सुपरमार्केटबाट सेलरोटी सप्लाई

सुपरमार्केटबाट  सेलरोटी सप्लाई

काठमाडौँ, मैतीदेवी–३२ की दिवेश्वरी श्रेष्ठ बैंकमा काम गर्छिन्। कामको व्यस्तताले उनी तिहारमा सेलरोटी पकाउन भ्याउँदिनन्। तिहार सुरु हुनेबित्तिकै सुपरमार्केट जान्छिन् र सेलरोटी किन्छिन्। ‘तिहारमा पूजा गर्दा सेलरोटी, मिठाई चढाउनुपर्छ,’ उनी भन्छिन्, ‘पाहुनालाई पनि सेलरोटी खुवाउनुपर्छ। घरमा सहयोग गर्ने कोही छैन। त्यसैले घरमा सेलरोटी पकाउन झन्झट लाग्छ। म त सुपरमार्केटबाटै किन्छु।’ यसपालि पनि नजिकैको बेकरी वा सधँै किनिरहने सुपरमार्केटबाट सेलरोटी किन्ने योजना बनाएकी छिन्। सुपरमार्केटमा पाइने सेलरोटी खासै स्वास्थ्यकर लाग्दैन उनलाई। ‘स्टोरबाट ल्याइने खानेकुरा घरमै पकाएजस्तो त कहाँ हुन्छ र ?’ उनी भन्छिन्, ‘घरमा पकाउन सकिँदैन। त्यसैले सुपरमार्केटको सेलरोटीबाट काम चलाइन्छ।’

दशैँ-तिहारलगायत चाडपर्वमा मिठाई, फलफूल, सेलरोटी, अनर्सालगायत परिकार सुपरमार्केट, डिपार्टमेन्टल स्टोरतिर सजिलै किन्न पाइन्छ। काठमाडौँ, घट्टेकुलोस्थित ‘कायासप डिपार्टमेन्टल स्टोर’मा लक्ष्मीपूजाको दिनदेखि सेलरोटी किन्नेको भीड लाग्छ। तिहारमा सेलरोटीको माग अत्यधिक हुने कायासपका सञ्चालक जनार्दन भट्टराई बताउँछन्। उनी भक्तपुरबाट सेलरोटी किनेर ल्याउँछन्। तिहारताका हरेक दिन सेलरोटीका २० देखि ३० बन्डल बिक्री गर्ने उनी बताउँछन्। भन्छन्, ‘एक बन्डलमा १२ वटा सेलरोटी हुन्छन्,’ उनी भन्छन्, ‘अरू बेला खासै अर्डर आउँदैन। लक्ष्मीपूजाको दिनदेखि धेरै नै अर्डर आउँछ।’ जनार्दनले सेलरोटी मात्र नभएर तिहारमा अनर्सा पनि बिक्री गर्छन्। ‘सेलरोटीभन्दा अनर्सा महँगो हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले खासै बिक्री हुँदैन।’ ग्राहकले आफ्नो लागि मात्र नभएर आफन्तलाई कोसेलीका रूपमा पनि सेलरोटी लगिदिने गरेको उनी बताउँछन्। 

धान्न नसकिने माग 

काठमाडौँ, कलंकीस्थित भाटभटेनी सुपरमार्केटमा ग्राहकको चहलपहल बाक्लिन थालेको छ। सुपरमार्केटको फुड डिमार्टमेन्टमा सेलरोटी र अनर्साको चाङ पनि निकै ठूलो छ। तिहारका लागि चाहिने सामान किन्न त्यहाँ पुगेकी थिइन्, काठमाडौँ, कालिमाटीकी विमला थापा। ‘तिहारमा चाहिने सबै सामानदेखि सेलरोटीसमेत यहीँबाट किन्ने गर्छु,’ उनी भन्छिन्, ‘सेलरोटी र अनर्साका चारपाँच बन्डलका लागि अर्डर दिइसकेँ।’ 

