मादलकी ‘मास्टर’ पवित्रा
दाङ : तुलसीपुर उपमहानगरपालिका–७ नयाँ बस्तीकी पवित्रा बादीलाई यतिबेला मादल बनाउन भ्याई–नभ्याई छ। तिहारको समयमा मादलको माग धेरै हुने भएकाले उनलाई एकछिन फुर्सद छैन।
मादल बनाउने व्यवसायमा सक्रिय बादी सम्भवतः एक्ली महिला हुन्। ४२ वर्षीया पवित्रा १५ वर्षको उमेरदेखि मादल बनाउने पेसामा संलग्न छिन्। उनले मादल बनाउन बुवाबाट सिकेकी हुन्। ‘दिदीले बनाएको मादल राम्रो हुन्छ भन्दै खोज्न आउनेको लाम लाग्छ,’ बादीले भनिन्, ‘महिलाले गरेको कामले सबैको विश्वास जितेको छ।’ तिहारका लागि उनले ७० वटा मादल बेचिसकेकी छन्। यसबाट ७० हजार रुपैयाँ आम्दानी गरेको उनले बताइन्।
उनको कारखानामा एउटा मादलको मूल्य २ हजारदेखि ८ हजारसम्ममा बिक्री हुन्छ। ‘खर्च पनि धेरै हुन्छ’, उनले भनिन्, ‘कच्चा पदार्थ र सामग्री पाउन समस्या छ।’
उनीजस्तै तुलसीपुर उपमहानगरपालिका–७ नयाँ बस्तीका अन्य वादी समुदायले पनि मादल बनाउने पेसा अँगाल्दै आएका छन्। मादल बनाएर वार्षिक दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीयले बताए।