो देशलाई इस्लामिक राज्य मानेजस्तो नेपालले हिन्दु राज्य घोषणा गर्नुपर्छ। त्यसबाट नेपालीलाई धेरै लाभ हुन सक्छ।

नेपालको सांस्कृतिक गतिविधिमा राजतन्त्र भिजिसकेको छ। कुमारीको जात्रालाई पृथ्वीनारायण शाहले सहर्ष स्वीकार गरी आफ्नो शासन सुरु गरेकाले उनी पनि स्थानीय जनताबाट स्वीकार्य भएका थिए। त्यो परम्परा आजसम्म पनि कायमै छ। नेपालको सांस्कृतिक संरक्षकका रूपमा कतिपय चाडपर्वमा उनको संलग्नता अनिवार्य मानिन्छ। नेपालको सांस्कृतिक वैभवले नेपालीलाई मात्र होइन, विश्वलाई पनि ठूलो सन्देश पुर्‍याउँछ। शान्ति, सामञ्जस्य र विविधतामा एकताको उाहरण र सन्देश नेपालले दिन सक्छ।

राष्ट्रियताको जगेर्ना गर्न राजसंस्थाको महत्त्व अरू बढेको छ। हुन त अंशुवर्मा, भीमसेन थापाको समयमा पनि नेपालको अस्तित्व रहन्न कि भन्ने डर थियो। तर आजको दिनमा यो जति सम्भव देखिएको छ र मानिसहरूले महसुस गरेका छन्, त्यति गम्भीर रूपले कहिले पनि यस्तो सम्भावना खडा भएको थिएन। राष्ट्रिय अस्तित्व र संरक्षणका लागि नै राजसंस्थाको ठूलो खाँचो भएको प्रायः सुनिएको छ। यसको मुख्य कारण ठूलो परिवर्तनपछि आएको गणतन्त्र र यसका चालकहरूले अन्तर्राष्ट्रिय विश्वास जित्न नसकेको गुनासो छ।

नेपालको राजसंस्थाको देन राजनीतिक मात्र होइन, मानिसको सुखी र सफल जीवनका लागि पनि भएको छ। यसको उदाहरण ललितपुरका राजा सिद्धिनरसिंह मल्ल छन्। उनले मानिसको स्वास्थ्य, मानसिक शान्ति र आध्यात्मिकताको सन्देश र तरिका दिएका छन्। उनले आफ्नै जीवनकालमा ती तौरतरिकाहरू अपनाउने गर्दथे। त्यसबारे धेरै चर्चा भएको पाइन्न। यसको उजागर भएको दिन राजसंस्थाको महत्त्व झन् धेरै बुझिनेछ। हाइलाइट

राजनीतिक दृष्टिबाट हेर्दा आजको युगमा सबै प्रकारका वाद र सिद्धान्त असफल भएका छन्। कुनै पनि देश यस्तो पाइन्न, जहाँ पुँजीवाद, समाजवाद, प्रजातन्त्रवाद या भनुँ निरंकुशतावाद मात्र चलेको होस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.