पछिल्लो समय सुपरमार्केटबाट हुने सेलरोटी सप्लाईले आफ्नो काम सजिलो बनाएको उनी बताउँछिन्। ‘तिहारमा अरू नै धेरै काम हुन्छ,’ उनी भन्छिन्, ‘विभिन्न परिकार बनाउने फुर्सद नै हुँदैन। फेरि, सेलरोटी धेरै चाहिन्छ। यस्तो बेला चाहिनेजति अर्डर दिन्छु। सुपरमार्केटबाटै सेलरोटी किन्छु।’ 

तिहारताका कलंकीको भाटभटेनीबाट मात्र दिनहुँ ३० देखि ४० बन्डल सेलरोटी र १० देखि १५ बन्डल अनर्सा बिक्री हुने गर्छ। एक बन्डलमा १२ पिस सेलरोटी हुन्छन्। जसको मूल्य सय रुपैयाँ पर्छ। अरू बेलाभन्दा चाडपर्वमा दोब्बर मात्रामा सेलरोटी बिक्री हुने बताउँछिन्, भाटभटेनी सुपरमार्केटमा कार्यरत सुभद्रा खतिवडा। ‘लक्ष्मीपूजाको दिनदेखि झन् धेरै बिक्री हुन्छ,’ उनी भन्छिन्, ‘सेलरोटीसँगै तिहारमा अनर्सालगायत परिकार पनि बढी बिक्री हुने गर्छन्।’ यस्ता परिकार किन्न टाढा—टाढाबाट पनि ग्राहक आउने उनी बताउँछिन्। ‘कहिलेकाहीँ त ग्राहकको डिमान्ड पूरा गर्न नसक्ने स्थिति आउँछ,’ उनी भन्छिन्,

कालोपुलकी सुस्मिता आचार्य तिहार सुरु भएपछि सेलरोटी र आलुको अचार बनाएर बेच्न थाल्छिन्। आफ्नो घरनजिकैको बेकरीमा गएर सेलरोटी बेच्ने गरेकी छिन्। ‘यो मेरो पार्ट टाइम जबजस्तै हो,’ उनी भन्छिन्, ‘तिहारताका फुर्सद हुँदा सेलरोटी र अचार बनाउँछु। मलाई यस्तो परिकार बनाउन एकदमै मन पर्छ।’ सुस्मिताले बनाएको सेलरोटी र आलुको अचार ग्राहक रुचाउँछन्। ‘आम्दानीभन्दा पनि आफूलाई मन पर्ने भएकाले यो काम गर्छु,’ उनी भन्छिन्।

स्वेदशको सेलरोटी विदेशमा     

ललितपुरका दीपक सापकोटाले पाटनमा क्याफे सञ्चालन गरेका छन्। चियासँगै उनले आफैँ सेलरोटी बनाएर बेच्छन्। उनी चार वर्षदेखि यस व्यवसायमा सक्रिय छन्। ‘धेरै जना यहाँको सेलरोटी चाखेपछि मेरो नियमित ग्राहक बन्छन्,’ उनी सुनाउँछन्। ‘मैले सेलरोटीको मार्केटिङ गर्दै हिँड्नुपरेको छैन,’ उनी भन्छन्, ‘मेरा ग्राहक नै प्रचारक हुन्। उनीहरूले नै अरू ग्राहक ल्याइदिन्छन्।’ 

दीपकका ग्राहक स्वदेशमा मात्र छैनन्, पछिल्लो समय उनले सेलरोटी युरोप, अमेरिकासम्म पनि सप्लाई गर्न थालेका छन्। ‘युरोप, अमेरिकातिर बस्ने नेपालीहरूले विशेष गरी दशैँतिहारमा सेलरोटी अर्डर गर्छन्,’ उनी भन्छन्, ‘यताबाट विदेशमा बस्नेका आफन्तले पनि कार्टुनका कार्टुन पठाइदिन्छन्।’ चाडपर्वमा आफूलाई सेलरोटी पकाउन भ्याइनभ्याइ हुने उनी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.